तीर्थाटन

अयोध्या, वाराणसी र गया

बंशीकुमार शर्मा
९ माघ २०८० ११:०७

“एष्टब्या वहवः पुत्रा वहोकोज्यी गयां व्रजेत् ।
यजेत वाश्वमेधेन नीलं वा वृषमुत्सृजेत् ।।”

हिन्दु धर्मशास्त्र अनुसार पितृहरुले यो कामना गर्दछन् कि हाम्रो कुलमा यस्तो पुत्र जन्मोस् जसले काशि गयामा गएर श्राद्ध तर्पण गरोस् । यस्तो पवित्र वाक्यलाई हृदयगंम गरि स्वर्गीय पिता पितामह सवैकुलको मोक्षार्थ बि.सं २०७० साल चैत्र ११ गते हाम्रो परिवार लगायत ६० जना जति दाङ तुलसीपुर देखि यात्रा आरम्भ गरेका हौं ।

हाम्रो यात्रा अयोध्या, प्रयागराज, बिन्दुवासिनि भगवति वनारस, काशि, पुना र गयाकोे दर्शन गर्ने, बाटोमा पर्ने अन्य देवस्थलको भ्रमण र दर्शन एवम् बाटोमा पर्ने अन्य पर्यटकीय स्थलको पनि अवलोकन गर्ने थियो।

यस यात्रामा ठुली आमा तीलादेवि उपाध्याय, ज्यै (आमा) शाबित्रादेवी उपाध्याय दाई प्रदीप कुमार शर्मा, भाउजु ललिता देवि शर्मा म वंशीकुमार शर्मा, मेरी श्रीमति रेखा गौतम,भाई पूर्ण प्रसाद शर्मा भाइ बुहारी रुपा गौतम र भाइका छोरा प्रवेश छोरी प्रशंसा साना भएकालेसंगै गएका थिए।

अर्को समूहमा हाम्रै भाइ गोत्यार दाई बामदेव गौतम र भाउजु शारदा गौतम, दाइ गणेश गौतम र भाउजु बिमला गौतम, भाइ तीर्थराज गौतम र बुहारी तेजा गौतम र तीर्थराजकी छोरी रञ्जु गौतम काका बसन्त गौतम र काकी महेश्वरा गौतम, दाइ हरिहर गौतम र काका वसन्त गौतमकि स्यानीआमा र सानावा हुनुहुन्थ्यो ।

त्यसैगरी अर्काे बसमा सल्यान र दाङ दुधरासका तीर्थयात्री हुनुहुन्थ्यो। यात्रालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले खान बस्नको लागि आ–आफ्नो समूह बनाएका थियांै । सबैको उद्देश्य एउटै थियो यात्रा अवधि ज्ञान गुनका कुरामा व्यतित भयो । सबैको ईच्छा भगवानको दर्शन र नयाँ ठाउँको अवलोकन गर्न पाइने अभिलाषाले भरिपूर्ण थियो।

दाङ तुलसीपुर देखि अमेलीया हुँदै दिउसो २ बजेतीर नेपालगञ्ज जमुना नाकामा पुग्यौं, त्यहाँ बाट सबैले आ–आफनो सामान बोकेर मर्यादापुरुष भगवान श्री रामचन्द्रको जन्मभूमि भारतको अयोध्यामा जाने उद्देश्यले भारतको रुपैडियासम्म रिक्सा चढेर गयौ । रुपैडियामा समयमै यातायतको व्यवस्थापन हुन नसकेका कारण बेलुका ५ बजे तिर त्यहाँवाट बहराईच गोण्डा हुँदै राती १२ बजे भगवान रामचन्द्रको जन्मभूमि पुगियो ।

त्यस अयोध्या नगरिको हनुमान मन्दिरको धर्मशालामा बास बसियो । रघुवंशीय राजा भगवान रामचन्द्र र ऐतिहासिक अयोध्या नगरको चर्चा परिचर्चा गर्दै रात बितेको पत्तै भएन । १२ गते बिहान नित्यकर्मको लागि सरयु गंगामा गएर पुजा–अर्चना गोदान तर्पण गरि संकट मोचन भगवान हुनुमानको दर्शनकालागि हनुमानगढि मन्दिरको दर्शन पुजा आजा ग¥यौ। अयोध्या शहरको उच्चो ठाउँमा हनुमानको भव्य मन्दिर रहेछ।

भगवान रामचन्द्रका दूत संकटमोचन भगवान हनुमानको दर्शन गरिसकेपछि भगवान रामचन्द्रको जन्मभूमिको दर्शन गर्ने अवसर मिल्यो । ऐतीहासिक शहर अयोध्या सरयु नदीको किनारमा अवस्थित प्राचीन सूर्यवंशी राजाहरुको राजधानी थियो।

अयोध्या समस्त हिन्दूमात्रको लागि उच्चतम आस्थाको केन्द्र रहि आएको छ । सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो । अयोध्याका आठ नाम छन् हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता। यो पवित्र प्राचीन सप्तपुरीमध्ये पर्दछ । अयोध्या, अवन्ती या उज्जैन, काञ्ची, द्वारिका, काशी, माया या हरिद्वार र मथुरालाई प्राचीन सप्तपुरी मानिन्छ।

मुगल बादशाह बाबरको पालामा सन् १५२७ तिर अयोध्यास्थित रामजन्मभूमी मन्दिर तोडफोड गरी मस्जिद निर्माण गरियो । स्थानीय श्रद्धालुले संरक्षणको कोशिश त गरे, तर रामजन्मभूमिमा मस्जिद ठडियो । अयोध्याको नाभीमा स्थित रामजन्मभूमिमा मस्जिद खडा हुँदा समस्त हिन्दू प्रजामा अत्यन्त निराशा फैलियो, आफ्नै अगाडि आफ्नो अटल आस्थाको केन्द्रमा अर्कै धर्मसंग सम्बन्धित धरोहरको स्थापना पीडादायी थियो।

यो भौतिक संरचना त तयार भयो, तर जनतामा आस्थाको धरोहर ढलेन, हिन्दु धर्मावलम्वीहरु विसम परिस्थितिमा झन्–झन् रामभक्त हुँदै गए । रामजन्मभूमि र बावरी मस्जिदका विचमा विवाद अनवरत रुपमा चली रह्यो । अंग्रेजको शासनकाल देखि नै विभिन्न मुद्दा पर्दै रहे, तर टुंगो लागेन।

हिन्दूहरु कुनै पनि हालतमा बावरी मस्जिदको ठाउँमा राम मन्दिरको पुर्नस्थापनाको लागि अभियान चलाउँदै गए, अदालतले मुद्दाको किनारा लगाउन सकेन। यस्तैमा आजभन्दा छब्बीस वर्ष अघि सन् १९९२ डिसेम्बर ६ तारिखका दिन हिन्दू युवाहरुको ठूलो जमातले बावरी मस्जिद तोडिदियो।

अहिले विवादित स्थान भग्न अवशेषको रुपमा रहेको छ । राम जन्मभूमिको दर्शन गर्न चाहने लाखौँ लाख भक्तजनहरु अत्यन्त कडा सुरक्षाविच त्यही भग्न अवशेषको दर्शन गरेर अस्थायी रामचन्द्र भगवानको मन्दिरको दर्शनमा चित्त बुझाउनु पर्दछ । लगाएको लुगा बाहेक कुनै सामान लिएर जान पाइन्न, चार ठाउँमा कडा चेकिंङ हुन्छ, त्यो इलाका कमान्डो दस्ताको सुरक्षा घेराभित्र रहेको छ । तथापि आस्था र श्रद्धामा कुनै कमि आएको छैन।

यहाँका मुख्य स्थानहरुमा रामजन्मभूमि, हनुमानगढी, नागेश्वरनाथ, सरयु नदी तट, छाउनी बाल्मिकी भवन, कनक भवन, छोटी देवकाली आदि पर्दछन् । यहाँ असंख्य मन्दिर र अखडाहरु छन्, जहाँ सामान्यतया आवास र प्रसादको व्यवस्था हुन्छ।

अयोध्यामा धेरै मठ मन्दिरमा दिनको एक छाक खाना निशुल्क दिने चलन रहेछ। खाना बाड्ने बेलामा जो कोही पनि लाइनमा बसेमा बिना भेदवाद खान पाइदो रहेछ । अयोध्यामा केही सुपथ मूल्यका धर्मशाला पनि छन्, तर ठूला होटेल छैनन् । अयोध्या नगरभरि जताततै बाँदरको उत्पात देख्न पाइन्छ।

सवै घरहरुमा बाँदर पस्न नसक्नेगरी जाली राखिएको हुन्छ । धोएका कपडा जालीभित्रै सुकाउनु पर्दछ । यात्रुहरुलाई झोला, फलफूल र सरसामान जोगाउन हम्मे–हम्मे पर्छ । तर भावनात्मक कारणले गर्दा बाँदरलाई लौरो देखाएर लघार्ने बाहेक कुनै कारवाही गरिंदैन । बाँदरबाट आफ्नो सुरक्षा आफै गर्नु पर्दछ। हामीले पुजा आजा दर्शन गरेर बिहानको खाना समूह समूहमा आफै बनाएर खायांै । मानिसहरु भक्तालु रहेछन्।

भगवान रामका सेवक बाँदरहरु पनि प्रशस्त रहेछन् । बाँदर र मानिसहरु मिलेर बसेको शहर अयोध्या फेरी दर्शन गर्ने अभिलाषा राख्दै त्यहाँ देखि दिउसो २ बजेतिर ईलाहावाद प्रयागराज प्रस्थान ग¥यौ । यात्रामा अयोध्याको बारेमा चर्चा भजन किर्तन गर्दै सांझ ८ बजे प्रयागराज आइपुगियो । त्यहाँ धर्मशाला प्रशस्त रहेछन् । नेपाली धर्मशाला पनि रहेछ होटलहरु प्रशस्तमात्रामा रहेछन् । हामी यमुना नदीको संगममा रहेको हरि माधव धर्मशालामा वास बस्यौ त्यहाँ रहेका गुरुहरुले खान बस्नको लागि राम्रो व्यवस्था गरिदिनु भयो ।

भोलीपल्ट चैत्र १३ गते बिहानै तीर्थहरुको राजा प्रयागराजको पबित्र नदी गङ्गा, यमुना र सरस्वतीको संगमस्थल जसलाई त्रिवेणीमा स्नान मुण्डन गरे ब्रह्मपद प्राप्त हुन्छ भन्ने मान्यता अनुसार कपाल मुण्डन स्नान गरी पुजा अर्चना दान तर्पण गरेर अक्षयवट, हनुमान र ललितानामक शक्ति पीठको दर्शन पुजा अर्चना गरियो । वास्तवमा प्रयागराज तीर्थहरुको राजा रहेछ।

ऋषिहरुको तपोभूमि प्रयागराजमा जति बसे पनि समय थोरै हुदो रहेछ । मानिसले जन्मे पछि एकपटक भएपनि दर्शन गर्नुपर्ने प्रयागराजबाट १० बजे बिन्ध्याचल भगवतिको दर्शन गर्न प्रस्थान ग¥यौ । बिन्ध्याचल बगैचामा खाना बनाएर खायौं । वास्तवमा खाना आफै बनायर खादा यात्रामा धेरै रमाईलो हुदोरहेछ । समूह समूह बनाएर खाना पकाएको दृष्य संझदा अहिले पनि आनन्द आउछ ।

गाँउ बस्तीको मध्यभागको उच्च स्थानमा बिशाल बिन्ध्यवासिनी भगवतिको मन्दिर छ । सिंहमा बिराजमान करिव ३ फिट अग्लो भव्य मुर्ति छ । कौशिकी देवी लाई नै बिन्ध्यवासिनी भगवति भनिन्छ । मन्दिरको पश्चिमतिर बिशाल आगनमा बाह्र भुजा भएको देवीको मुर्ती छ भने दक्षिणपट्टि महाकालीको मुर्ति छ। भक्तजनहरुले मन्दिरको प्राङगणमा दुर्गा सप्तसति पाठगर्दा रहेछन्।

भागवतमा उल्लेखित १०८ शक्तिपीठ मध्ये बिन्ध्याबासिनीको प्रमुख स्थान भएको पाईन्छ । बिन्ध्यावासिनि भगवतिको दर्शन गर्नाले शत्रु नाश हुने, यश, किर्ती, धन, दौलत बढ्ने, स्त्रीपुत्रादिबाट सन्तोष हुन्छ भन्ने धर्म शास्त्रमा उल्लेख गरिएको छ । हामीहरुले बिन्ध्यावासिनी भगवतिको दर्शन गरि करिव २ बजे तिर वनारसको लागि प्रस्थान ग¥यौ । ऐतिहासिक धार्मिक शहरको बारेमा पढन र सुन्न पाईएको थियो आज प्रत्यक्ष अवलोकन गर्न पाईने भयो भन्दै खुसिका साथ वनारसको वारेमा चर्चा परिचर्चा गर्दै साँझ ७ बजे तिर वनारस पुगियो।

त्यहाँ प्रशस्त मात्रामा धर्मशाला, होटेलहरु रहेछन् । नेपाली धर्मशाला पनि रहेछ । आफनो गच्छे अनुसार शुल्क तिरि कोठा पाईने रहेछ । हामि चाँहि पुण्यशिला भागिरथी गङ्गाको तटमा अवस्थित राजघाट धर्मशालामा बस्यांै । वरणा र असि नामका नदीका विचमा अवस्थीत शहर भएकोले वाराणसी नाम भएको रहेछ।स्कन्ध पुराणमा वनारसका दश नाम उल्लेख गरेको छ । काशि, वाराणसी, अविमुतm, आनन्दकानन, महाश्मशान, रुद्रावास, काशिका, तपस्थली, मुक्तिभूमि, क्षेत्रपुरी, शिवपुरी, र त्रिपुरारिराज नगरी भनिन्छ ।

काशिको वारेमा नारदपुराण लगायत बेद उपनिसद, रामायण, महाभारत जस्ता धेरै ग्रन्थहरुमा वराणसीको महत्वको बारेमा उल्लेख गरिएको छ । सास्वत मुक्ति दिने ऐतीहासिक धर्मस्थल वाराणसीमा बिश्वनाथ, कालभैरव, सङकटमोचन, ढुण्डिराज गणेश, दुर्गा मन्दिर, पिशाचमोचन, दुर्गाकुण्ड स्थित मानस मन्दिर त्यसैगरी मणिकर्णिका घाट, पञ्चाङग घाट, दुर्गाघाट, राजघाट, दशाश्वमेघघाट, हरिश्चन्द्रघाट आदि अनगिन्ति मठ मन्दिर र घाटहरु छन् ।

‘न्याय हराए गोर्खा जानु, धर्म हराए काशि जानु’ । जस्ता पबित्र वाक्यले पुजीत भूमि वाराणसीमा चैत्र १४ गते भागिरथी गङ्गामा स्नान गरी मणिकर्णिकाघाटमा श्राद्ध तर्पण गर्‍यौं । मनिकर्णिकाघाटमा श्राद्ध तर्पण गर्नाले पितृ मोक्ष हुने मान्यता छ । मानिसको मृत्यु भएपछि भागरथी गङ्गामा अन्तिम संस्कार गर्ने यदि अन्तिम संस्कार गर्न संभब नभएमा अस्तु लगेर सेलाउने चलन अहिले पनि बिद्यमान छ । यस पुण्यभूमिमा देह त्याग गर्नाले प्राणी मुक्त हुने उसले जीवन मरणरुपी संसारमा फेरी प्रवेश गर्नु नपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैले यसलाई अविमुक्त क्षेत्र भनिन्छ । अझै पनि धेरै भक्तजनहरुले अन्तिम ईच्छा स्वरुप काशिमा देह त्याग गर्ने मनसाय प्रकट गरेको पाइयो । भगवान शङ्करले देह त्याग गर्ने समयमा तारक मन्त्र (राम राम) सुनाउदै घुम्नु हुन्छ । जसवाट जीवतत्व ज्ञान प्राप्त हुन्छ र उसको अगाडि ब्रह्म स्वरुप प्रकाशित हुनजान्छ । ब्रह्मज्ञान प्रकाशित हुने भएकोले यस क्षेत्रलाई काशि भनिएको हो।

संसारको प्राचीन नगरी वाराणसीमा बाबा विश्वनाथको मन्दिर स्वर्णकलश गजुर (सुनको गजुर) छ । मन्दिरको सम्मुख सभामण्डप छ । पश्चिममा दण्डपाणिको मन्दिर, ठूलो घण्ट चारैतीर देवीदेवताका मुर्ति, प्राङगणमा सौभाग्य गौरी, गणेश, गौरी शङ्कर, अविमुक्तेश्वर र सत्यनारायणको मन्दिर छ ।

द्वादश जोतिर्लिङ्गमा विश्वेश्वर लिङ्ग पर्छ सधै दर्शनार्थीहरुको भीड लाग्ने बिश्वनाथ मन्दिरको दर्शन गर्न हामीलाई पनि ज्योतिर्लिंगमा अढाइ घण्टा लाममा उभिएर मात्र दर्शन गर्न सकियो । लाइनमा बस्नु नै भगवानको अराधाना गर्नु हो ।

बिश्वनाथ बाबाको दर्शन गरेपछि नजिकै रहेको चाँदिको सिंहासनमा अन्नपूर्ण भगवतिको मन्दिर र ज्ञानवाणिकूप छ । यहाँका मानिसहरु धार्मिक प्रवृत्तीका रहेछन् । नेपालीभाषामा प्रकाशित् भएका प्रशस्त मात्रामा धार्मिक पुस्तकहरु पाईदो रहेछ । मैले पनि निर्णय सिन्धु, धर्मसिन्धु, जस्ता अमूल्य पुस्तक किने भने आमा भाउजुहरुले प्रसाद किन्नु भयो । त्यसदिन बिहान धर्मशालामा खाना खाएर सवैको सल्लाह अनुसार पुनपुनाकोलागि पाँच वजेतीर प्रस्थान ग र्‍यौं।

भारतको बिहार राज्यको वारुली नगरमा बास बसि भोलिपल्ट बिहानै पुनपुना नदीको नामबाट बसोबास भएको सानो सहर पुनपुना पुगियो पुनपुना नदीमा स्नान ग र्‍यौं । त्यहाँ आमा नहुनेले श्राद्ध गर्नु पर्ने र आमा हुनेले आमालाई बोकेर नदी त¥याउनु पर्ने चलन रहेछ मैले पनि दुइवटै आमा ज्यै र ठुली आमालाई पालैपालो नदी त¥याए । आमा नहुनेले श्राद्ध तर्पन गर्नु भयो त्यहाँ वाट गयाजीकोलागि दश वजे प्रस्थान गर्‍यौं ।

हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल गयामा १वजेर तीस मिनेटमा आईपुगियो । गयामा प्रशस्तमात्रामा धर्मशाला, होटेल पाइन्छन् नेपाली धर्मशाला पनि रहेछ । हामी चाँहि वंगाली धर्मशालामा बास बस्यौं । त्यसदिन धार्मिक शहर गयाजीको अवलोकन ग¥यौ भने त्यहाँ रहेका नेपालीहरुसंग भेटघाट ग र्‍यौं त्यहाँ रहेका सन्त महन्तको सतसंगमा सहभागि हुने अवसर पाईयो ।

भोली पल्ट चैत्र १६ गते बिहान फाल्गु नदीमा गएर श्राद्ध गर्‍यौं। फाल्गु नदी गया शहरको पूर्वतर्फ रहेछ । वर्षायाममा मात्र प्रशस्त मात्रामा जल प्रवाह हुदो रहेछ । अरु समयमा वालुवाको बिशाल बगर मात्र देखिन्छ । श्राद्ध गर्दा आवश्यक पर्ने जल सामन्य खोल्सो पारेपछि आउदो रहेछ । त्यहि जललाई प्रयोग गरे श्राद्ध तर्पण गर्नसकिन्छ । हातले खोर्सिदा पानि आउने भएकोले हामीसंग गएका केटाकेटिहरुले रमाईलो मानेर पानि निकालिरहेका थिए।

पौराणिक मान्यता अनुसार मरिच ऋषिले आफनी पत्नी धर्मावतिलाई श्राप दिएका कारण पानी सवै जमिन भित्रै बाट दबिएको हो भन्ने भनाई छ । धर्मराजकी छोरी धर्मावति मरिच ऋषिकि श्रीमति हुन् ।

धर्मावति पतिको सेवामा ततलीन् रहेको समयमा उनका सुसुरा ब्रह्माजी एकाएक टुप्लुक आईपुगेछन् । जुरुक्क उठेर ससुराको स्वागत दर्शन गर्न गइछिन, ऋषि मरिचले यथार्थ कुरा नबुझेर आफ्नो आज्ञा बिना बाहिर गएकाले आफ्नो अपमान संझेर धर्मावतीलाई शीला भएस् भन्ने कठोर श्राप दिएछन् । श्रापले दुखित धर्मावतिले हजारौ वर्ष सम्म भगवान बिष्णुको तपस्या गरिन् ।

भगवान प्रशन्न भएर तिम्रो शिलामा समस्त देवताहरुको वास हुनेछ र यो शीला देवतुल्य हुनेछ भनि वरदान दिनु भयो । गया असुरनाम गरेको दैत्य भए पनि सज्जन थियो। उसले निस्वार्थ भावनाले भगवान बिष्णुको तपस्या ग¥यो । तपस्याबाट प्रशन्न भएका भगवान बिष्णुले तिम्रो शरिरमा सम्पुर्ण तीर्थहरुको वास हुनेछ । जसले गर्दा तिम्रो शरिर अत्यन्तै पबित्र हुनेछ भन्ने बरदान दिनु भयो ।

उसले बरदानको प्रवाह नगरि सधै तपस्यामा नै लिन भयो जसको कारण तिनलोक नै डगमगाउन लागे पछि भगवानहरु भयभित भएर बिष्णुले ब्रह्माजीलाई गयासुरको देहमाथि यज्ञ गर्न आग्रह गर्नु भयो । गयासुर पनि खुसि भयो उसको शरिर माथि ब्रह्माजीले यज्ञ गर्नु भयो।यज्ञ सकेर जान लाग्दा गयासुर फेरि उठ्न लागेको देखेर भगवानहरुले धर्मावतिको बिशाल शीलालाई राखि दिँदा पनि उसलाई हल्लाउदै गया असुर उठन खोजेको देखेर भगवान बिष्णु गजाधरको नामले उक्त शिलामा आफै बस्नु भयो त्यसपछि असुर कहिलै उठ्न खोजेन।

गया नाम गरेको असुरको देहले पुरै गयालाई पबित्र पारेको छ । त्यसैले यस शीलामा बसेर श्राद्ध तर्पण गर्नाले समस्त पितृहरु अक्षय एवम परमधाम जान्छन् भन्ने शास्त्रीय मान्यता छ । यसलाई नै फाल्गु नदी भनिन्छ श्राप कै कारण पानि दविएर गएको बिश्वास गरिन्छ। फाल्गु नदीको किनारमा बिशाल विष्णुपद मन्दिर छ । अष्टकोण वेदिमा भगवान बिष्णुका चरण चिन्ह (बिष्णुका पादुका) छन् बहिरतिर सभामण्डप छ । गरुड, जगन्नाथ, लक्ष्मीनारायणका मुर्तिहरु छन् । यहा पनि श्राद्ध तर्पण गर्ने चलन छ ।

