दशकौंदेखि सडक पेटीमा संजय
सिरहा। भर्खरै मनाइएको माघे सङ्क्रान्ति तराईबासीको लागि अन्य पर्व जस्तै महत्पूर्ण हुन्छ। शितलहरले कठ्याङ्ग्रदो चिसो छ, माघे संक्रान्तिको अवसरमा सबैले तात्तातो मीठो परिकार बनाएर खाएकै छन्। तर सिरहा नगरपालिका- २ का ४५ बर्षिय संजय यादव भने सडक पेटीको चिसो हावा खाएर दिन बिताइरहेका छन्।
चिसो हावा र सडक पेटी उनका लागि नौलो भने छैन। केही वर्षयता सडक पेटीमा बस्ने उनको दैनिकी नै बनिसकेको छ। पारिवारिक समस्याले ग्रसित भएपछि मानसिक अवस्था गुमाएका संजय केही वर्षयता जिल्ला प्रहरी कार्यालय सिरहाको वरिपरि घुमीरहेका हुन्छन्।
बेला–बेलामा तम्सिएर संजयले सरकार र राज्यलाई गाली समेत गर्ने गरेका छन्। पारिवारिक समस्या, दुख र पिडाको याद आएर संजयले गाली दिने गरेको हुन सक्ने अनुमान लगाउछन्, प्रत्यक्षदर्शीहरु।
‘भोक लागेपछि मागेर खान्छन् संजय,’ थानाचौक सिरहाका चिया पसल संचालक विनोद साह भन्छन्, ‘आवश्यकता भन्दा बढी पैसा वा कुनै सरसमान लिएको देखिँदैन। सुनिएको पनि छैन। दिसा र पिसाव गर्न बसोवास भन्दा बाहिर टाढा जाने गरेका छन्। फोहोरै लुगा भएपनि सक्दो शरीर ढाक्ने प्रयासमा हुन्छन्, संजय।’
‘मेरै पसल छेउमा रहेका खुल्ला बरण्डामा अधिकांश समय बिताउने गरेका छन्। अधिकांश रात त्यहीँ बरण्डामा बित्छ उनको । मेरो क्षमता र बुद्धिले भ्याएसम्म सेवा गर्दै आएको छु। हामीले दिएपछि केही लिँदैन। उनले आफैं माग्दा दिएपछि लिन्छ। चोर्न र अरुसँग बलजफदी केही लिँदैन’ उनले भने, ‘संजयको राम्रो ठाउँमा उपचार भयो भने मानसिक अवस्थामा सुधार आउन सक्ने छन्।’
कोरोनाकालको अवस्थामा संजयले भोगेका पिडा स्मरण गर्दै विनोदले भने, ‘पानीको भरमा हप्तौं हप्ता बिताएको छन्। भोकै बसेका छन् । हाम्रो पसल पनि बन्द थियो । सोचेजति हामीले सहयोग गर्न सकिन। आजसम्म कुनै निकायले संजयको स्याहार र उपचारमा ध्यान दिएको पाएनौं।’
पारिवारिक समस्या र आर्थिक संकटमा परेर संजयको मानसिक सन्तुलन गुमेको उनकै गाउँलेहरुको दाबी छन्। राम्रोसँग संजयको उपचार भयो भने मानसिक अवस्थामा सुधार आउन सक्ने स्थानीयहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालयकै छेउ–छाउ अधिकांश समय बिताउनुको कारण सुरक्षित महशुस गरेको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन्।
‘असुरक्षित हुने गरी यातना परेको हुन सक्छ,’ अभियन्ता पर्शुराम साह भन्छन्,‘त्यहीँ यातना, पारिवारिक समस्या र आर्थिक संकटको चपेटामा परेर मानसिक सन्तुलन गुमेको हुनुपर्छ । मानसिक अपाङ्ग भएको हुनुपर्छ । जतिखेर पनि बोल्दैन् । शान्त मुद्रामा बसेका हुन्छन् । बेला-मौकामा वा केही माग्नु परेमा मात्र बोल्छन्, भने कुनै बेला केही याद आएर होला अभद्र गाली भने गरिरहेका हुन्छन् । त्यो पनि कसैको नाम लिएर होइन् । आफ्नै पारामा गाली गर्छन् र आफै चुप लाग्छन् ।’
कोरोनाकालको अवस्थामा संजय बिरामी परेपछि सिडियो, एसपी तथा डाक्टरसँग समन्वय गरेर उपचार गराउन लगाएको अभियन्ता साहले बताए । ४-५ वर्ष देखि ओढ्ने र ओछ्याउने व्यवस्था पनि गरिदिँदै आएको उनले सुनाए । उनका अनुसार गएको दश वर्ष देखि संजय यसरी सडक पेटी, पसल तथा सार्वजनिक स्थानमा बस्दै आएका छन् ।
संजयको स्वास्थ्य उपचार र स्यहारमा कुनै पनि सार्वजनिक निकाय तथा स्थानीय सरकार समेत चासो नदिनु दुखद कुरा भएको समाजसेवी युवा सुमित कुमार यादवले बताए । उनले भने,‘म आग्रह गर्दछु कि संजय र संजय जस्ता अन्यलाई पनि बेलैमा उपचार तथा व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान दियोस।’
Facebook Comment