जापानको अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण
काठमाडौं । जापानको अन्तरिक्ष एजेन्सीले चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्ष यानको ‘न्यूनतम सफलता’ र ‘सफ्ट ल्यान्डिङ’ पुष्टि गरेको छ ।
जापानको अन्तरिक्ष एजेन्सी जाक्साले यो मिसनलाई ‘प्रमुख कोसेढुङ्गा’ र भविष्यको अन्तरिक्ष अन्वेषणको लागि ठूलो कदम भनेको छ।
जाक्साका अध्यक्ष हिरोशी यामाकावाले अवतरण सफल भएको बताउँदै अन्तरिक्ष यानसँग सञ्चार सम्भव भएको बताए । उनले चन्द्रमाको सतहमा अवतरण र सञ्चारलाई मिसनको ‘न्यूनतम सफलता’ भनेका छन्।
उनले थप निष्कर्ष निकाल्न तथ्यांकको मूल्याङ्कन गर्ने बताए ।
“हामीलाई चन्द्रमाको सतहमा पुग्न सक्षम हुन विभिन्न देशहरूसँग अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ, जुन पहिले नै चलिरहेको छ,” उनले भने।
सटीक अवतरण सफल भएको तर एजेन्सीलाई विश्लेषण गर्न करिब एक महिना लाग्ने उनको भनाइ छ ।
हिरोशी यामाकावाले पनि जापानले चन्द्रमामा यस्ता थप सवारी साधन पठाउने बताए । उनले भने – हामी मंगल ग्रह पनि जाने योजनामा छौं।
त्यसपछि जाक्साका तीन अधिकारीले पत्रकार सम्मेलन गरी पत्रकारका प्रश्नको जवाफ दिएका थिए ।
जाक्साका अधिकारी हितोशी कुनिनाकाले भने – अन्तरिक्षयानका केही प्रणालीहरू शक्ति बचत गर्न बन्द गरिएको छ, किनभने यो अहिले पूर्ण रूपमा ब्याट्रीहरूमा निर्भर छ।
ब्याट्री धेरै घण्टा टिक्ने अपेक्षा गरिएको र सोलार जेनेरेटर सुरु गर्न जाक्सा टोलीले हरसम्भव प्रयास गरिरहेको उनले बताए ।
उनले निर्धारित लक्ष्यभन्दा १०० मिटर भित्र अन्तरिक्ष यान अवतरण गरेपछि मात्रै यो मिसन पूर्णतया सफल घोषित हुने बताए । तर, पुष्टि हुन एक महिना लाग्न सक्छ।
अमेरिका, पूर्व सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौं देश जापान हो । गत वर्ष मात्रै भारतले चन्द्रयान सफलतापूर्वक चन्द्रमाको सतहमा पठाएको थियो ।
नासाका पूर्व वैज्ञानिक डा एम्मा गाट्टीले यो प्रयासलाई अभूतपूर्व भनेकी छन् ।
Facebook Comment