प्रधानमन्त्री कप क्रिकेटः बागमतीमाथि एपीएफ ८९ रनले विजयी

डिसी नेपाल
२९ पुष २०८० १७:०३

काठमाडौं। जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार सुरुवात गरेको छ ।

आइतबार आफ्नो पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।

एपीएफले दिएको २४२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४२.५ ओभरमा अल आउट हुँदै १५२ रन मात्र बनाएको थियो ।

बागमतीको ब्याटिंग लाइनअप ध्वस्त गर्नेक्रममा एपीएफका कप्तान रोहित पौडेलले सर्बाधिक ४ विकेट लिएका थिए भने अविनाश बोहोरा र मौसम ढकालले २-२ विकेट लिएका थिए । त्यस्तै पुरन बिक र भुवन कार्कीले एक एक विकेट लिएका थिए।

बागमतीका लागि कप्तान रित गौतमले सर्बाधिक ६० रन बनाए भने आशुतोष घिरइयाले ४१, रबिन जोशीले २० तथा बिबेक मगरले १५ रन बनाएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २४१ रन बनाएको थियो।

केवल ४१ रनमा ५ विकेट गुमाएको एपीएफलाई सन्दीपले सम्हालेका थिए । सन्दीपले ११७ बलमा ११२ रन बनाएका थिए।त्यस्तै लोकेश बमले २७ रन बनाए भने अमर रौतेलाले २२ रनको योगदान दिएका थिए ।

त्यसै गरी यस सिजनमा आर्मीबाट एपीएफमा आएका राष्ट्रिय टिमका कप्तान रोहित पौडेल भने यस खेलमा केवल २ रनमा आउट भएका थिए। त्यस्तै प्रज्वल शाहीले १०, आसिफ सेखले १५, सुमित महर्जनले ६, भुवन कार्कीले १० तथा अविनाश बोहोराले अविजित १८ रन बनाएका थिए ।

त्यसैगरी बागमतीका बलर सुर्य तामाङले सर्बाधिक ३ विकेट लिए भने प्रतिष जिसी र रिजन ढकालले २(२ विकेट लिए। त्यस्तै सोनु देवकोटाले एक विकेट लिएका थिए।

यस खेलको प्लेयर अफ द म्याच सन्दीप जोरा बनेका थिए। अब एपीएफले अर्को खेल भोलि सोमबार नै कोशी प्रदेशविरुद्ध मुलपानी क्रिकेट मैदानमा खेल्ने तालिका रहेको छ । त्यस्तै बागमतीले भने लगातार दोस्रो हार बेहोरेको छ । अब बागमतीले आफ्नो तेस्रो खेल मंगलबार मधेश प्रदेशविरुद्ध मुलपानीमै खेल्ने तालिका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *