समाजको स्वरुप निर्धारणमा मानवीय स्वभावको भूमिका
आफैंलाई चिनौं, अनि अरुहरुलाई पनि चिनौ मानिस के हो? पहिले त आफैंलाई चिन्ने प्रयास गरौं। मानिसको भावना चाहना र इच्छाहरु अनगिन्ती हुन्छन्।
मानिसहरुको भावना चाहना र इच्छाहरुलाई मध्यनजर राखी बिश्वमा विद्वानहरुले धेरै पुस्तकहरु पनि प्रकाशित गर्नुभएको छ। मैले यहाँ अलि फरक विषयमा लेख्न लागेको हुँ। मैले लेख्न लागेको कुरा मानवीय जन्मजात स्वभाव या गुणहरुको विषयमा हो।
जसको प्रभावले समाजको स्वरुप पनि निर्धारण भएको हुन्छ। जसबाट समाजको सामाजिक,आर्थिक,राजनीतिक र सांस्कृतिक स्वरुपको समेत निर्धारण हुन्छ। संसारमा भैरहेका आजसम्मको विकास, वर्ग विभाजन, दर्शनहरुको उत्पत्ति, धर्महरुको उत्पत्ति आदि सवै मानिसहरुमा भएको यीनै गुणहरुको शृजनाहरु हुन्। गुणहरु रहस्यात्मक छन्-जन्मजात र प्राकृतिक हुन्,जो यसप्रकार छन्।
-आत्मसम्मान
-असिमित भोक र अभिरुची
-लत वा वानी
-संवेदना र मनोरन्जन
माथिका यी चार मानवीय विशेषताका गुणहरू जब सकारात्मक रूपमा अघि बढ्छन् भने व्यक्तिगत र सामाजिक रूपमा पनि सकारात्मक सन्देश जान्छ। यसले समाजमा सकारात्मक भूमिका निर्वाह गर्न थाल्दछ। नकारात्मक भए नकारात्मक सन्देश जान्छ र नकारात्मक भूमिका निर्वाह गर्दछ।
यसैले व्यक्ति स्वयंले, अभिभावकले, समाजले र राज्यले व्यक्तिमा हुने यी गुणहरूलाई बुझेर समाजमा हरेक नागरिकलाई सकारात्मक दिशातर्फ डोर्याउन हरदम प्रयत्न गर्नुपर्दछ भन्ने मलाई लाग्दछ।
-१ आत्मसम्मान :
मानिस स्वभावैले आत्म सम्मान चाहने प्राणी हो। जब आत्मसम्मानमा ठेस लाग्छ। उसलाई यो कुरा पाच्य हुँदैन। ऊ रिसाउँछ। आफूलाई सम्मान नगर्नेलाई उसले पनि सम्मान गर्दैन। यो मानवीय गुण हो। ऊ चोर होस्, डाकू होस्, शोषक होस्, विश्वास घात होस् , भद्र होस् वा सबैका लागि गुणकारी काम गर्ने समाज सेवक होस् यसले कुनै अर्थ राख्दैन।
जे जसो भएतापनि समाजका प्रत्येक सदस्यमा आत्मसम्मानको भावना हुन्छ। यो बच्चामा नहुने वा जवानमा मात्र हुने वा वृद्धमा मात्र हुने कुरा पनि होइन। यो मानवीय रहस्य हो। मानवीय विशेषता हो र जन्मजात गुण हो। मानवमा अन्तरनिहित मानवीय गुण हो।
आत्मसम्मानका लागि नै मानिसहरू पढाइलेखाइ गर्छन् र गराउँछन्। आत्मसम्मानको अभिरुचीकै कारण दुनियाँको आजसम्मको प्रगति भएको हो। आत्मसम्मानकै लागि मानिस धन दौलत आर्जन गर्छन् । भ्रष्टाचार घुसखोरी र शोषण पनि यहि अभिरुचीको नकारात्मक रूप हो।
जुन समाजमा धनदौलत अथाहा हुने मानिसलाई सम्मानको नजरले हेरिन्छ। त्यो समाजमा मानिस धन कमाउनका लागि जेसुकै कर्म गर्न तयार हुन्छन् नै। यसका लागि नकारात्मक तरिकाले कमाएको सम्पत्तीबाट सम्मान नपाइने वातावरण राज्य र सरकारले सिर्जना गर्नुपर्यो तब मात्रै समाजले स्वतः यस्तालाई सम्मान गर्न छोड्दछ।
