लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रावधान विधानमा समेट्न शर्माको माग
काठमाडौं। माओवादीले पार्टीको नयाँ विधान तय गर्न गठित कार्यदलले स्थायी समिति बैठकमा मस्यौदा पेश गरेको छ। माओवादी सो विधानको मस्यौदा कार्यान्वयनका लागि आगामी फागुनमा विधान सम्मेलन गर्ने घोषणा समेत गरेको छ ।
शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित विधान लेखन समितिले तयार गरेको मस्यौदामाथि छलफल अगाडि बढाएको थियो।
तर, मस्यौदामा केही विषय छुटेको भन्दै अर्को पूरक प्रस्ताव पनि पेश गरिएपछि त्यसलाई समेट्ने प्रयत्नस्वरुप माओवादीले आन्तरिक गृहकार्य थालेको छ। तयार पारिएको मस्यौदामा पार्टीका उपमहासचिव जर्नादन शर्माले थप विषय समेट्न लिखित प्रस्ताव पेश गरेपछि अहिले उनको पूरक प्रस्तावलाई माओवादीले थप मन्थन गर्न लागेको छ ।
आफैं विधान मस्यौदा लेखन समितिकोे सदस्य रहेका उपमहासचिव शर्माले विधान मस्यौदा कार्यदलले तय गरेको मस्यौदा केही विषय छुटेको भन्दै त्यसलाई पूर्णता दिन सैद्धान्तिक विषय लिपिबद्ध गरेर स्थायी समिति बैठकमा पूरक प्रस्ताव पेश गरेका थिए।
शर्माले पार्टीको नाम परिवर्तनदेखि विभिन्न तहगत कमिटीहरुलाई स्वायत्तता प्रदान गरिनुपर्ने, आन्तरिक लोकतन्त्रको अभ्यास गरेर नेतृत्व चयन गर्नुपर्ने लगायतका ९ बुँदा पूरक प्रस्तावका रुपमा पेश गरेको बताइएको छ।
माओवादीमा लामो समयदेखि नेतृत्व चयनमा विधि, प्रक्रिया भन्दा पनि मनोमानी रुपले चयन गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि बढेको थियो। शर्माले विगतदेखि नेतृत्व चयन प्रक्रियामा लोकतान्त्रिक विधि तय गर्न पार्टीमा आवाज उठाइरहेका छन् ।
उनले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रि विधिबाट तय गर्नुपर्ने प्रावधान विधानको मस्यौदामा समेट्न माग गरेको माओवादी स्रोत बताउँछ । शर्माले केही समयदेखि सार्वजनिक रुपमा नेतृत्व चयनमा आन्तरिक लोकतन्त्रको प्रत्याभूति दिलाउन माग गरिरहेका छन्।
माओवादीले उपाध्यक्ष भुसालको नेतृत्वमा प्स ५ गते सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । जसमा शर्मासहित महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन,गणेश शाह र राम कार्की रहेका थिए।
उनको पूरक प्रस्तावका बारेमा छलफल पछि मूल विषय विधान मस्यौदामा समेट्ने तयारी गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए। उनले सो विषयमा छलफल गरेर निक्र्योल गर्ने जिम्मा आफू र उपाध्यक्ष भुसाललाई दिइएको उनले बताए।
‘मस्यौदामा समेट्न सकिने विषय मस्यौदामा समाहित गर्नेगरी अध्ययन भइरहेको छ । कतिपय उल्लेख्य विषय समेटिनेगरी तयारी गरिरहेका छौं’ विधान मस्यौदा समितिका सदस्य समेत रहेका महासचिव गुरुङले भने, ‘महत्वपूर्ण सैद्धान्तिक विषय छलफलपछि टुंगो लाग्छ ।’
शर्माको पूरक प्रस्तावमा औंल्याइएका उपयुक्त विषयलाई मस्यौदामा समावेश गर्ने उनले बताए। महत्वपूर्ण विषय समाहित गर्दै आगामी विधान सम्मेलनमा पारित गर्नेगरी अन्तिम रुप दिन लागिएको महासचिव गुरुङले जनाए।
विगत २०४३ सालमा तत्कालीन नेकपा(मशाल)को मूल नेतृत्वमा आएका दाहाल सोही पार्टीको मूल घटकका रुपमा रहेको माओवादी केन्दको हालसम्मै अध्यक्ष छन्। उनको पार्टीमा रहेका फरक मत राख्ने नेताहरु विभाजित भएर बाहिरिएपछि उनी निर्विकल्प देखिएका छन्।
नेपालको समकालीन दलहरुमा लामो समयसम्म पार्टीको नेतृत्वदायी तहमा रहने नेता मध्ये दाहाल एक हुन्। उपमहासचिव शर्माले नेतृत्व चयनका लागि लोकतान्त्रिक विधि विधानमा अनिवार्य व्यवस्था गर्न माग गर्दै पार्टीमा निर्विकल्प देखिएका दाहाललाई चुनौती दिएका छन्।
Facebook Comment