सुन्तलाको खेती र माइती घर गाउँको सम्झना

शान्ता सुवेदी
२७ माघ २०८० ७:०१

पारिलो घाम तापेर सुन्तोला तासेर खाएर आनन्द नलिने सायदै नेपाली होलान्। सुन्तेला नेपालीहरुको प्रिय फलमा पर्दछ। सुन्तला नेपालीहरुले पूजा आदिमा भगवान्लाई चढाउने फलको रुपमा पनि सम्मानित छ। सुन्तलाका केस्रा प्रसादको रुपमा ग्रहण गरेको धेरैलाई याद भएकै होला।

मेरो सुन्तलाकासँगको साइनो सम्बन्ध बालककालदेखि कै हो। म जहाँ जन्मिएँ हुर्किएँ बढे तेह्रथुमको साब्ला गाउँमा त्यहाँ सुन्तला नभएको घर नै छैन भन्दा पनि हुन्थ्यिो। सबैका घरमा धेर थोर सुन्तलाका बोट लगाएकै हुन्थे।

व्यवसायिक हिसाबले नभए पनि आफूलाई खानको लागि र बारीको, घरको शोभा र इज्जत बढाउन अन्य फलफूललगायत सुन्तला पनि यसो बगैँचाबारी भनेर वा नभनी बारीको छेउ भित्तामा हुर्काएको हुन्थ्यो। बोटभरि लटरम्म पहेंला सुन्तला देख्दा कसलाई रमाइलो लाग्दैन होला?

हाम्रो ठूलो झिंगटी लगाएको घर थियो। त्यसैले सबैले ठूलाघर भन्थे। ठूला घरको तलतिर ठूलो टाहारबारी छ। टाहारबारीको भित्तामा अर्थात् घरको करेसा गारोको छेउमा लहरै सुन्तला लगाएका हामी पर्खालमाथि चढेर सुन्तला टिपेर झोला भरी पारेर घामको न्यानोमा सामुहिक गफमा रमाउँदै खाएको स्वाद र आनन्दको वर्णन शब्दमा सकिँदैन।

हाम्रो घर अगाडि अली पर माथ्लोघर, माझघर र छेउघर एकै ठाउँमा छन्। घर त छन् तर पहिला जस्तो रहरलाग्लो सुन्तलाको रहरलाग्दो लटरम्म पनि छैन मान्छेको चहलपहल पनि छैन। सुनसान मात्रै छ। त्यसबेला त सुन्तला पाकेको बेला त के रहरलाग्दो देखिन्थ्यो भने साँचै मन मोहक।

माथ्लोघर आमा त थुन्सेभरि बोकाएर शुक्रबार लाग्ने म्याङ्लुङ बजारमा लगेर बेचेर पनि आउनुहुन्थ्यो। माथ्लोघरका गुरु बाले त व्यवसायिक सुन्तलाको खेती सुरु गर्नु भएको थियो। सुन्तलाको नर्सरी खडा गरेको थियो गुरुबाले। जिल्लाका धेरै टाढाबाट मानिसहरु बिरुवा किन्न आएका हुन्थे।

गुरुबाले धेरै सुन्तला उत्पादन गरेको बोटबाटै बेचेको झलभली सम्झना छ। तलतिर ज्ञाननाथ दाइकोमा पनि धेरै राम्रा सुन्तला थिए। पछि धेरै बिरुवा थपेका थिए। उता रघुदाइकोमा पनि राम्रैसँग फलेका हुन्थे सुन्तला। पञ्चायत घर माथि कालीदास फुदुङकोमा पनि धेरै थिए। सबैतिरबाट सुन्तला खरिद गर्न ढाकर बोकेका मान्छेको ताँती नै देखिन्थे साबलाका सुन्तलाका फाँटमा।

ताजा सुन्तला बाटो हिड्ने इस्टमित्र सबैले खाएका हुन्थे। अहिले मान्छेले छोडेर स्याहार मलपानी नभएर हो कि मौसम परिवर्तनको असर हो सबै सुन्तला मरेका छन् या मसिना मात्रै फलेका छन्। पहिला सुन्तला नफल्नेतिर फलेका छन् अलि माथितिर।

अहिले म बिबाह भएर गएको घर चुहाण्डाडामा पनि सुन्तलाको कथा साबलाको जस्तै छ। त्यहाँ पनि यति राम्रा स्वादिला ठूला सुन्तला फलेका हुन्थे। त्यहाँ पनि हामी गारोबाटै टिपेर खान्थ्यौं।

हाम्रो आठराईको राम्रो सुन्तला फल्ने क्षेत्र इवा हो। इवामा धेरै राम्रा र स्वादिला सुन्तला फल्छन्। त्यसबेला हरेका सनिबार र हरेक एक गते सक्रान्ति बजारमा हाट लाग्थ्यो। त्यहाँ इवाका सुन्तलाले ढाकेको हुन्थ्यो।

आज त्यहाँ पनि बोट मर्ने ठूला राम्रा नफल्ने कारण माथि सावलामा भनिएकै हो भन्दा फरक पर्दैन। मौसम फेरबदलको कारण होस् या बसाई सराई या स्याहार या मलपानी आदि जे कारणले सुन्तलाको फल्न फुल्न तलमाथि भए पनि सुन्तलाको बजार बढ्दो छ। अब सुन्तलाको उत्पादन बजार र नगदतिर प्रवेश गरौं।

जुनबेला यातायतको सुविधा थिएन त्यसबेला सुन्तलाको व्यापार अर्थात् खरिद बिक्रीमा कठिनाई थियो। ढाकरमा सुन्तला हालेर मानिसले पिठ्ययौंंमा बोकेर चार पाँच दिनको बाटो हिंडेर पहाडबाट तराईको हाट बजारमा लैजाने चलन थियो।

यातायतको अर्थात मोटर बाटो नभएकोले मानिसले ढाकरमा बोकेर लैजादा मात्रामा थोरै जाने ढुवानी खर्चमा धेरै जाने हुनाले यस्तो व्यापार सीमित व्याक्तिले मात्र गर्दथे। तराईको बजार नजिक भएका पहाडबाट अलि धेरै मात्रामा यस्तो व्यापार हुने गरेको थियो। प्राय जसो सुन्तला बेचेर नुन तेल लुगा फाटोको जोहो गर्नेहरुले सानो तिनो व्यापार गरेका हुन्थे।

पूर्वाञ्चलमा कोशी प्रदेशको धनकुटामा सबैभन्दा धेरै सुन्तलाको खेती भएको पाइन्छ। धनकुटाका सुन्तलाहरु धेरै ठूला रसिला र स्वादिला अर्थात गुलिया छन्। पहिला यातायत नभएको बेलामा पनि मानिसले डोका, ढाकर आदिमा बोकेर घनकुटाबाट धरानमा धेरै सुन्तला लगिन्थे।

त्यहाँबाट इटहरी, विराटनगरमा लगिन्थे। उतैबाट धनकुटाका सुन्तला लिन इटहरी विराटनगरका व्यापारीहरु धरानमा आएका हुन्थे। कतिले सोझै उतै लैजाने व्यवस्था पनि मिलाएका हुन्थे। तर पनि व्यवसायिक हिसाबले सुन्तला खेती भएको थिएन।

यता पछिल्ला केही दसकमा यातायतको पहुँच गाउँ गाउँमा फैलिए पछि भने धेरै किसानहरुले अन्य बाली लगाउन छोडेर व्यवसायिक किसिमले सुन्तला खेती लागाउने क्रम बढेको छ। जति उत्पादन गरे पनि सुन्तला नबिक्ला भन्ने डर किसानलाई छैन।

अहिले धनकुटाका मिठा सुन्तला नेपालका पूर्वी तराइका प्रमुख बजारमा मात्रै नभएर भारतको जोगबनी र सिलगढीमा पनि पुग्ने गरेका छन्। त्यहाँ धनकुटाका मिठा सुन्तलाको निकै ठूलो माग छ।

पछिल्लो दसक यता व्यवसायिक किसिमले सुन्तलाको खेति गर्ने किसानहरुको संख्या बढेको छ। कतिपय त गाउँनै सुन्तला गाउँ भएको छ । कतिपय गाउँले सुन्तला गाउँहरुको समुहको परिचय बनाएका छन्।

त्यहाँ करोडौंको सुन्तला बिक्री भएर गाउँमा नगद भित्रिन थालेको समाचार पनि सार्वजनिक हुन थालेका छन् जो सकारात्मक समाचार भएको छ। केही प्रतिनिधिमुलक समाचारको सारले भन्छ कि नेपालमा सुन्तला खेतिको अझ व्यवसायिक सुन्तला खेतीको भविश्य छ।

नेपालमा पूर्वी जिल्लामा धनकुटामा फलेका सुन्तलाको माग बढि भए जस्तै पश्चिम जिल्ला गोरखामा फलेका सुन्तलाको माग र रोझाई बढी भएको पाइएको छ। गोरखाको पनि सबैभन्दा धेरै मनकामनाका सुन्तलाको माग धेरै छ। यसको कारण हो त्यहाँका सुन्तला धेरै रसिला र गुलिया छन्। रहरलाग्दा र स्वादिला पनि छन्।

कतिपय व्यापारीले त मनकामनाका सुन्तला भनेर झुक्याएर पनि बेच्ने गरेको पाइन्छ। त्यसो त नेपालमा अन्य जिल्लामा उत्पादन भएका सुन्तला पनि स्वादिला नै छन्।
विभिन्न सञ्चार माध्यायममा सार्वजनिक भएका समाचारलाई केलाएर विश्लेषण गर्ने हो भने नेपालमा सुन्तला खेतीको भविश्य छ। व्यवसायिक सुन्तला खेतीको झन भविश्य छ भन्ने निस्कर्ष निकाल्न सकिन्छ।

तनहुँका व्यवसायिक सुन्तला खेती गर्ने किसान भीमबहादुर रानाले अघिल्लो साल सुन्तला बेचेर ४९ लाख कमाएका रहेछन्। यो साल उनले ५३ लाखका सुन्तला बेचेका रहेछन्। अरु भन्दा फरक उनी बिचौलियालाई सुन्तला नबेचेर सोझै कालीमाटीमा आफै लिएर जाँदा रहेछन्।

जसको कारणले उनलाई सुन्तलाबाट उचित आम्दानी हुन सकेको हो। उनले जम्मा उनले ११३ रोपनी क्षेत्रफलमा एकहजार भन्दा बढी सुन्तलाका बोटबाट यति आम्दानी गर्न सकेका रहेछन्।

भीमबहादुरले सुन्तला बेचेर नै सुन्तलाको आम्दानीबाट दमौलीमा घर र नारायणघाटमा घडेरी किनेका रहेछन्। साथै उनले सुन्तला ढुवानी गर्न दुईवटा गाडी पनि खरिद गरेका रहेछन्।

देवघाट विकास समितिका अध्यक्ष समेत रहेका सामजिक व्याक्तित्व भीमबहादुरको प्रेरणाले र उनले सुन्तलाबाट गरेको आम्दानी देखेर उनका छरछिमेकी गाउँले किसानहरु पनि व्यवसायिक सुन्तला खेतीमा लागेका छन्। यस्ता किसानको संख्या सयभन्दा बढी पुगेका छन् । उनको गाउँ उनकै कारणले सुन्तलामय भइरहेको छ।

यसरी नै स्याङ्जाको भिरकोट नगरपालिकामा वाड नं ७ मा मात्रै यसपाली सुन्तला बेचेर किसानहरुले ११ करोड कमाएका रहेछन्। ७ का वडाध्यक्ष एव सुन्तला सुपर जोन स्याङ्जाका सञ्चालक सिमिति अध्यक्ष ताराप्रसाद अर्यालले यो कुरा विभिन्न मिडियामा सार्वजनिक गरेका थिए।

यो वडामा लगभग सय परिवारले सुन्तलाको व्यवसायिक खेती गरेका रहेछन्। यी मध्ये थोरै आम्दानी गर्ने पचास हजार सबैभन्दा धेरै आम्दानी गर्ने तीस लाखका किसान रहेछन्। गतसाल सुन्तलाबाट यस वडामा पन्ध्र करोड भित्रिएको रहेछ। तर यसपाली सुन्तला थोर फलेर आम्दानी घटेको रहेछ।

यो उत्पादन प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमना विरुवा, सिँचाई ट्याङ्की, पाइप वितरण गरेकोले सहज भएको रहेछ। गतवर्ष स्याङ्जा जिल्लाले पच्चिस करोड भन्दा धेरै नगद सुन्तला बेचेर कमाएको रहेछ।

यी त भए सुन्तला खेतीका केही प्रतिनिधि उदाहरण। यसले जाहेर हुन्छ कि नेपालमा सुन्तला खेतिको व्यवसायिक खेति र आम्दानी पनि बढ्दो छ। तिनै तहका सरकारले सुन्तला खेतीलाई प्रोत्साहन गर्नु पर्दछ।

सुन्तलामा नेपाललाई आत्मनिर्भर बनाउने गुरु योजना बनाउनु पर्दछ। किसानलाई सबै किसिमले सहुलियत दिनुपर्दछ। गुणस्तरीय चिस्यान केन्द्र पनि खोल्नुपर्छ। उनीहरुले उच्च मूल्य पाउने व्यवस्था मिलाउनु पर्दछ। रोग किराबाट जोगाउन सबै किसिमले सरकारले सहयोग गर्नु पर्दछ। किसानलाई बजारको समस्या हुनु हुँदैन।

सुन्तला सबै किसिमले स्वास्थ्यको लागि फाइदाजनक छ। सबैले स्वास्थ्य बनाउन सुन्तला खाने बानी गरौं। सुन्तलाले बेफाइदा गर्दैन। फाइदा मात्रै गर्दछ। सुन्तला खाँदा बाहिरका सेता रेसा पनि खाएमा फाइदा हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *