पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले दिए राजीनामा, भने – ‘काम गर्न सम्भव छैन’

डिसी नेपाल
६ माघ २०८० १०:१५

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

जाका अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

पीसीबी प्रबन्ध समितिको बैठकमा जाका अशरफले आफ्नो छोटो कार्यकालमा आफूलाई समर्थन गरेकोमा पीसीबी सदस्यहरू र यसका संरक्षक कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक ककरलाई धन्यवाद पनि दिए।

यस बैठकको अन्त्यमा अशरफले पीसीबीका संरक्षक प्रधानमन्त्रीलाई राजीनामा बुझाउने निर्णय गरेको बताए।

पछि पाकिस्तानको अग्रणी च्यानल जियो न्यूजमा अशरफले भने, ‘मैले क्रिकेटको सुधारका लागि काम गरिरहेको थिएँ तर अब यसरी काम गर्न सम्भव छैन । अब कसलाई अध्यक्ष बनाउने भन्नेमा भर पर्छ ।

गत वर्ष जुलाईमा उनले नजम सेठीबाट पीसीबीको अन्तरिम अध्यक्षको जिम्मेवारी लिएका थिए । उनलाई चार महिनाका लागि अन्तरिम अध्यक्ष बनाएको थियो भने पछि प्रधानमन्त्रीले तीन महिनाको म्याद थप गरेका थिए ।

पछिल्ला केही वर्षहरूमा पीसीबी प्रमुखको पदमा धेरै परिवर्तनहरू भएका छन्। रमीज राजा २०२१ मा अध्यक्ष बने । त्यसपछि नजम सेठी र त्यसपछि जाका अशरफलाई जिम्मेवारी सुम्पियो । तर कोही पनि एक वर्षभन्दा बढी आफ्नो पदमा रहन सकेनन् ।

जाका अशरफको छोटो कार्यकालमा पाकिस्तानी क्रिकेट टोलीले केही हासिल गर्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *