यु–१९ विश्वकपमा न्यूजिल्याण्डसँग कहिल्यै नहारेको नेपाल आज तेस्रो पटक न्यूजिल्याण्डसँग भिड्दै
काडमाडौं । दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकपमा आज नेपालले टेष्ट राष्ट्र न्यूजिल्याण्डसँग खेल्दैछ । यु–१९ विश्वकपमा न्यूजिल्याण्डसँग अहिलेसम्म २ खेल खेलेको र दुवै खेल जितेको नेपाल आफ्नो इतिहासका कारण आज आत्मविश्वासका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ ।
आजको खेलमा नेपाल देव खनालको कप्तानीमा मैदानमा उत्रनेछ । यस्तै न्यूजिल्याण्ड ओस्कार ज्याक्सनको कप्तानीमा मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । खेल दक्षिण अफ्रिकाको इस्टर्न केपमा पर्ने सहस इस्ट लण्डनमा हुनेछ ।
नेपाल यु–१९ न्यूजिल्याण्डसँग विश्वकपमा पहिलोपटक २००६ मा भिडेको थियो । त्यतिबेला न्यूजिल्याण्डले ४९.२ ओभरमा २०४ रन बनाएर अलआउट भएको थियो । नेपालले ४९.४ ओभरमा ९ विकेटको क्षतिमा २०५ रन बनाएर खेल जितेको थियो ।
नेपालका बसन्त रेग्मीले सर्वाधिक ६६ रन बनाएका थिए । नेपालका लागि बलिङतर्फ ३ विकेट पनि लिएका रेग्मी म्यान अफ द म्याच भए । यो खेलमा न्यूजिल्याण्डका मार्टिन गुप्टिन, टिम साउदी, कोलिन मुनरो लगायतका खेलाडी खेलेका थिए जसले पछि सिनियर टिममा न्यूजिल्याण्डका लागि धेरै खेल खेलेका छन् ।
२००६ मा नेपालको यु–१९ टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर लगायतका खेलाडी थिए जो धेरै लामोसम्म नेपालको सिनियर टोलीमा प्रमुख अेलाडीको रुपमा रहे । नेपालका कप्तान कनिष्क चौगाइ भने लामो समय सिनियर टोलीमा सक्रिय रहेनन् । न्यूजिल्याण्डका कप्तान मार्क एलिसनले भने सिनियर टोलीमा अवसर नै पाएनन् ।
नेपालले दोस्रो पटक २०१६ को जनवरीमा न्यूजिल्याण्डसँग विश्वकपमा खेलेको थियो । यो खेल पनि नेपालले जितेको थियो । कप्तान राजु रिजालको कप्तानीमा गएको नेपालले न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो । नेपालले दिएको २३८ रनको लक्ष्य पच्छ्याएको न्यूजिल्याण्ड २०६ रनमै अलआउट भएको थियो ।
यो विश्वकपमा न्यूजिल्याण्डको तर्फबाट खेलेका राचिन रविन्द्र २०२३ मा भएको सिनियर टोलीको विश्वकपमा न्यूजिल्याण्डलाई सेमिफाइनलसम्म पुर्याउन सबैभन्दा धेरै योगदान गर्ने खेलाडीमध्येमा परेका थिए । उनीबाहेक अहिले न्यूजिल्याण्डको सिनियर टोलीका प्रमुख खेलाडी फिन एलेन, ग्लेन फिलिप्स पनि त्यो विश्वकप खेलेका थिए ।
२०१६ मा न्यूजिल्याण्डविरुद्ध खेलेका नेपाली खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख अहिले नेपालको सिनियर टोलीका महत्वपूर्ण सदस्य हुन् । सोही टोलीमा रहेका सन्दीप लामिछाने लामो समयसम्म नेपाली सिनियर टोलीका प्रमुख सदस्य रहे र अहिले उनी निलम्बित छन् ।
Facebook Comment