पाकिस्तानमा इरानको हमलाको अमेरिकाद्वारा निन्दा, चीनले भन्यो–दुवै देशले संयम अपनाउनुपर्छ

डिसी नेपाल
४ माघ २०८० १५:०६

काठमाडौं । अमेरिकाले पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको आक्रमणको निन्दा गर्दै पछिल्ला केही दिनमा यस देशले आफ्ना तीन छिमेकी देशको सीमा उल्लंघन गरेको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बुधबार पाकिस्तान, सिरिया र इराकमा इरानको आक्रमण चिन्ताजनक रहेको बताएका छन् ।

म्याथ्यू मिलरलाई एक पत्रकार सम्मेलनमा सोधिएको थियो – ‘इरानले यी आक्रमणहरूलाई आत्मरक्षामा गरिएको कारबाहीको रूपमा वर्णन गरेको छ।’

यसबारे उनले भने, ‘हामी यी आक्रमणको निन्दा गर्छौं । हामीले विगत केही दिनमा इरानले आफ्ना तीन छिमेकी देशको सिमाना उल्लङ्घन गरेको देख्यौं। एकातिर इरान यस क्षेत्रमा आतंकवाद र अस्थिरतालाई आर्थिक सहयोग गर्ने प्रमुख देश हो भने अर्कोतर्फ आतंकवादसँग लड्नका लागि यी कदम चाल्नुपर्ने बताएको छ ।’

पाकिस्तानको ‘बदला लिने अधिकार’ बारे सोध्दा म्याथ्यूले भने, “मलाई आशा छ कि यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान हुन्छ।”

मंगलबार इरानले पाकिस्तानको बलुचिस्तानमा जैश अल-अदल नामक संगठनलाई लक्षित गरी हमला गरेको दाबी गरेको थियो। इरानले यो संगठनले आफ्नो देशमा लगातार ‘आतंकवादी घटना’ गराएको बताएको छ ।

पाकिस्तान र इरानबीचको सम्बन्धमा तिक्तताको बीचमा चीनले दुवैलाई संयमता अपनाउन अपिल गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा दुई देशले अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय बडापत्रको सिद्धान्तअनुसार आपसी सम्बन्ध कायम गर्नुपर्ने बताइन्।

पाकिस्तान र इरानबीचको तनावबारे सोधिएको प्रश्नमा निङले भनिन्, “चीनले राष्ट्रहरूबीचको आपसी सम्बन्ध संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने विश्वास राख्छ। ।”

उनले भनिन्, ‘इरान र पाकिस्तान नजिकका छिमेकी र ठूला इस्लामिक देश हुन् । हामी दुवै पक्षलाई संयमता अपनाउन, तनाव नबढाउन र यस क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न कदम चाल्न अपिल गर्दछौं।

स्विट्जरल्याण्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चको बैठकमा इरानका विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियानले इरानको मिसाइल र ड्रोन आक्रमणको निशानामा कुनै पनि पाकिस्तानी नागरिक नभएको दाबी गरेका थिए।

उनले भने, ‘हामीले पाकिस्तानका धेरै अधिकारी र सुरक्षा बलसँग धेरै पटक कुरा गरेका छौं। इरानमा उनीहरूले हाम्रा सुरक्षा बलका सैनिकहरूलाई मारेका छन्। हामीले सोही अनुसार प्रतिक्रिया दिएका छौं ।”

यस आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । विरोध जनाउँदै इरानबाट राजदूत फिर्ता बोलाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *