सिरियामा अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु

डिसी नेपाल
१६ माघ २०८० १५:३९

काठमाडौं । आइतवार जोर्डन सीमानजिकै सिरियामा रहेको तीन अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

अमेरिकाले यी आक्रमणका लागि ‘इरान समर्थित कट्टरपन्थी समूह’लाई जिम्मेवार ठहराएको छ। तर इरानले अमेरिकी सैन्य आधार शिविरमा भएको पछिल्लो आक्रमणमा कुनै पनि भूमिका रहेको आरोप अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यी आक्रमणको बदला लिने वाचा गरेका छन् । उनले भने, ‘हामी जवाफ दिनेछौँ ।’

तर, ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले यी आक्रमणको जिम्मेवारी लिएको छ । २०२३ को अन्तमा देखा परेको यो समूहमा इराकमा सक्रिय र इरानद्वारा समर्थित धेरै लडाकुहरू समावेश छन्।

यो समूहले आगामी दिनमा अमेरिकी सेनामाथि थप आक्रमण गर्ने दाबी पनि गरेको छ । समूहले एक विज्ञप्ति जारी गर्दै सिरियाको शद्दादी, तान्फ र रुकबानमा आक्रमण गरेको जनाएको छ ।

इजरायल र हमासबीच युद्ध सुरु भएयता पहिलो पटक पश्चिम एसियामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएको हो । यसअघि अमेरिकी सेनाको आधारमा आक्रमण भएपनि कुनै पनि सैनिकको मृत्यु भएको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *