धनगढीका नगरप्रमुख हमालको घरमा टाँसियो कालो ब्यानर
धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ। मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगर प्रमुको घरमा कालो ब्यानर टाँसेको हो।
उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि घरमा मागपत्र उल्लेख कालो ब्यानर टाँसिएको छ।
‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्,’ पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले भने।
अनुसार पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने कार्यक्रम रहेको उपाध्यायले बताएका छन्।
१५ गतेसम्म सरकारी शैक्षिक संस्था (१ देखि १२ सम्म) हरूले शुल्क फिर्ता गराउने र नीजि स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको सेवा शुल्क भन्दा बढी शुल्क हटाउनु पर्ने छ। माघ १२ गतेसम्म सम्पूर्ण सार्वजनिक कार्यालयहरूका शौचालय सफा र व्यवस्थीत गर्नु पर्ने पार्टीको माग रहेकोछ।
माघ १५ गते सम्म वडा नम्बर ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस, बास र कपासका लागि २० लाख उप महानगरले व्यवस्था गर्नुपर्ने, माघ १५ गतेसम्म छाडा पशु चौपायाहरुको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारी विद्यालय, स्वास्थ्य संस्थामा कार्यरत शिक्षक र डाक्टरहरुले नीजि ट्युसन पढाउने र नीजि क्लनिकमा व्यवसाय कार्य वन्द गर्नुपर्ने, विदेशबाट आयातीत तरकारी, फलफुल र माछा जाँच गरी आयातलाई व्यवस्थित गरिनुपर्ने आन्दोलनको कार्यक्रममा रहेको छ।
Facebook Comment