राजनीतिक जगतमा गएको ८.७ रेक्टर स्केलको भूकम्प
अहिले नेपालको राजनैतिक जगत निकै तरंगित भएको देखिन्छ। सरकार र नेताहरुको सातो गयएस्तो लाग्न थालेको छ। काम गर्ने ढंग र मनसाय र नियत खराब भएका कारण राजनैतिक दलहरु जनतामा बदनाम हुंँदै गएका हुन्।
देश, राष्ट्र, राष्ट्यिता र जनता भनेको के हो? यसको रक्षा गर्नु सरकार र राजनैतिक दलहरुको प्रमुख दायित्व, कर्तव्य भित्र पर्छ भन्ने सामान्य ज्ञान समेत नभएका ब्यक्तिहरुको नेतृत्वको चरम अवसरवाादीताले देश असुरक्षित बन्दै गयको छ। यो देश र जनताको दुर्भाग्य नै हो।
देशमा यस्तो दूरावस्था, बढ्दै गएको छ। यो खतरा ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भनेजस्तै हो।
अभिभावक विहीन हुँदै गएका पीडित जनता, उनीहरुको गुनासो, अनुरोधलाई स्वीकार गर्दै जनगुनासो बुझ्न देश दर्शनमा निस्किएका राजा ज्ञानेन्द्र शाह जहाँ पुगे त्यहाँ राजनीतिक दल, सरकारहरुले जनताको काम नगरेको, समाजमा चरम असुरक्षा, बालिकाहरु दिनदिनै बलत्कृत हुँदै गएको, न्याय माग्दा सुनुवाइ नहुने।
कतिपय उजुरीहरु सुरक्षा निकायहरुले दर्ता गर्नै नमान्ने। नेताहरुकै सम्प्रेक्षणमा चलाइएका सहकारी, लघुबित्त, मिटर ब्याजीहरुको अत्याचारले घरवार विहीन हुनुपरेको यस्ता यावत् पीडा भोग्नुपरेको पीडित जनताहरुको हृदय बिदारक गुनासोबाट अत्यन्त मर्माहत हुनपुगेका राजा ज्ञानेन्द्र शाहलाई आफ्नो गाँउ, टोल, शहरमै भेटेर आफ्ना कुरा राख्न पाउँदा जनताहरु अतिनै हर्षित देखिन्छन्।
देश र जनताको गहिरो चिन्तामा भएका राजाले यही माघ १३ गते पर्साका जनताले गरेको अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा वीरगञ्जमा बोलेको कुरालाई लिएर प्रधानमन्त्री प्रचण्डले दरवार हत्याकाण्डको फाइल खोल्ने प्रतिक्रिया दिएका छन्।
त्यो विचलित मानसिकता, गैरजिम्मेवारपूर्ण आक्रोश हो भन्ने बुझ्न गाह्रो नपर्ला। कार्यक्रमलाई सम्वोधन गर्दै राजाले देशमा बढ्दै गएको असुरक्षा, जनताको चाहनालाई सबै मिलेर काम गर्नुपर्ने अब निषेधको राजनीति बन्द गर्नुपर्ने, सबै एकै ठाउँमा आएर देश र जनताको चाहना अनुसार काम गर्नु पर्ने, राष्ट्र, राष्ट्यिता धर्म, संस्कृति बचाउ भन्ने कुरा स्वागतयोग्य कुरा हो। यसमा सबै राजनैतिक दलहरुले गम्भीर रुपमा चिन्तन, बहस गर्नु उपयुक्त हुन्छ।
अब आफूले जनतालाई सुरक्षित राख्न दिएको श्रीपेच नासो फिर्ता लिन तयार हुनुपर्ने परिस्थिति आएको छ। शाह बंशीय इतिहांसको परम्परा र त्यो दायित्वलाई आफूले भुल्न नसक्ने, पुर्खाको धरोहर नारायणहिटी छोड्नु पर्दाका पीडाहरु जनताको अगाडि व्यक्त भएका कुरालाई लिएर राजनीतिक वृत्तमा ८.७ रेक्टरको भूकम्प गएको छ।
जनताको सामु भावुक भएका राजाको निश्चल त्यो तेज वास्तवमा हामीले देशप्रति र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको बंशजप्रति अन्याय नै गरेका रहेछौं भन्ने पश्चाताप राजनीतिक नेतामा पनि देखिन थालको छ।
त्यसैलाई लिएर प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया आएको हो। ‘राजाले बोल्न नहुने कुरा बोले, अब दरवार हत्याकाण्डको फाइल खोल्ने छानबिन गर्ने’ प्रधानमन्त्रीको घुर्की मात्रै हो।
तर प्रधानमन्त्रीका हिम्मत भए राजदरबार हत्याकाण्डको छाननिव गर्दा त्यसको सबै भन्दा धेरै फाइदा राजालाई नै हुन्छ। तत्कालीन अबस्थामा नेपाली कांग्रेसका सभामुख तारानाथ रानाभाट, प्रतिपक्ष दलका नेता माधवकुमार नेपाल र सर्वोच्च अदालतका न्यायाधीश लगायतका बरिष्ठ व्यक्तिसमेत राखेको छानविन आयोगले छानविन रिर्पोट बुझायो। उक्त आयोगबाट माधवकुमार नेपाल किन र कुन प्रभुको इसारामा समितीमा नबस्ने निर्णय सुनाएर भाग्नु भएको थियो?
अहिले प्रधानमन्त्रीले हतारमा बोल्नु भयो। पहिला गिरिजाप्रसाद कोइराला त सबैसँग राय सल्लाह लिएर मात्रै यस्ता विषयमा प्रतिक्रिया दिनुहुन्थ्यो। अहिले प्रधानमन्त्री प्रचण्डले बोल्न किन बोल्न हतार गर्नु भयो? राजनीतिमा धर्म सकिएपछि जे बोलेपनि भएको छ। धर्मले ज्ञान दिन्छ। ज्ञानले सत्कर्म गर्न सिकाउँछ। तर धर्मै सकिएका नेताबाट यो भन्दा बढी के नै आशा गर्न सकिन्छ।
अर्को तीर प्रतिपक्षका नेता केपी ओली दरबार हत्याकाण्ड हुँदा घटनास्थलमा आफैं उपस्थित भएको जस्तो गरी हत्याकाण्डाको विषयमा टिप्पणी गर्नुहुन्छ।
प्रधामन्त्रीमा हिम्मत छ भने प्रतिपक्ष दलको नेता केपी ओलीलाई संयोजक बनाएर राजदरबार हत्याकाण्डाको छानविन गराउँदा हुन्छ।
यदि ज्ञानेन्द्र शाहलाई तर्साउने उद्देश्यले गरिएको कुरा मात्र हो भने यो तपाईंहरुलाई महंगो नपर्ला भन्न सकिन्न। जनता अब लाख कोसिस गरेपनि झुक्किनेवाला छैनन्।
छानबिन गर्नु पर्ने हजारौं घटनाहरु छन्। जस्तोः मदन भण्डारी, तपाईंहरुको जनयुद्धले मारेको १७ हजार जनता, त्यसमा ५ हजारको जिम्मा लिनुभएको, १९ हजार लडाकु देखाएर सरकारसँग पैसा लिएर ३ हजार लडाकुलाई मात्र पैसा बाँढेर अरु पैसा आफैंले झ्वाम पारेको।
त्यही कुरा नमिल्दा मोहन वैद्यहरु, बाबुराम भट्टराईलगायत अलग भएको। भट्टराईले भनेका थिए, बुढी गण्डकीको ९ अरब रुपैयाँ तीन नेताले ३–३ अर्ब बाँडेर खाएको आफूसँग प्रमाण छ। त्यसको छानविन होस्।’
त्यस्तै यती, ओमनी, हजारौं हजार क्वीण्टल सुनकाण्ड, ललिता निवास, नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकको बेचबिखन, यहाँ नाम लिएर साध्य छैन। हजारौं त्यस्ता घटना छन्। जुन उखान टुक्का गरेजस्तो होइन।
भर्खरै मात्र छाला जुत्ता कारखानाको जग्गा हडपेको प्रचण्डको ९७ करोड रुपैयाँ बसन्त चौधरीले खाएको, बजारमा ब्यापक हल्ला सुनिन्छ। ९७ करोडको आयश्रोत के हो? यस्ता तमाम काण्डको फाइल खोलेर कारवाही अगाडि बढाउनु होस्।
प्रधानमन्त्री उपर दर्जनौं मुद्दा सर्वोच्च अदालतमा छ। त्यसबाट बच्नको लागि पनि तपाईलाई शत्ता अपरिहार्य भएको हो। अहिले सडक आन्दोलन दबाउन प्रधानमन्त्री को पद बाँड्दै हुनुहुन्छ।
बजारमा सबै बस्तुको भाउ बढेको बेला भने यहाँ मात्र प्रधानमन्त्रीको भाउ घटेको छ। कारण ३२ सिटले ठूला पार्टिको निगाहमा पायको पद कांग्रेसको मौन समर्थन पाउन्जेल जति लुटेपनि भएको छ। तर समय सधै अनुकुल हुँदैन।
जुन दिन कांग्रेसको आँखा खुल्छ। तर त्यो दिन धेरै ढिलो भैसकेको हुनेछ। त्यसैले १७ हजार मान्छे मारेर कसैले केही गर्न सकेन। मलाई कसले के गर्न सक्छ? भन्ने घमण्ड तोडिन त्यतिबेलासम्म सम्भव होला! जबसम्म कांग्रेसको काँध पाउनु हुनेछ। सत्ता र शक्तिको आडमा बसेर गरियको कुराले अरुको लागि खनेको खाडलमा पहिला आफैं परिँदैन भन्न सकिन्न।
लहरो तान्दा ठूलै पहिरोको सामना गर्न तयार हुनुपर्छ। अब तपाईंहरुबाट जनता झुक्किने वाला छन् जस्तो लाग्दैन। तर आत्मरतिमा रमाउने छुट भने हुन सक्छ। बाँकी यहाँको मर्जी।
Facebook Comment