मकवानपुरमा एकैदिन रोकियो चार बालविवाह
हेटौंडा। मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ ।
बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए। कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका-३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो।
मनहरी गाउँपालिका-४ की १५ वर्षीया बालिका र हेटौंडा-३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ ।
मकवानपुरगढी गाउँपालिका-२ की १८ वर्षीया र हेटौंडा-१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिए। बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा बालविवाह रोक्न सफल भएको उनले बताए ।
१३, १४, १५ र १८ वर्षीय बालबालिकालाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिइन्।
जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर र प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेका हुन् ।
कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिवद्वता बालबालिकाले व्यक्त गरेका छन्। अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
सबभन्दा बढी कैलाश र राक्सिराङमा बालबालिका हुने गरेको ज्ञवालीले बताए । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उनको भनाइ छ।
अध्ययन तथा अनुगमन भए पनि एउटै बुझाइ नहुँदा बालविवाह रोक्न सकिएको छैन । जनप्रनितिनिधि र बालहेल्पाइनको सहयोग र समन्वय भए बालविवाह न्यूनीकरण गर्न सकिने उनले बताएका छन् ।जनप्रतिनिधिले प्राथमिकता भौतिक पूर्वाधार विकाससँगै सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
आव २०७९/०८० मा कैलाश गाउपालिकामा ४ वटा बालविवाहमध्ये २ बालविवाह रोक्न सफल भएको छ। जसमा २ वटा बालविवाह रोक्न असफल भएका छन्। राक्सिराङमा ५ बालविवाहमध्ये ३ बालविवाह रोक्न सफल भएका छन् भने २ बालविवाह रोक्न असफल भएका छन्।
मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन्। मकवानपुर जिल्लामा भएका ५० बालविवाहमध्ये ४४ बालविवाह रोक्न सफल भएको छ भने ६ वटा बालविवाह रोक्न असफल भएका छन्। बिकट क्षेत्र राक्सिराङ र कैलाशमा अनुगमन कम हुँदा कम तथ्यांक आएको ज्ञवालीले बताए ।
Facebook Comment