लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउनुपर्छः वर्षमान पुन

डिसी नेपाल
१४ माघ २०८० २०:१३

भैरहवा। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्।

लुम्बिनी पुगेका नेताद्वोयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका थिए। उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरूको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति गरेका पछिल्ला प्रयासहरू बारे जानकारी गराएका थिए।

पूर्व अर्थमन्त्री समेत रहेका पुन र प्रतिनिधिसभाका पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर अशोक स्तम्भ, पुष्करणी पोखरीको भ्रमण गरेका छन्। भ्रमणपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्त्वितको सन्देश फैलाउन सकिने बताए।

उनले नयाँ उपाध्यक्षका रुपमा डा। लामाको उपस्थितीले आशा जगाएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनीको अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको उनको भनाइ थियो।

पुनले लुम्बिनीको विश्वमाझ अझै प्रचार हुन नसकेको बताउँदै उपाध्यक्ष सहितको टिमले त्यसलाई केही रुपमा अघि बढाएको समाचार सुनेको बताए।

‘लुम्बिनी विश्वसामु चिनाउन सकिएकोे छैन। नयाँ उपाध्यक्षको कार्यकालमा विश्वसामु चिनाउन लाग्नुभएको छ, अझै लाग्नुहुनेछ,’ उनले भने ।

उनले बुद्धदर्शन शान्ति,मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए। उनले सबै धर्मका विच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने बताए।

पुन सहितको टोलीले लुम्बिनीमा हालै दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने दियो स्थलमा दियो समेत बालेका थिए। त्यस्तै मोन्लम पुजामा समेत अवलोकन गरे। पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुनको समेत सहभागिता रहेको थियो।

उक्त अवसरमा उपाध्यक्ष डा.लामासँगै योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य श्याम रोक्काले पूर्वमन्त्री पुन सहितको टोलीलाई लुम्बिनीमा स्वागत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *