रूसमा सैनिकका श्रीमतीहरूको विरोध प्रदर्शन
काठमाडौं । रसियामा सैनिकका श्रीमती र उनीहरुका परिवारले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुको माग युक्रेनबाट युद्ध लडिरहेका सैनिक फिर्ता हुनुपर्ने हो । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले प्रदर्शनकारी २० जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये अधिकांश पत्रकार छन् ।
फेब्रुअरी ३ बिहानदेखि प्रदर्शन सुरु भएको हो । रूस-युक्रेन युद्धको ५०० औं दिनमा, सैनिकका आफन्तहरू अज्ञात सैनिकको चिहानमा भेला भए । रूसी राष्ट्रपतिको दरबार क्रेमलिन बाहिर सैनिकहरूको सम्झनामा बनाइएको स्मारकमा उनीहरुले मारिएका सैनिकहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै युक्रेनमा रहेको सेना फिर्ताको माग गर्दै प्रदर्शन गरेका थिए ।
अलजजीराको रिपोर्ट अनुसार द वे होम ग्रुपको निर्देशनमा विरोध सुरु भएको हो । यो समूहले टेलिग्राम च्यानलमा सैनिकहरूका पत्नी, दिदीबहिनी र आमाहरूलाई सैनिक फिर्ताको लागि आवाज उठाउन आग्रह गरेको थियो। एक सिपाहीकी श्रीमतीले भनिन्– म चाहन्छु कि मेरो श्रीमान् जीवित रहुन् । म उनको ज्यानको बदलामा सरकारबाट कुनै क्षतिपूर्ति चाहन्न। म केवल मेरो श्रीमान् फर्किएको चाहन्छु।
स्वतन्त्र सञ्चारमाध्यम मोजेम ओब्यास्नीतले युद्धमा घाइते भएका रुसी सैनिकलाई क्षतिपूर्ति स्वरुप पैसा नदिएको दाबी गरेको छ । रुस सरकारले एक सैनिकलाई क्षतिपूर्ति स्वरुप तरकारी दिएको छ ।
रिपोर्टमा भनिएको छ- ४५ वर्षीय ओलेग रिबकिन सेप्टेम्बर २०२२ मा युक्रेनविरुद्धको युद्धमा सामेल भएका थिए। उनी जुन २०२३ मा घाइते भएका थिए । उनको घुँडामा चोट लागेको छ । चोटका कारण कलेजो र मृगौलामा पनि असर परेको थियो । रूसी सेनाले उनलाई लड्न अयोग्य घोषित गर्यो। त्यसपछि उनको परिवारले क्षतिपूर्तिको माग गरेको थियो । सरकारले पैसाको बदलामा गाजर र प्याजका बोरा पठायो।
हालै युक्रेनले रुसी सैनिकमा रहस्यमय रोग फैलिरहेको दाबी गरेको थियो । जसका कारण सिपाहीका आँखा रातो हुन थालेका छन् र वान्ता भइरहेको छ । उनीहरूको मिर्गौला पनि फेल भएको छ ।
युक्रेनले रुसी सैनिकहरूले आफ्ना कमाण्डरहरूलाई रोगको बारेमा गुनासो गरेको बताएको छ। तर कमाण्डरले गुनासोलाई बेवास्ता गर्दै सिपाहीहरूलाई युद्धभूमिमा पठाइरहेका छन्। कमाण्डरहरू विश्वास गर्छन् कि सैनिकहरू अब लड्न चाहँदैनन् त्यसैले बहाना बनाइरहेका छन्।
युक्रेनमा लडिरहेका सैनिकहरूले चिसोका कारण धेरै समस्याको सामना गरिरहेका छन् । ‘द सन’को रिपोर्टका अनुसार युक्रेनविरुद्ध लडिरहेका रुसी सेनाले औषधि, प्राथमिक उपचार, अन्य चिकित्सा सुविधा, न्यानो कपडा नपाएको जनाएको छ । युक्रेनको तापक्रम माइनस ५ सेल्सियस पुगेको छ ।
Facebook Comment