ब्रह्मसरोवरको नजिकै अक्षयबट छ । चारैतिर पर्खालले घेरेको आगनको बिचमा वटबृक्ष छ । उत्तरतर्फ वटेश्वर महादेवको मुर्ति छ, जुन तीनलोकमा प्रख्यात छ भनेर यस वृक्षको महिमाका बारेमा गयामाहात्म्ये र महाभारतमा उल्लेख गरेको पाईन्छ ।

यहाँ श्राद्ध तर्पण गर्नाले अक्षय भएर जानेछ भन्ने शास्त्रीय मान्यता रहेको छ । गयामा गदाधर बिष्णु, प्रेतशीला, ब्रह्मकुण्ड, अक्षयबट जस्ता पबित्र स्थल भएको ऐतिहासिक धार्मिकस्थलमा नेपाली लालमोहरिया पण्डाहरुको हुकुमी अझै पनि चल्दो रहेछ ।

हुनतः वाराणसी प्रयागराज लगायत भारतका अधिकांश धार्मिकस्थलमा नेपाली लालमोहरिया पण्डाको अनुमति बिना अरुले श्राद्ध तर्पण गराउन पाउँदो रहेनछ । नेपाली पनि शक्तिशाली भएको देखेर आफू नेपाली भएकोमा गर्व लाग्यो ।

त्यसदिन पुजा आजा गरी । त्यहाबाट करिव १० किलो मिटर उत्तर पूर्व भगवान् बुद्धले निर्वाण प्राप्त गर्नुभएको बोधगया गयौं । बोधगया धार्मिक दृष्टिले मात्र होइन, पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छरु। सम्राट् अशोकको राज्यकालमा निर्मित संरचना र त्यसभन्दा पनि पुरातात्विक सम्पदालाई संरक्षण गरिएको हेर्दा हाम्रो लुम्बिनी र तिलौराकोटको सम्झना भयोरु।

बिशाल पिपलको बृक्ष (बोधिबृक्ष)रुख मुनि बसि गौतम बुद्धले तपस्या गरी ज्ञान प्राप्त गरेका हुनाले यहाँ भगवान गौतम बुद्धको बिशाल मुर्ति छ । त्यहाँ बिभिन्न देशका भक्तजनहरु आउदा रहेछन् । अति रमणिय दर्शनयोग्य ठाँउ बोधगयामा दर्शन पुजाआजा गरी नेपाल फर्कन १६ गते करिव ५ बजेतिर त्यहाँवाट प्रस्थान गर्‍यौं।

भारतको बिहार राज्यका विभिन्न नगरहरु पार गर्दै भारतको उत्तर प्रदेश राज्यका वनारस, अयोध्या, गोण्डा हुदै १७ गते साँझ ५ बजे भारतको रुपैडिहा बजारमा आइपुगियो । त्यहाँ किनमेल गरेर रिक्सावाट नेपालको नेपालगञ्ज शहरमा राति ८ बजे आईपुगियो । कोहलपुर अमलिया हुँदै दाङ तुलसिपुर राति १ बजे आइपुगेका हाँै । आठ दिनको पारिवारिक तीर्थयात्रा अवस्मरणीय भयो ।

यात्रा अवधिभर भगवान र पितृका कृपाले हामीहरु गन्तव्यमा सकुशल आइपुग्यांै । देवी देवताको पुजा अर्चना, उपसना र पितृ मोक्षकालागि श्राद्ध तर्पण स–परिवार भएर गर्न पाएकोमा मैले आफूलाई भाग्यमानी भएको संझेको छु ।

यसरी हेर्दा हरेक तीर्थयात्रा अन्य यात्रा वा भ्रमण भन्दा अत्यन्त महत्वपूर्ण हँुदो रहेछ । यस्तो यात्रामा न कुनै मानसिक थकावट नभई स्वच्छता र स्फूर्ति प्राप्त हुँदो रहेछ । जीवन केवल ज्ञानका लागि हो भन्ने पवित्र भावना जार्गित हँुदो रहेछ । न कुनै स्वार्थ, लाभको चाहना नभई विछट्टै आनन्द र महत्वबोध हुँदो रहेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *