माघ १९ : दलहरुले आफ्नो अक्षमता लुकाउन राजालाई प्रजातन्त्र हरणको दोषारोपण गर्ने दिन

शरद रिजाल
१९ माघ २०८० १५:००

काठमाडौं। नेपालको इतिहासमा राजाले प्रत्यक्ष शासन गरेको दुई वटा घटनालाई विशेष स्मरण गरिन्छ।

नेपालको शासनभार सम्हाल्ने क्रममा तत्कालीन राजाले गरेका दुई कार्यलाई आज पनि कतिपयले आवश्यकता ठान्छन् भने कतिपयले महत्वाकांक्षाका रुपमा चित्रित गर्दै विभिन्न कोणबाट मत व्यक्त गरिरहेका छन्।

आज तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो पिता महेन्द्रको शासन व्यवस्था अनुरुपसत्ता हातमा लिएको दिनको रुपमा सबैले आआफ्नो ढंगले चर्चा गरिहेका छन्।

राजा महेन्द्रले २०१५ सालको आमनिर्वाचनबाट निर्वाचित सरकारलाई अपदस्थ गर्दै शासनभार आफ्नो हातमा लिएका थिए। उनले २०१७ साल पुस १ गते विपी कोइराला सरकार विघटन गरेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिएका थिए।

राजा महेन्द्रले प्रत्यक्ष शासन सत्ता आफ्नो हातमा लिएपछि नेपालको सर्वांगिण विकास भएको आज पनि उनका विरोधीहरुले स्वीकार गर्दछन्। उनको कुटनीतिक चातुर्यता र मुलुकको विकासमा दिइएको योगदानको सबैले मुक्तकण्ठले प्रशंसा नै गर्दै आइरहेका छन्।

आफ्नो लुटको स्वर्ग भत्किने भयले राजाका एक दुई गलत कार्यलाई समग्रतामा गलत देखाउने दूराशयले चित्रत गर्ने बौद्धिक वर्ग र मिडिया जगतले वर्तमान दलहरुले मुलुकमा के गरे स्पष्ट ढंगले भन्न सक्नुपर्छ। एकाधलाई राम राज्य भएकै आधारमा दलको स्तुती गाउनेहरुले बुझ्नुपर्छ कि व्यवस्था परिवर्तनले यहा सीमितको अवस्था मात्रै परिवर्तन गराएको छ।

राजा महेन्द्रले गरेका भौतिक विकास र नेपालको भूराजनीतिक जटिलताबीच शक्ति राष्ट्रहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै तय गरेको कुटनीतिक सम्बन्धको आज पनि चर्चा हुन्छ।

यस्तै उनकै माहिला सन्तानको रुपमा रहेका तत्कालीन राजा ज्ञानेन्द्रले पनि २०५६ सालको आम निर्वाचनबाट जननिर्वाचित शेरबहादुर देउवा सरकार अपदस्थ गरेर २०६१ माघ १९ गते शासन सत्ता आफ्नो हातमा लिएका थिए।

यद्यपि उनको प्रत्यक्ष शासन पिता महेन्द्रको जति सफल र दीर्घकालसम्म जान सकेन। प्रत्यक्ष शासन हातमा लिएको दुई वर्षमा नेपालबाट विधिवतरुपमा राजसंस्था नै बहिर्गमन हुन पुग्यो।

यसको आधार भने उनले २०५९ साल असोज १८ गते तत्कालीन प्रधानमन्त्री देउवाको सिफरिसमा संसद विघटन गरेर सूत्रपात गरिसकेका थिए। त्यसैको जगमा ६१ माघ १९ मा ज्ञानेन्द्रले कठोर कदम चालेका हुन्।

आज १९ वर्षपछि राजाको सोही कदकबारे अनकौं चर्चा परिचर्चा र बहस भइरहेको छ। राजाले जनताको प्रजातान्त्रिक अधिकार खोसेको प्रति आम जनमानस अहिले पनि सहमत हुन सक्दैनन्।

त्यतिबेला मिडियामाथि लगाइएको अंकुशको अहिले चित्रित गर्दै सर्वत्र विरोध भइरहेको छ। त्यस कदमले सबै क्षेत्रमा हस्तक्षेप बढाउँदै राजाको निरकुंशता व्याप्त थियो। त्यसलाई किमार्थ सही मान्न सकिँदैन।

तथापि त्यस अवस्था निर्माणमा तत्कालीन सत्तामुखी राजनीति र मुलुकको द्वन्द्वग्रस्त अवस्थालाई अवतरित गर्ने दलहरुको असमर्थता पनि एक कारक हो।

अहिले सोही समयलाई लिएर राजाको गलतकार्य स्मरण गराउन श्रृंखलाबद्ध रुपमा आक्षेप लगाइँदै आइएको छ। तर तत्कालीन अवस्थाका दलहरुको क्रियाकलाप,आजसम्मको हालीमुहाली र अक्षमताको विषयमा कसैले आवाज उठाउने साहस गर्दैन्।

किनभने नेपालका सबै मिडिया एवं बुद्धिजीवी सबै दलीयकरण भइसकेका छन्। र उनीहरुले आफ्ना नेताको बचाउ गर्दै सम्पूर्ण दोष तत्कालीन अवस्थामा शासन सत्ता हातमा लिएका राजा(हालका पूर्वराजा)माथि लगाइरहेका छन्।

राजाले गरेको प्रजातन्त्र हरणकाे विरोध हुनु स्वभाविकै हो। तर सोही परिस्थितिमा राज्य सञ्चालनको भूमिकामा रहेका दलहरुको अहिलेसम्मको असक्षमता र उनीहरुले सिर्जना गरेको बेथितिबारे आलोचना गर्ने पक्षमा मिडिया जगत छैनन्।

उनीहरु पूर्वराजाको तत्कालीन कदमलाई थप गलत चित्रित गर्दै राजसंस्था पुनस्र्थापनको भयले सशंकित देखिन्छन्। दलका कतिपय कमजोरीको उपज उक्त घटना घटाइएकोमा जानकार हुँदाहुँदै पनि ती परिघटनालाई पूर्णतया उजागर हुन नदिन राजाको गलत कदमको हौवा फिजाउँदै राजतन्त्रको भ्रम नेपाली जनतामा कायम गराउन चाहान्छन्।

राजाले गरेको गलत कदमको सदैव चित्रित गर्ने दल र त्यसका नेताहरुले आफूले बारम्बार गर्दै आएको गलत कार्य स्वीकार गर्न समेत जरुरी ठान्दैनन्। तर अनेकौं फगत लाञ्छना लगाएर पूर्वराजाप्रति दोषारोपण गर्दै आफूहरु सही बन्न प्रयत्नशील छन्।

नेपालमा आफू सही सावित हुने भन्दा पनि अरुलाई दोषारोपण गरेर तुलनात्मक रुपमा फरक देखिने होडबाजी चल्दै आएको छ। यसैको उपज पूर्वराजाको तत्कालीन कदमलाई लिएर गलत चित्रित गर्दै दलहरुले आफ्नो असक्षमता लुकाउने चेष्टा गर्दैछन्।

राजाको शासनकाल भन्दा स्वर्णयुगमा मुलुकलाई पुर्याएको भए उनीहरुले राजालाई दूरावस्थाको दोष दिनु बाञ्छनीय हुन्थ्यो होला। तर,राजाको पालालमा भएका विकास निर्माका भौतिक पूर्वाधारमा बसेर उसैलाई सत्तोसराप गर्दैछन्।

नेपालमा पूर्वराजा ज्ञानेन्द्रको शासन भन्दा कैयौं गुणा बढी समय शासन गरिसकेका सत्तासीन दलहरुले उल्लेख्य के गरे? उनीहरुले अनकौं व्यवस्थाका नाममा आफ्नो अक्षमता मात्रै नेपाली राजनीतिमा प्रदर्शित गरेका छन्।

कहिले प्रजात्नत्र, कहिले लोकतन्त्र, कहिले गणतन्त्रको नाममा यत्रो समय व्यतित गर्दा पनि आज मुलुक कति स्वर्णमय भयो? नेपाली जनताले त्यो दूरावस्था भोग्न आज अभिशप्त छन्।

आज झनै कहाली लाग्दो दूरावस्थामा मुलुक पुगेको छ। युवा पलायन र वैदेशिक ऋणले मुलुक जर्जर बनेको छ। राजाका पालामा स्थापना भएको उद्योग धन्दाहरु नीजिकरणको नाममा बन्द गरिएका छन्।

आज मुलुकमा बेरोजगारीले आक्रान्त युवाहरु युृद्धग्रस्त मुलुकमा पेट पाल्न कुद्नु पर्ने कारुणीक अवस्था छ। राजालाई सामन्तीको उपमा दिने सर्वहाराका नेताहरुको जीवनस्तर आज नवधनाड्य वर्गमा रुपान्तरित भएका छन्।

आफ्नो लुटको स्वर्ग भत्किने भयले राजाका एक दुई गलत कार्यलाई समग्रतामा गलत देखाउने दूराशयले चित्रत गर्ने बौद्धिक वर्ग र मिडिया जगतले वर्तमान दलहरुले मुलुकमा के गरे स्पष्ट ढंगले भन्न सक्नुपर्छ।

एकाधलाई राम राज्य भएकै आधारमा दलको स्तुती गाउनेहरुले बुझ्नुपर्छ कि व्यवस्था परिवर्तनले यहा सीमितको अवस्था मात्रै परिवर्तन गराएको छ। तिनीहरुको जीवीकोपार्जन यही व्यवस्थाबाटै भएकै होला। तर बहुसंख्यक जनताहरु आज पनि अनेकौं समस्याग्रस्त छन्।

राज्यविहीनताको अवस्थामा रहेका आधारभूत तहका जनतालाई व्यवस्था पवितनसँग कुनै साइनो छैन। उनीहरुलाई राज्यले प्रदान गर्ने सेवासुविधा र राज्यको अनुभूति नगराएरै विगतको कमजोरी औंल्याएर वर्तमानमा रमाउनेहरुले आफ्नो उल्लेख्य कार्य सार्वजनिक रुपमा अभिव्यक्त गर्न र जनतालाई बोध गराउन सक्नुपर्छ।

होइन भने कसैलाई गलत सावित गरेर आफू सही बन्ने कुचेष्टा अन्ततः सर्वत्र उदांगो भएपछि आफैंलार्ई आत्मघाती सावित हुने छ।

विगत भन्दा उल्लेख्य परिणाम दिन सकेको भए जनता आफैंले वर्तमान व्यवस्थाप्रति अपनत्वबोध गर्ने अवस्था स्वतः आउने थियो। कसैलाई दोषारोपण गरेर तुलनात्मक रुपले सही सावित गर्ने कुचेष्टाको जरुरत पर्ने थिएन।

आफ्नो सकारात्मक कार्यले जनतामा आशा जागृत नगराएरै अरुको कमजोरी औंल्याउँदै अग्रगमकनको हवाला दिनेहरुले मुलुकलाई विगतको भन्दा अझै स्तरीय अवस्थामा पुर्याउन सक्नुपर्छ। तब मात्रै अरुका कमजोरी औंल्याउने नैतिक बल प्राप्त हुन्छ।

अन्यथा, यसको प्रतिवाद गर्दै समयक्रममा जनताले जवाफ पक्कै खोज्नेछन्। त्यसको असन्तुष्टिका सांकेतिक मत जनताले विभिन्न माध्यमबाट प्रकट गरिरहेका छन्।

 




प्रतिक्रिया

One thought on “माघ १९ : दलहरुले आफ्नो अक्षमता लुकाउन राजालाई प्रजातन्त्र हरणको दोषारोपण गर्ने दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *