तराई–मधेशका ग्रामीण बस्तीमा टेलिकमको सेवा

डिसी नेपाल
२८ जेठ २०७६ १२:४६

काठमाडौं । नेपाल टेलिकमले तराई तथा मधेशका ग्रामीण बस्तीका बासिन्दालाई मोबाइल सेवाको पहुँच वृद्धि गरी गुणस्तरीय सेवा प्रदान गरिएको जनाएको छ।

चालू आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा मात्र २६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको एक विज्ञप्तिमार्फत जनाएको छ। तराई क्षेत्रका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरीलगायत जिल्लामा कम्पनीले ती बीटीएसहरु सञ्चालनमा ल्याएको हो।

मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका ग्रामीण बस्तीका बासिन्दालाई कम्पनीको सेवामार्फत सस्तो दरमा नेपाल तथा विदेशमा भएका आफन्तसँग कुराकानी गर्न र अन्य सुविधा लिन सहज भएको कम्पनीको भनाइ छ।

तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भएता पनि दुर्गम र कम जनघनत्व भएका कतिपय बस्तीमा सेवाको पहुँच स्थापित भएको थिएन। पछिल्लो समयमा धेरै बीटीएस थप गरिएपछि तराईका ग्रामीण भेगमा पनि मोबाइल र इन्टरनेट सेवा सहज रुपले उपलब्ध भएको छ।

जतिसुकै दुर्गम र विकट स्थानमा रहेका भए पनि सबै नेपालीबीच कम्पनीको सेवा पुर्याई अत्याधुनिक सञ्चार सुविधा प्रदान गर्ने लक्ष्य बमोजिम ती स्थानमा पनि टुजी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

धेरै जनघनत्व भएका तराईका जिल्लाहरुमा उपभोक्ताको मागअनुसार कम्पनीका सेवाको पहुँच थप विस्तार गर्नका लागि पनि कम्पनीले बीटीएस निर्माणलाई तीव्रता दिएको हो। टेलिकमको एक करोड जीएसएम आयोजनाअन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ।

प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजनाअन्तर्गत काठमाडौँ उपत्यकाबाहेक मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बीअन्तर्गत काठमाडौँ उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शत प्रतिशत सम्पन्न भइसकेको छ।

मुलुकका सातै प्रदेशमा फोरजी÷एलटीई सेवा विस्तार गर्ने कार्य पनि दु्रत गतिका साथ भइरहेको छ। अत्याधुनिक प्रविधिहरु उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त पार्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *