दाउद इब्राहिमको नामबाट अयोध्याको राम मन्दिर उडाइदिने धम्की !

डिसी नेपाल
८ माघ २०८० १२:४३

काठमाडौं । आज अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम हुँदैछ । यसको पूर्वसन्ध्यामा बिहारको अररिया जिल्लामा एक व्यक्तिले ११२ मा फोन गरेर दाउद इब्राहिमको नाम लिएर धम्की दिएपछि हल्लाखल्ला भयो । उनले आफू छोटा शकील भएको बताउँदै २२ जनवरीमा अयोध्याको राम मन्दिरमा बम विस्फोट हुने धम्की दिए ।

डायल ११२ को टोलीले तुरुन्तै जिल्लाका उच्च अधिकारीलाई जानकारी गरायो । एसएसपीको निर्देशनमा प्रहरीले फोन गरेर धम्की दिने व्यक्तिको मोबाइल नम्बर निगरानीमा राखेर उसको स्थान पत्ता लगाएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर अभियुक्तलाई पक्राउ गरेको थियो ।

अभियुक्तको नाम इन्तेखाब आलम हो । उनी अररियाको पलासी थाना क्षेत्रको बलुआ कालियागञ्ज गाउँका बासिन्दा हुन्। प्रहरी हिरासतमा सोधपुछ गर्दा उनको कुनै आपराधिक इतिहास नभएको खुलेको थियो ।

अररियाका प्रहरी उपरीक्षक अशोक कुमार सिंहले भने, “आरोपी इन्तेखाब आलमले जनवरी १९ मा ११२ नम्बरमा डायल गरेका थिए जुन नम्बरमा नागरिकहरूले आपतकालीन मद्दत लिन सक्छन्। उनले आफ्नो नाम छोटा शकील भएको दाबी गरे।” छोटा शकील दाउद इब्राहिमको नजिकका सहयोगी हुन्।”

उनले २२ जनवरीमा अयोध्याको राम मन्दिरलाई विस्फोट गराउने धम्की दिएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरीले अभियुक्तको लोकेशन ट्रेस गरी उनलाई पक्राउ गर्यो। प्रहरीका अनुसार उनको कुनै आपराधिक रेकर्ड छैन, तर मानसिक रूपमा अस्थिर देखिन्छ।

यस विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै पलासी प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षकले बताए । अभियुक्तको मोबाइल फोन पनि बरामद गरिएको छ । विस्तृत अनुसन्धान भइरहेको छ । उनको अन्य व्यक्तिसँगको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको छ ।

उनले भने, ‘प्रहरीले फोन पाएलगत्तै साइबर सेलमा विवरण आदानप्रदान गरेको थियो। जुन मोबाइलबाट कल गरेको थियो त्यो मोबाइल नम्बर उनको बुबाको नाममा दर्ता भएको पाइयो। आवश्यक परेमा अभियुक्तका बुबालाई पनि सोधपुछ गर्न सकिन्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *