इमरान खानलाई सजाय सुनाइएपछि अमेरिकाले भन्यो– ‘पाकिस्तानमा ‘स्वतन्त्र र निष्पक्ष’ चुनाव चाहन्छौं’
काठमाडौं । पाकिस्तानमा आम निर्वाचन हुनु एक साताअघि अमेरिकाले आफूले पाकिस्तानमा ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन चाहेको बताएको छ ।
अमेरिकाले चुनावी प्रक्रियामा बाधा पुर्याउने कुनै पनि हिंसाको कडा आलोचना गर्ने बताएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।
म्याथ्यू मिलरलाई पाकिस्तानमा चुनावपूर्व हिंसा र पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफका समर्थकहरूलाई शान्तिपूर्ण रूपमा चुनावी र्याली आयोजना गर्न अनुमति नदिएको बारे प्रश्न सोधिएको थियो।
समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार म्याथ्यु मिलरले यति मात्रै भनेका छन्, ‘हामी पाकिस्तानमा ‘स्वतन्त्र र निष्पक्ष’ चुनाव हेर्न चाहन्छौं।’
पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ। यसअघि पनि इमरान खान र उनका पार्टीका सहकर्मीहरूमाथि धेरै आरोप लागेका छन् । उनको पार्टीको चुनाव चिन्ह जफत भएको छ ।
इमरान खान आफैं र वरिष्ठ सहयोगी शाह महमूद कुरैशीलाई कैयौं मुद्दामा सजाय सुनाइएको छ र उनीहरूको मनोनयन पत्र रद्द गरिएको छ।
बुधबार पूर्वप्रधानमन्त्रीसँगै इमरान खानकी पत्नी बुशरा बीबीलाई पनि भ्रष्टाचार मुद्दामा सजाय सुनाइएको थियो ।
Facebook Comment