नेपालमा कुलीनतन्त्रको अभ्युदय : ऐतिहासिक अनुशीलन
नेपालमा प्राचीन कालदेखि नै शासकका परिवार, उसका प्रिय पात्र, राजप्रासाद सेवामा कार्यरत व्यक्ति, राज्यबाट विशेष पुरस्कार वा दानबक्सिस पाएकाहरू सम्पन्न बने र कुलीन कहलिन पुगे।
विगतदेखि नै राजदरबार तथा विभिन्न प्रशासनिक एकाइमा काम गर्ने व्यक्ति, राजाका विश्वास पात्र एवम् राजरक्षक जस्ता केही सम्पन्न थिए। व्यापारबाट फलिफाप गर्नेमा पनि शासकबाट आशीर्वाद र शुभेच्छा प्राप्त भएकाहरू नै थिए।
स्थानीय प्रशासनका सहयोगी हुने गाउँका मुखिया तथा स्थानीय प्रशासकहरूको हैसियत बढ्न गई कुलीन हुन पुगे। अतः धनसम्पत्ति हुने नै ठूला ‘टिफिन केरियर’ हुन पुगे । समाजमा धनीमानी हुनेकै इज्जत तथा मानसम्मान हुने हुँदा पनि धनी बन्न भगीरथ प्रयत्न गर्ने जमात शनैः शनैः झागिँदै गयो।
लिच्छविकालमा राजा, राजपरिवारका सदस्य तथा राजप्रासाद सेवामा हुने व्यापारीहरू सम्पन्न थिए। त्यसबेला राजपरिवारकै सदस्य पनि व्यापारमा सरिक थिए। स्थानीय प्रशासक पनि सम्पन्न हुँदै गए। सम्पन्नताको मापदण्ड नै जग्गाजमिन जस्ता अचल सम्पत्ति र मानप्रतिष्ठा तथा हैकम थिए।
त्यसबेला गरिब निमुखाको श्रमपसिनाबाट सीमित व्यक्ति मात्र सम्पन्न भए। उनीहरूका सन्तान पनि सम्पन्न हुँदै गए। विपन्न भने झनै विपन्न हुँदै गए।
राजाको सिन्दुर लगाउने अर्थात् राजाको आशीर्वाद पाउनेहरू नै मध्यकालमा पनि सम्पन्न बने। नेपालमण्डल, खसिया साम्राज्य तथा कर्णाट वंशमा पनि सम्पन्नता शासकको सेरोफेरोमा नै रह्यो।
बाइसी चौबिसी तथा सेन राज्यहरूमा पनि शासककै अगाडि पछाडि हुनेहरू नै कुलीन भए। विपन्न पनि शासनमा पुगेपछि सम्पन्न हुन थाले। यसरी नेपालमा धनी र गरिब वर्ग गरी दुई कित्तामा समाज विभक्त हुन गयो।
तिनै विपन्नहरूको शासकीय प्रभावबाट सम्पन्न हुने चाहनाबाट समाज आक्रान्त बन्दै गयो। धनी बन्ने सुरमा समाजमा अनेकौँ विसङ्गति आए। ब्याज खाने प्रवृत्ति, कमिसनतन्त्र, घुसखोरी जस्ता भ्रष्टाचारका रोगले महामारीको रूप लिन थाल्यो।
सन् १५१९ मा लमजुङबाट खण्डित भई द्रव्य शाहद्वारा गोर्खा राज्यको स्थापना भयो। यो राज्य स्थापना गर्न छथरले सहयोग गरे। गोरखामा यी छथर घरको बोलवाला नै थियो। पृथ्वीनारायण शाहको विजय अभियानपश्चात्् पनि यिनै छथरको शासनयन्त्रमा पकड र प्रभाव परिरह्यो।
यस क्रममा केही नयाँ व्यक्तिहरू पनि शासनमा सरिक हुन थाले। गोर्खाली विजय अभियानको क्रममा जागिरदारलाई खानगी स्वरुप जमिन नै दिने प्रचलन हुँदा प्रशासकहरू जमिनदार हुन पुगे। यसबाट कुलीन वर्गको सिर्जना हुँदै गयो।
पृथ्वीनारायण, प्रतापसिंह, रणबहादुर, गीर्वाण, राजेन्द्र तथा सुरेन्द्रले धेरै सरकारी जग्गाजमिन बिर्ता स्वरूप प्रदान गरे। परिवार तथा सेवक सबैलाई जग्गा नै बक्सिस दिए। जमिन पाउनेहरू बिर्तावाल हुन पुगे। समाजका ठालु भए।
द्रव्य शाहबाट प्रारम्भ भएको थरघरको बाहुल्यलाई कोत पर्वले समाप्त गरिदियो। प्रशासन यन्त्रमा यी छथर घरलगायतका भारदारहरूको हैसियत गुमे तापनि उनीहरूको सम्पन्नता गुमेन। केहीको सर्वस्व पनि भयो तर अचल सम्पत्तिका कारण उनीहरूलाई पनि खासै ठूलो असर परेन।
कोत पर्व, भण्डारखाल पर्व तथा अलौ पर्वमा क्रमशः भारदार तथा राजारानीको शासनमा हैसियत गुमेपछि जंगबहादुर कुँवरको जहानिया शासन प्रारम्भ भई नवकुलीन वर्ग सिर्जना हुन गयो।
हुन त जंगबहादुरका पिता बालनरसिंह कुँवर पनि सम्पन्न भारदार थिए तापनि जंगबहादुर आफ्नै कारणले ऋणमा डुबेका थिए। ऋण लागेकै कारण उनी वीरनरसिंह कुवरबाट जंगबहादुर हुन पुगे।
विसं २०४६ को आन्दोलन नेपालको इतिहासमा घटेको सर्वाधिक महत्त्वपूर्ण घटना हो। प्राचीन कालदेखि नै राजा नै शक्तिको स्रोत हुने राजाले बोलेको कानुन हुने जे गरे पनि बात नलाग्ने साक्षात् विष्णु भगवान्कै रूपमा स्थापित थिए।
राज्यको ढुकुटी हालीमुहाली गर्न पाएका उनले लखनौँ काण्ड र शरणार्थी प्रकरणबाट धेरै बहुमूल्य जहारातसहित असङ्ख्य धन हात पार्न सके। यसको कुनै लेखाजोखा नै छैन।
यही सम्पत्तिबाट उनका छोराहरूले वैभव र सम्पन्नताका अनेक झाँकी देखाउन थाले, विलासी जीवन व्यतीत गर्न थाले। उनीहरूको यस्तो चकचकी देख्दा अरूको त के कुरा स्वयं जंगबहादुरकै भाइ धीरशमशेरका छोराहरू पनि जलेका थिए। उनीहरूले कैले (वीरशमशेर), फिस्टे (चन्द्रशमशेर) भनेर हेपिनुपरेको थियो।
जंगबहादुरको मृत्युपछि भने उनका छोराहरूको चर्तिकला धेरै दिनसम्म टिक्न सकेन। ३८ साल पर्वले जंगबहादुरका छोराहरूको बढ्दो महत्त्वाकांक्षामा रोक लगायो भने ४२ साल पर्वमा रणोद्वीपसहित जंगबहादुरका जेठा छोरानातिले काटिनुपर्यो।
जंगबहादुरले रगतको खोलो बगाएर हत्याएको सत्ता उनका छोराहरूले रगत बगाएरै छाड्नुप¥यो। यस घटनाबाट धीरशमशेरका छोराहरूको हातमा राजपद आउँदा उनीहरूको रजगज बढ्यो।
हिजोसम्म खान लाउन पुगेस पुगेस मात्र भएका यी धीरशमशेरका खलक एकाएक अकुत सम्पत्तिका मालिक बन्न पुगे। धीरशमशेरका १७ भाइ छोराहरूले राष्ट्रको ढुकुटी मात्र हात पारेनन्, तराईका अधिकांश उर्वर जमिन पनि आफ्नै परिवारमा बाँडचुड गरे।
राणाहरूका गुरुपुरोहित नातागोता एवम् आसेपासेहरूले पनि मधेसका उम्दा ठाउँमा सयौँ बिघा जमिन बिर्ता पाए। धर्मभिरु राणाहरूबाटै दानदातव्यबाटै आफ्नो पाप पखाल्न चाहन्थे। यो मनोविज्ञानका कारण राणा निकट ब्राह्मणहरू पनि सम्पन्न हुँदै गए।
दीक्षित बन्धुहरूको ‘भएका कुरा’ र ‘पुराना सम्झना’ कृति हेर्दा यस्ता दानका केही उदाहरण पाइन्छ। धीरशमशेरका छोराहरूको नाममा आलिसान दरबार बनेबाट पनि उनीहरूसँग भएको सम्पत्तिको अनुमान लगाउन सकिन्छ।
भनिन्छ कि चन्द्रशमशेरले आफ्ना छोराहरूलाई जग्गाजमिन हिराजवाहरतबाहेक सात-सात करोड रुपियाँ नै अंशमा दिएका थिए। वीरशमशेरको पालादेखि विदेशी बैँकमा पैसा राख्ने प्रचलन सुरु भयो। यसले कति रकम विदेशी बैँकमा राखे त्यसको लेखाजोखा छैन।
जंगबहादुरका खलक, खड्गशमशेर, देवशमशेर, जुद्धशमशेर, पद्मशमशेर, मोहनशमशेरलगायतका उच्च ओहदामा भएका राणाहरूले त्यही अकुत सम्पत्तिबाट भारतमा निर्वासित भई विलासी जीवन बिताउन सफल भएका हुन्।
हुन त राणाहरूले कमाएको सम्पत्ति नै उनीहरूको पतनको प्रमुख कारण बन्न पुग्यो। अधिकार खोसिएका राणाहरूसित भएको त्यही सम्पत्ति नै जहानिया राणा शासन समाप्त पार्न सहयोगी बन्यो।
विसं २००७ सालको आन्दोलनमा दौलत उपलब्ध गराउने तिनै ‘सी’क्लासका राणाहरू थिए। धनसम्पत्तिकै कारण उनीहरूको प्रतिष्ठा मात्र होइन जात पनि बढ्यो।
जिल्ला जिल्लामा खटिएका प्रशासकहरूले पनि सरकारी सुविधाबाट आफ्नो हैसियत बढाउन सफल भए। यी प्रशासकका आडमा गाउँका ठूलाठालुले पनि अनेक प्रपञ्च गरी आफू र आफ्ना सन्तानलाई सम्पन्न बनाए।
जिम्मावाल तथा मुखियाहरूको शोषणका कारण कतिको घरखेत गयो, कति बसाइ सरे। कति त मुग्लान नै पसे। साहुको ऋण तिर्न कस्तो गर्नुपथ्र्यो भन्ने कुरा त भुक्तभोगीका कथाव्यथा हालसम्मै सुन्न र देख्न पाइन्छ। राणा शासकहरू त भोट चीनमा विनिषिद्ध वस्तु अफिमको व्यापारमा लागेका थिए। तस्करी गर्न शासकहरूलाई मार्गदर्शक गर्ने पनि तिनै भए।
विसं २००७ सालको राजनैतिक परिवर्तनबाट पनि सर्वसाधारण जनताको आर्थिक स्थितिमा कुनै परिवर्तन भएन, हिजोका कुलीन वर्गकै बाहुल्य रह्यो। राजाको सिन्दुर लगाउने नै सम्पन्न हुँदै गए। विसं २००७ सालदेखि २०१७ सालसम्म नवकुलीन वर्गको जमात सिर्जना हुने शृङ्खलामा भने कमी आयो।
शासनसत्तामा भोका व्यक्तिहरू नआउँदा राष्ट्रिय सम्पत्तिको दोहन हुने क्रममा पनि कमी आयो। यस कालमा राजाले भने आफ्ना परिवार एवम् अग्रजहरूलाई उदारतापूर्वक घरजग्गा प्रदान गरे। पहिलेबाटै सम्पन्न भएका हुँदा ती बक्सिस पाउने भाग्यमानीहरूबाट नवकुलीन समुदाय भने जन्मेन।
विसं २०१७ सालपश्चात् नेपाल महेन्द्रपथमा अग्रसर हुँदा पञ्चायतमा प्रवेश गर्न साम दाम दण्ड भेदको नीति प्रादुर्भाव भयो। यस क्रममा राजा महेन्द्रबाट पञ्च एवम् राजभक्त भनाउँदालाई बक्सिस दिने लहर नै चल्यो। विराटनगर भरतपुर पोखरा एवम् काठमाडौँमा धेरैले घरजग्गा पाए।
दरबारका सचिव तथा शाही चिकित्सकहरूले काठमाडौँको मुटुमा नै घरजग्गा प्राप्त गरे। राष्ट्रिय सम्पत्ति वितरण गरी उदार एवम् दानी राजा कहलाउन महेन्द्रले कुनै पनि कसर बाँकी राखेनन्। अदृश्य बक्सिसको त लेखाजोखा गरी साध्य नै छैन।
ठूलाठूला होटल र पर्यटनसँग सम्बन्धित व्यवसायमा पनि दरबारकै वर्चस्व रह्यो। दरबारले चाहेको जति राष्ट्रिय सम्पत्तिमा रजगज गरे तापनि अन्य पञ्च प्रशासकहरूले भ्रष्टाचार गरी अकुत सम्पत्ति संग्रह गरेका घटना कमै बाहिर आए। राजा महेन्द्रको कडा प्रशासनिक निगरानी र कौशलका कारण प्रशासकहरू भ्रष्टाचार गर्ने आँट कमै गर्थे।
राजा वीरेन्द्र सत्तामा आएपछि यस्तो अवस्थामा केही परिवर्तन आयो। बक्सिस तथा दानदातव्य गर्ने कार्यमा उदासीन नै रहे। तर, दरबारियाको भने चलखेल ज्यामितीय ढंगले बढ्यो।
सबै ठूला आयोजना बैँक एवम् औद्योगिक प्रतिष्ठानहरूको स्वामित्व दरबारियाकै सेरोफेरोमा पुग्यो, राजनीतिमा लागेका पञ्चहरूमा जग्गा जोड्ने कति भए भए। यसबाट नवकुलीन वर्गको समाजमा अभ्युदय भयो।
राजारानी तथा राजपरिवारमा भक्ति देखाई आफ्नो दुनो सोझ्याउने ठूलै जमात सिर्जना भयो। पञ्चायत कालका केही मन्त्री अञ्चलाधीशहरू नवधनाढ्य वर्गमा मिसिए।
सुनकाण्ड तथा गलैँचाकाण्ड चर्चामा आए। कतिले प्रश्रय पनि पाए। यही गोप्य व्यापारमा भनेजस्तो नहुँदा केही उच्च पदस्थ कर्मचारी दण्डित पनि भए, त्यो पनि दरबारकै इसारामा।
पञ्चायत प्रवेश गराउन, प्रतिबन्धित राजनैतिक पार्टीका नेता एवम् कार्यकर्ता तह लगाउन तथा जनमत संग्रहमा पञ्चायतलाई विजयी गराउन राष्ट्रिय ढिकुटी, प्राकृतिक सम्पदा, अस्मिता र स्वाभिमान सबैलाई स्वाहा बनाइयो।
यी सबै क्रियाकलापबाट अर्थोपार्जन गरी थप नवकुलीन वर्ग अभ्युदय हुन पुग्यो। अञ्चल जिल्ला र गाउँँगाउँमा पञ्चले पनि स्थानीय स्रोतसाधन एवम् केन्द्रको बजेटमा राम्रै चलखेल गरे।
यी सबै कार्यमा सहजकर्ताको भूमिका निर्वाह गरेका कर्मचारीहरूले त मनग्य आयआर्जन गरी आफूलाई कुलीन, सम्पन्न र खानदानी दर्जा दिन सफल भए। यस प्रकार इतिहास कालदेखि नै शासकको वरिपरि घुम्नेहरू सम्पन्न हुँदै जाँदा समाजमा कुलीन वर्गको सिर्जना भयो।
सम्पन्न र विपन्न दुवै वर्गबीच संघर्षको स्थिति पैदा हुन गया। यस स्थितिबाट आफू असुरक्षित हुने महसुस गरी ती सम्पन्नले धर्म, जात र राजनीतिको सहारा लिन थाले। यसबाट मुलुक आक्रान्त हुँदै छ। र, यसको परिणाम भयावह हुने सम्भावना देखिँदै छ।
विसं २०४६ को आन्दोलन नेपालको इतिहासमा घटेको सर्वाधिक महत्त्वपूर्ण घटना हो। प्राचीन कालदेखि नै राजा नै शक्तिको स्रोत हुने राजाले बोलेको कानुन हुने जे गरे पनि बात नलाग्ने साक्षात् विष्णु भगवान्कै रूपमा स्थापित थिए।
यदाकदा भारदारहरू शक्तिशाली हुँदा राजाको स्वेच्छाचारितामा कमी आयो भने उनका भरौटेहरूले राजाकै नाममा आफ्नो स्वार्थसिद्ध गर्ने रामवाण पाए। राणाहरूले पनि राजाकै कारण जहानिया शासन कायम गरे भने राजाकै नाममा शासन चलाए।
विसं २००७ सालदेखि २०१५ सालसम्म राजाहरू नै शक्तिका स्रोत बने। विसं २०१५ सालको निर्वाचनबाट राजाको स्थिति परिवर्तन हुने तरखर गरेकै बेलामा २०१७ साल आइहाल्यो। राजालाई फेरि १७ पर्यो। यस क्रमलाई २०४६ सालको आन्दोलनले भंग गर्यो।
जनता सार्वभौम भए खुला राजनैतिक वातावरण आयो। जनता नागरिक भई सुखी र समृद्ध नेपाल हुने परिकल्पना गरे कुलीन वर्गको चलखेल कम हुने सपना देखे तर विडम्बना सपना त दिउँसो पो देखेका रहेछन्।
विसं २०४७ साल पश्चात् विकसित गतिविधिले फेरि मुलुक नै आक्रान्त हुन पुग्यो। हिजो श्री ५ श्री ३ र पञ्चायत समर्थक र प्रशासन यन्त्र सञ्चालकहरू मात्र कुलीन हुने परिस्थिति थियो भने आज एकैपटकमा ठूलो जमात नवकुलीन हुन पुग्यो।
विसं २०४६ सालपश्चात् सत्तामा पुगेका, मन्त्री भएका, राजनीतिमा लागेका, विभिन्न पार्टीका मठाधीशहरू र तिनका मतियार कर्मचारीहरूकै हैसियत एकाएक बढेर गयो, अलाउदिनले खजाना पाए जस्तै।
हिजो दुःख पाएका, जेलनेल खाएका, एक छाक खान पनि धौधौ परेका तथा आफ्ना साधारण घरायसी आवश्यकता पूरा गर्न पनि अरूको सहयोगको याचना गर्ने ठूलै जमात राजनैतिक रङ्गमञ्चमा पदार्पण गरे। यी सबैलाई सत्तामा पुगेपछि अट्ठा लाग्यो। सबै हिजोको जीवन चटक्कै बिर्से।
आफ्नो हैसियत र आर्थिक स्थिति मजबुत गरी आफ्ना शाखासन्तानलाई कुलीन बनाउन जुटे। काठमाडौँमा कतिले घरजग्गा श्रीसम्पत्ति जोडे। कतिले त विदेशमा धनसम्पत्ति थुपारे जसको आँकलन गर्न नै सकिँदैन।
गाउँ, नगर, जिल्ला र केन्द्रका राजनैतिक हैसियत पाएका अधिकांशले आफू र सन्तति भविष्यमा सुरक्षित हुने संयन्त्र विकास गरे। यी सबै कारणले २०४७ पश्चात् इतिहासकै कालखण्डमा पहिलोपटक ठूलो संख्यामा नेपालमा कुलीन वर्गको अभ्युदय भयो। विसं २०४६ भन्दा अगाडिका खस्रा व्यक्ति आज एकाएक चिल्ला हुन कसरी पुगे? वैभवशाली, आलिसानी र विलासी किन भए? स्रोत के हो? खोज्ने कसले हो?
विसं २०४७ देखि २०६२-०६३ सम्ममा मुलुकलाई निर्धन बनाई व्यक्ति धनी हुने अनेकौँ काण्ड बने। मठाधीशहरूले राष्ट्रको सम्पत्ति आफ्नो स्वार्थका लागि खर्च गरे। विसं २०४७ पछि विकसित राजनैतिक विसंगतिकै कारण राजा ज्ञानेन्द्रले महेन्द्रपथको नीति लिए।
त्यो राजतन्त्रकै अवसानको कारण बन्न पुग्यो। विसं २०६२-०६३ को आन्दोलन र माओवादी विद्रोह हुने र नहुने बीचको संघर्षको परिणति थियो। नहुने वर्गलाई हुने बनाउने संकल्प र प्रतिज्ञा गरेर माओवादीले धेरैको सदासयता लिन पुगे। हुन त अरू हतकण्डा पनि नअपनाएका होइनन्।
ज्ञानेन्द्रको महेन्द्रपथकै कारण माओवादीले सत्ताको रसास्वादन गर्न पाएको हो। विसं २०६२-०६३ को आन्दोलनको ठूलो र पहिलो पुरस्कार माओवादीले तथा दोस्रो पुरस्कार राजनीतिक पार्टीहरूले पाए जनताले सान्त्वना पुरस्कार पनि पाएनन्।
सर्वहाराका नेता तिनै माओवादीलाई सत्तामा पुगेपछि अट्ठा लाग्यो। नेपालको कुलीन हुने नियति र परम्परालाई निरन्तरता दिँदै विभिन्न दृश्यअदृश्य माध्यमबाट धन सञ्चय गरी विलासी जीवन बिताउन थाले।
यसले एकाएक कुलीन वर्गको संख्यामा अभूतपूर्व वृद्धि हुन गयो। जंगलबाट सहर पसेका माओवादीका मठाधीशहरूले सुनारको १०० चोट लुहारको एकैचोट भन्ने आहानलाई चरितार्थ बनाए।
सत्तामा पुगेपछि मत्ता हात्ती हुने नेपाली संस्कृतिलाई सतत नमन गरे। विसं २००७, २०४६ र २०६२-०६३ को आन्दोलनलाई सफल बनाउने साधारण जनता त वैशाखी नै भए। भइरहने प्रबल सम्भावना पनि देखिँदै छ।
सर्पको खुट्टा सर्पले देख्छ। त्यसैले सबै पार्टीका नेताहरू सम्पत्ति छानबिन तथा गम्भीर राजनैतिक मुद्दामा अनदेखा गर्छन्। त्यसैले जस्तोसुकै आयोग वा समिति बनेपनि उपलब्धिपूर्ण हुन सक्दैन। भोजन गर्ने मामलामा सबै मठाधीशहरू कोहीभन्दा कोही कम छैनन्।
त्यसैले तै चुप मै चुपको नीति अवलम्बन गरेका छन्। जनता-जनता लडाएर आनन्द लिइरहेका छन्। त्यसैले एक नेताले नेपालका राजनैतिक दलबीच चुनावमा कडा प्रतिस्पर्धा भए पनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताएका छन्।
शासनसत्ताको वरिपरि घुम्नेहरू नै सदैव समाजमा गन्यमान्य प्रतिष्ठित मात्र भएनन् कुलीन हुन पुगे। सत्ताको समीप हुने अधिकांश लक्ष्मीभक्त देखिँदा कुलीन वर्गको संख्यामा वृद्धि हुँदै छ भने साधारण जनता सधैँ पिल्सिरहेका छन्।
नेपालको राजनीतिमा हालसम्म आश्वासन बाँढ्ने बाहेक जनताका लागि काम गर्ने कमै देखिए, जुन जोगी आए पनि कानै चिरेका। कुलीन वर्गको बढ्दो क्रमको मार राष्ट्रमा परेको छ।
समयक्रमसँगै नेपाल निर्धन हुँदै छ। यही गति बढ्ने हो भने निकट भविष्यमा नै धनीहरू बस्ने गरिब देश नेपाल नै हुनेछ। ‘हरियो वन नेपालको धन’ कहाँ गयो? खाद्यान्न चीन तथा भारत निर्यात गर्ने मुलुक आज उल्टै तिनै देशसँग आश्रित हुन पुगेको छ।
नेपालमा देखिएका सबै सत्तासीनहरू कुलीन हुन नै उद्यत हुने मात्र थिएनन्, केही त्यागी नेता तथा प्रशासकहरू पनि देखिए तर तिनीहरूको संख्या ज्यादै न्यून रह्यो। अर्कोतर्फ इमानदार, त्यागी र मुलुकको हित सोच्ने नेता तथा प्रशासक कसैले प्रश्रय नै पाउन सकेनन्।
‘एक्लो बृहस्पति झुटो’ साबित भयो। नेपाललाई समृद्ध बनाउन सक्ने उपाय नै नभएको भने होइन। सत्तामा पुग्दा अट्ठा हान्नेलाई रोक लगाउन सकिन्छ। सत्तामा पुग्ने सबै पार्टीका अधिकांश नेताहरूको अकुत सम्पत्ति कताबाट आयो भन्ने सोधखोज गर्न कोही चाहँदैन।
‘काले काले मिलेर खाऔँ भाले’ भएको छ। कुलीन हुने दौडमा पछाडि पर्न कोही चाहँदैनन्। विसं २०४६ साल पश्चात् उच्च ओहोदामा पुग्नेमा सबै कर्मचारी तथा नेताहरूको सम्पत्ति छानबिन गरेमा मात्र मुलुकले सुख पाउनेछ। अवान्छित माध्यमबाट संग्रह गरिएको धन राष्ट्रको विकासमा लगाउन सकिन्छ।
कसैसँग हात पसार्न पर्ने स्थिति आउँदैन। यसो गरेमा नेपालमा बढ्दो कुलीनतन्त्रमा रोक लाग्नेछ तर कसले गर्ने? बिरालाको घाँटीमा घन्टी कसले झुन्ड्याउने? नत्र नेपाल भौगोलिक अभिव्यक्ति मात्र हुने हो कि!
Facebook Comment