यसबाट भ्रष्टाचार न्यूनीकरण हुन पनि मद्दत पुग्दछ। तर यसो गर्दा राज्यप्रमुख वा राज्यका हर्ताकर्ताहरू आफूचाहिँ भ्रष्टाचार गर्ने तर अरूलाईचाहिँ नगर्नु भन्ने भएमा जतिसुकै दण्ड चलाए पनि भ्रष्टाचार र घुसखोरी नियन्त्रण हुँदैन। यो वावु आफूले धूम्रपान गर्दै छोराछोरीलाई धूम्रपान नगर्नु भनेर अर्ती दिएसरह हो । यसैले अभिभावक, विद्यालय!,सरकार र राज्यले समेत आफू नमुना भएर देखाउन सक्नुपर्दछ।
समाजमा सकारात्मक कामलाई वढावा दिन मानिसलाई स्याबासी दिएर, प्रशंसा गरेर, खादा माला ओढाएर सम्मान दिइन्छ। यसबाट व्यक्तिमा आत्मसम्मानको भाव जागृत हुन्छ र अझ धेरै समाजका लागि सकारात्मक र राम्रा राम्रा काम गर्न मानिस लालायित हुन्छ।
यस्तै साना वालवालिकालाई राम्रोसँग पढेको र लेखेकोमा स्यावासी दिनुहोस्, प्रशंसा गर्नुहोस् , जसबाट उसको आत्मसम्मान जागृत हुन्छ। बालकलाई अझै राम्रो गर्न प्रोत्साहन मिल्छ।
राम्रो भए पनि नभए पनि राजनीति गरिरहने राजनीतिक चरित्रका लत मानिसका सकारात्मक र नकारात्मक प्रवृत्तिको संगम हो। जनसेवाको लागि भनेर मानिसले राजनीति सुरु गर्दछ। जन सेवा भए पनि नभए पनि यसलाई ऊ छोड्न सक्दैन। सफल हुनका लागि राजनीति गरिन्छ । सफल भए पनि वा नभए पनि मानिसलाई लागेको राजनीतिक चासो र नशा छुट्दैन। यसैले अभिरुची असीमित छ।
मानिसमा भएको यही आत्मसम्मानको भावनालाई ख्याल गरेर शिक्षाशास्त्रमा बालबालिकाहरूमा पढाइ लेखाइप्रति अभिरुची जगाउने काम गरिन्छ। यसैले कुनै पनि मानिस सफल हुनु वा असफल हुनुमा मानिसमा रहेको यहि रहस्यात्मक मानवीय गुण चिनेर व्यवहार गर्न सक्ने क्षमतामा पनि त्यतिकै भर परेको हुन्छ।
मानिसलाई ज्यादा विरोध गरेमा ऊ पीडित र निरास हुन्छ। ऊ अझ विद्रोही बन्न पनि सक्दछ। यदि कुनै मानिसले ज्यादा प्रशंसा पाएमा पनि ऊ फुर्किन्छ, टुपिन्छ र चाकरी खोज्ने भएर निस्कन्छ। यो धेरै खाएमा अपच हुन्छ भनेजस्तै हो। यसैले आलोचना र प्रशंसालाई पनि सन्तुलनमा राख्न सक्नुपर्दछ। यो यस खाले मानवीय गुणको नकारात्मक पाटो हो भन्न सकिन्छ।
-२ असीमित अभिरुची वा भोक :
मानिस एक पेट खाएर अघाउँछ। बाच्नैका लागि ज्यादा आवश्यकता त पर्दैन। तर, कमाउने अभिलाषा भने असीमित हुन्छ। न उसले कमाएको जति सबै मर्दा पनि सँगै लिएर जान पाओस्। तैपनि हजार कमाउने मानिसलाई दुई हजार कमाउन मन लाग्छ।
दुई हजार कमाउन मन लाग्नेलाई पाँच हजार कमाउन मन लाग्छ। यसैगरी अरवौं कमाउँदा पनि उसलाई कमाउने लालसा र भोक मर्दैन। बस्नका लागि एउटा घर भए त पुगिहाल्छ। तर मानिस दुई चार वटा घर बनाएर पनि थाक्दैन।
धन पैसाको मात्र कुरा नभएर अन्य भौतिक बस्तुहरूमा पनि मानिसको लालसा त्यतिकै बढेर जान्छ। हुन त ऊ जन्मँदा नांगै आएको हो। नांगै जानुपर्दछ तर यो कुरा ऊ बुझ्दैन। यसैले धनदौलत प्राप्त गर्न मानिस जेसुकै कर्म गर्न पनि पछि पर्दैन।
एउटा उद्योग सञ्चालन गर्ने उद्योगपतिले आवश्यकताअनुसार हजारौँ मजदुर राखेर सामानहरू उत्पादन गर्न सक्दछ। उद्योगबाट उसले ज्यादाभन्दा ज्यादा मुनाफा खोज्दछ। उद्योगपतिले आफूलाई आवश्यक पर्नेभन्दा कैयाँ गुणा बढी नाफा गर्दछ। रातो दिन काम गर्ने मजदुरलाई परिवार पाल्न पनि धौ धौ हुने पारिश्रमिक मात्र उसले दिन खोज्दछ।
यही मानिसको असीमित धन आर्जन गर्ने चाहानाको कारण समाजमा अन्तरविरोधहरूको जन्म हुन्छ। मार्स्क्सवादको जन्म पनि यहि मानवीय भोक असीमित इच्छा र अभिरुचीको उपज हो। उदाहरणका लागि कुनै उद्योगमा एउटा सामान उत्पादन गर्न ५० रुपैयाँ खर्च भयो। उसले त्यो सामान एक हजार रुपैयाँमा बिक्री गर्यो।
बाँकी रहेको ९ सय ५० रुपैयाँ त्यो अतिरिक्त मुनाफा हो। यही मानवमा भएको असीमित आर्जन गर्ने गुणकै कारण माक्र्सवादको जन्म भयो र अतिरिक्त मूल्यको सिद्धान्त पनि लेखियो।
मानिसको असीमित अभिरुचीका कारण समाजमा नकारात्मक मात्र होइन कि सकारात्मक अवस्थाको पनि सिर्जना भएको छ। यदि मानिसमा यस्तो अभिरुची नहुने हो भने नयाँ नयाँ आविष्कारको ढोका पनि बन्द हुन्थ्यो।
संसार आधुनिक रूपमा यसरी विकास हुने थिएन। मानिस अन्तरिक्षमा पुग्न सक्ने थिएन। मोटर गाडी रेल र हवाइजहाजको आविष्कार हुने थिएन। प्रगतिको ढोका ठप्प हुन्थ्यो। यही संसार बदल्ने योजनाका लागि प्रकृतिले मानिसलाई यो गुण वरदान स्वरूप दिएको पनि हो।
यो संसार र मानिसको चौतर्फी विकासका लागि पनि मानिसमा यो गुण विद्यमान हुन परेको हो। कविता लेख्ने मानिस लेखिरहन्छ। साहित्यमा लाग्ने मानिस यसरी नै लागिरहन्छ। ऊ कहिल्यै थाक्दैन।
उसको अभिरुची पनि कहिल्यै पूरा भएकै हुँदैन। यसैकारण त ठूलाठूला खण्ड काव्यहरू र रामायण माहाभारतजस्ता साहित्यिक पुस्तकको जन्म भएको हो। भानुभक्त, मोतिराम भट्ट,लक्ष्मीप्रसाद देवकोटा रविन्द्रनाथ टैगोर, सेक्सपियरजस्ता साहित्यकारको जन्म पनि यहि अभिरुचीकै कारण भएको हो।
विश्वका धनाढ्य व्यक्तिहरू र नेपालमा बिनोद चौधरीजस्ता नवधनवानहरूको जन्म हुनु पनि यही असीमित अभिरुची नै हो। धन कमाउन मानिस जेसुकै कर्म गर्न तयार हुनु यसैको नकारात्मक र विकृत रूप हो । यसैले त प्रायः मानिस मर्नदेखि सधैँ डराइरहन्छ।
-३ लत वा नशा : लगातार कुनै काममा निरन्तरता दिँदा त्यसमा मानिसको लगाव, लत, वा नशा बन्न जान्छ। यसको नकारात्मक पक्ष र सकारात्मक पक्ष पनि हुन्छ। जस्तै खैनी, गुटखा, चुरोट रक्सी, गाँजा चरेशका अम्मलीले उक्त अम्मल छोड्न नसक्नु मानिसमा भएको अम्मली चरित्र वा लत हो।
सुरुमा बातावरण वा सरसंगतले मानिसले यस्तो अम्मल सेवन गर्न थाल्छ। यसपछि यो छुट्न नसक्ने लतमा परिणत हुन्छ। यस्तो लत यसरी विकास हुन्छ कि जुन समयमा यो सेवन गर्ने गरेको हो ठिक त्यही समयमा मनले त्यतैतिर आकर्षित गर्दछ। यो आजीवन नछुट्ने लतमा परिणत हुन्छ। सितिमिति यस्तो बानी छुट्दैन पनि।
बिस्तारै स्वास्थ्यमा नकारात्मक असर पर्दछ। यसैको कारण अल्पायूमै मानिसको जीवन लीला समाप्त हुन्छ। यस्तो अवस्थामा पनि मानिसको यस्तो लत छुट्दैन। यस्तो नकारात्मक अम्मली चरित्रले समाजमा अशान्ति झै-झगडा मारकाटको अवस्था पनि सिर्जना गर्दछ। चोरी डकैत तथा ज्यानको जोखिमको अवस्था पनि यसले निम्त्याउँछ।
हुन त व्यक्तिले जुन समयमा खाजा, नास्ता, खाना खाने गरेको हो त्यो समयमा भोक लाग्नु। जुन समयमा नित्यकर्म गरिन्छ त्यो समयमा उक्त कर्मका लागि इच्छा हुनु एउटा प्राकृतिक गुण नै हो।
जुन समयमा सुत्ने गरेको हो त्यो समयमा निन्द्रादेवीले पक्षाउनु यो मानिसमा भएको प्राकृतिक गुण वा लत हो। वारवारको अभ्यासको परिणाम पनि हो। यो मानिसको स्वस्थ जीवनका लागि पनि आवश्यक छ। यसैले मानिसमा हुने लतको यो सकारात्मक पक्ष भन्न सकिन्छ।
यति मात्र होइन एउटा कवीले वारवार कविता कोर्नु बारबार साहित्यको अन्य विधातिर कलम चलाउनुले पनि एउटा लतको सिर्जना गर्दछ। यही लतका कारण संसारमा ठूला ठूला साहित्यकारको जन्म भएको हो। हास्यब्यंग्यका हरिबंश र मदनकृष्ण आदि पनि उदाहरण योग्य पात्र हुनुहुन्छ।
मानिसमा हुने लतको यो रमाइलो उदाहरण हो। अभिनयकर्ता, गीतकार, चित्रकार मूर्तिकार पनि मानिसका चासो चाख र त्यसपछिको वारवारको प्रयासबाट उत्पन्न लतका सिर्जनाहरू हुन्। मानिसका अनुसन्धान र यसपछिका आविष्कार पनि मानिसका लतका परिणाम हुन् भन्न हामीलाई करै लाग्दछ।
राम्रो भए पनि नभए पनि राजनीति गरिरहने राजनीतिक चरित्रका लत मानिसका सकारात्मक र नकारात्मक प्रवृत्तिको संगम हो। जनसेवाको लागि भनेर मानिसले राजनीति सुरु गर्दछ। जन सेवा भए पनि नभए पनि यसलाई ऊ छोड्न सक्दैन। सफल हुनका लागि राजनीति गरिन्छ । सफल भए पनि वा नभए पनि मानिसलाई लागेको राजनीतिक चासो र नशा छुट्दैन। यसैले अभिरुची असीमित छ।
मानिसमा वारवार कुनै काममा प्रयास गरिरहने लतले संसार बदल्नका लागि पनि ठूलो मद्दत पुगेको छ।
-संवेदना र मनोरन्जन
मानिसमा सवैलाई उछिन्ने होड र असिमित धन आर्जन गर्ने सोच हुदा हुँदै पनि अर्को एउटा सकारत्मक गुण पनि हुन्छ। त्यो हो मानविय सम्वेदना।मामविय सम्वेदनाको कारण मानिसहरु अपवाद वाहेक कसैलाई दु:ख परे वा विपत्ती परे मन पग्लने हुन्छ।सहयोग गर्ने सहयोगी भावना हुन्छ।
यस्तै मानिस दु:खी हुन भन्दा खुसी हुन चाहन्छ।यसैले रमाइलो गर्ने,मनोरन्जन गर्ने कुरामा उस्को दिलचस्वी वडी रहन्छ। तैपनी हास्नु, रुनु, खुसी हुनु, कुण्ठित हुनु, दु:खी हुनु मानविय संवेदनाका उदाहरणहरु हुन्।
यसैले माथि दिएका मानवीय रहस्यका मानिसमा भएको जन्मजात प्राकृतिक गुण वा स्वभावले समाजको स्वरुप, संसारको स्वरुप निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।दास समाज, सामन्ती यूग र आजको पूजीवादी यूगमा समेत मानविय यी स्वभावले समाजको स्वरुप निर्धारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
माथि वर्णन गरिएका मानविय गुणहरु व्यक्ति समाज र विश्वका लागि महत्वपूर्ण छ भनेर मान्नुपर्दछ । मात्र यसको सकारात्मक र नकारात्मक पक्षलाई चिनेर व्यवहार गर्न जान्नुपर्दछ। यसका लागि व्यक्ति, अभिभावक, विध्यालय, समाज र राज्यले समेत दिलचस्पी राख्नुपर्दछ । समाज र संसार बदल्नका लागि पहिलो कदमको सुरुआत हामी आफैँबाट सुरु गर्नु आवश्यक छ।
Facebook Comment