राणाकाल भोग्नेहरूसँगको अद्भूत पल
२०८० साल माघ १९ गते, शुक्रबारको दिन। काठमाडौंको मदन भण्डारी स्मारक कलेज प्राङ्गणमा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र मदन भण्डारी मेमोरियल कलेजको स्कुल अफ लिवरल आर्टस्ले सहिद दिवसको उपलक्ष्यमा आयोजना गरेको ‘बलिदानलाई सम्झँदा-राणाकाल भोग्नेहरूबीच भलाकुसारी’ शिर्षकको विचार भेला।
बिहानीको रापिलो घामको आनन्द लिँदै अधिकांश वयोवृद्ध व्यक्तिहरू कुर्सीमा बसेर चिया पिइरहेका र निकै पछि भेट भएका दौँतरीहरूझैं निकै प्रसन्न मुद्रामा एकापसमा भलाकुसारी गरिरहेका।
कलेजको ढोकाको भिरालोमा सकि नसकी लट्ठीको सहारामा बिस्तारै हिँड्दै भित्र ओर्लिरहनु भएका १०० वर्ष पुग्न आँटिसक्नु भएका अति वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सहयोग गर्न खोज्दा ‘म आफैं हिँड्न सक्छु बाबु, सहारा चाहिँदैन’ भनेको सुन्दा र भित्रपट्टि घाम तापिरहेका उस्तै उमेरका वयोवृद्धहरूको मुखमा छाएको एक किसिमको अद्भूत कान्ति देख्दा आजको दिन एकै ठाउँमा भेला हुन पाएका यी महान् व्यक्तिहरूलाई कति खुशी महसुस भइरहेको छ भन्ने कुरा मैले सजिलै अनुमान गरिरहेको थिएँ।
उहाँहरूको युवा जोशको अगाडि आफूलाई बालक जस्तै नै सानो उमेरको भएको महसुस भएको थियो।
लहरै बसेका वयोवृद्ध व्यक्तिहरूतिर नजर दौडाउँदा एक शताब्दी जीवन काटिसकेका र अझैपनि निकै तन्दुरुस्त देखिने डा. गौरीशंकर लाल दाससँग आँखा जुध्न पुग्यो र अभिवादन गरेँ।
छातीसम्बन्धी रोगका अति पुराना चिकित्सक उहाँले हजारौँ क्षयरोगका बिरामीहरूलाई औषधिमुलोको उचित विकास नभएको त्यतिबेलामा पनि निको तुल्याउनु भएको थियो। मेरा पिताजी गोविन्दप्रसाद लोहनीका पनि उहाँ क्षयरोगका चिकित्सक हुनुहुन्थ्यो।
उहाँको निवास जयबागेश्वरीमा स्वास्थ्य परीक्षण गराउन जाँदा केहीबेरको स्वास्थ्य परीक्षण पश्चात उहाँहरूबीच निकै लामो समयसम्म राजनीतिक, सामाजिक र आर्थिक विकास सम्बन्धी कुराकानी हुने गर्दथ्यो।
राणाकालीन नेपालदेखि आजसम्मका राजनैतिक विकासक्रमसँग पूर्ण परिचित उहाँ लोकसेवा आयोग र विभिन्न सामाजिक संस्थाहरूमा लामो समयसम्म आवद्ध हुनुहुन्थ्यो र अझै पनि अध्ययनमा नै रमाउने गर्नुभएको छ।
त्यस्तै अर्का ९५ वर्ष कटिसकेका कुनै बेलाका नेपालका अति जल्दा बल्दा कानुनविद् नुतन थपलिया। अहिले पनि उस्तै हँसिलो र रोचक कुरा गर्न सक्ने व्यक्तित्व हुनुहुँदो रहेछ उहाँ।
आठ दशक उमेर काटिसकेका तथा नवौँ दशकमा हिँडिरहेका र नेपालको लामो प्रजातान्त्रिक इतिहासका साक्षीहरू जस्तै वरिष्ठ विचारक, लेखक तथा राजनीतिज्ञ अरविन्दनाथ रिमाल, शहिद गंगालाल तथा पुष्पलाल श्रेष्ठका सहोदर कान्छाभाई बिजयलाल श्रेष्ठ, वरिष्ठ राजनीतिज्ञ बद्रिप्रसाद खतिवडा, पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, जिउँदा शहिद टंकप्रसाद आचार्यकी सुपुत्री अर्थविद् डा. मीना आचार्य, वरिष्ठ प्रशासक, पूर्व निर्वाचन आयुक्त तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ संविधान तथा कानुनविद् र कूटनीतिज्ञ निलाम्बर आचार्य आदिसँग पनि भलाकुसारी गर्ने मौका जुर्यो।
त्यस्तै असीको नजिक पुग्दै गरेका वा सत्तरीको दशकमा हिँडिरहेका मध्ये जलश्रोतविद् तथा भ्रष्टाचार निवारण सम्बन्धी अभियन्ता र पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, निकै वर्ष पञ्चायती कठोर कारावासमा परेका नेपालका नेलशन मण्डेला भनिएका नेता मोहनचन्द्र अधिकारी, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, वरिष्ठ मानव अधिकारकर्मी तथा हाल टंकप्रसाद आचार्य प्रतिष्ठानका प्रमुख शुशिल प्याकुर्याल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, वरिष्ठ लेखक विश्वराज ढुङ्गाना आदिसँग पनि निकै लामो समय पश्चात भेट गर्ने मौका मिल्यो।
वास्तवमा त्यहाँ आमन्त्रित मध्ये साठी पनि नपुगेको सबैभन्दा कम उमेरको सहभागी त मै मात्र रहेछु या सोही कलेजका केही अध्यापकहरू। उहाँहरूका कुरा ध्यानसँग सुन्दै रोमाञ्चित भइरहेका पत्रकारहरू जो मध्ये धेरैले यी सब हस्तीहरूको नाम समेत यसभन्दा अघि सुनेका थिएनन्।
एक प्रकारको निकै रोचक भेला। राणाशासन विरोधी र प्रजातन्त्रका सेनानी गोविन्दप्रसाद लोहनीको केही लेख्ने र चिन्तन गर्ने हैसियत बनाउँदै गरेको छोरा कपिललाई यस्ता भेलामा आमन्त्रित गरेर उसको ज्ञानको दायरालाई अझै फराकिलो गर्न मद्दत पु¥याउनु पर्छ भनेर होला मलाई निम्ता गर्नुभएको अग्रज वुद्धिजिवी श्री अरविन्दनाथ रिमालज्यूले। उहाँलाई मेरो हार्दिक नमन छ।
गत १३ गते बिहान सिफलमा शहीद धर्मभक्त माथेमाको शालीकमा माल्यार्पणसहितको एक छोटो श्रद्धाञ्जली कार्यक्रम हेरेर फर्केको केही समय पश्चात पुनः त्यही बाटो जाँदा उनको माला लगाएको शालीक मात्रै एक्लै टोलाएर ठिङ्ग उभिइरहेको पाएको थिएँ।
यसरी स्थानीय सरकार र जनताद्वारा गरिने माल्यार्पणमा नै शहीद दिवस सीमित हुँदैछ भने सरकारी शहीद दिवस मनाउने लैनचौरतिर भएको भनिएको ठाउँबारे अधिकांश जनतालाई थाहै छैन, टिभीमा देखेको वाहेक। सबै जातजातीका चाडपर्वमा मुलुकभर सार्वजनिक बिदा दिने सरकारले अब त शहीद दिवसको बिदासमेत काटिसकेको रहेछ र शहीद सप्ताह पनि नाममा मात्र सीमित।
जिउँदा शहीद टंकप्रसादले २०४६ सालको आन्दोलन उत्कर्षमा पुगेको बेला नेपाल टेलिभिजनमार्फत आफू पनि प्रजातन्त्रको समर्थक भएको तर यसरी छिमेकी राष्ट्रलाई गुहार्ने र विदेशीको खुला हस्तक्षेप र सहयोगमा मुलुकका शासकलाई दवावमा पारेर ल्याइने प्रजातन्त्रले मुलुक र जनताको भलो हुँदैन, बरु विदेशीले नै पछिसम्म चलखेल गर्ने र फाइदा उठाउने मौका पाउँछन् भन्ने कुरा बोल्दा हाम्रा राजनैतिक नेताहरू निकै आक्रोशित भएका र आज उनले सतर्क गराएकै गलत बाटोमा लागेका देख्दा मन दुखित हुन्छ।
कुनैबेला टंकप्रसाद आचार्यकै निवासमा विभिन्न कार्यक्रम गर्दा आफू सुरक्षित भएको महसुस गर्ने नेताहरू उहाँको शवयात्रामा सरिक नभएको र हामी केही हितैषी र परिवारजनले मात्रै पशुपति आर्यघाटमा लगेर उहाँलाई अन्तिम बिदाई गरेको घटना सम्झँदा आज पनि आँखा रसाएर आउँछन्। धिक्कार छ हाम्रा शासकहरूका मुण्ड सोचाईलाई।
राजामहाराजाले समेत टंकप्रसाद आचार्यलाई प्रयोग मात्र गर्न खोजेका थिए। राजा महेन्द्रले भारतको निरन्तर हस्तक्षेप र सीमा अतिक्रमण विरुद्ध बोल्न लगाउन नै उहाँलाई केही समयको निम्ति प्रधानमन्त्री बनाएका थिए।
त्यस्तै राजा वीरेन्द्रले २०४६ सालको भारतीय नाकाबन्दीका कारण मुलुक ठप्प भएको बेला उहाँलाई बोलाएर अबको बाटो कस्तो हुनुपर्छ भनेर सोध्दा उहाँले खुलस्त रूपमा त्यतिबेलाको नेपाल र भारतको झगडा र नाकाबन्दीको चुरो कुरो नै राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजिव गान्धीको टकराव भएकोले दुईजना मात्र एउटा कोठामा बसेर एक अर्काको गल्ती औँल्याएर अब यस्ता गल्ती नदोहोर्याउने प्रण गरेमा यो सब समस्याको समाधान तत्कालै हुने कुरा बताउनु भएको थियो रे।
वीरेन्द्रले मुस्कुराउँदै उहाँको कुरा सुनेर टाउको हल्लाउनु भएको भए पनि ऐश्वर्यले निकै कड्केर टंकप्रसादजीलाई गाली गर्न थालेपछि उहाँ त्यो रात्रीभोजको बीचैबाट उठेर बाहिरिनु भएको थियो भनेर उहाँको वैठकमा उपस्थित केही अति नजिकका व्यक्तिहरूसँग कुरा गर्दा म पनि त्यहीँ उपस्थित थिएँ। यसरी टंकप्रसाद आचार्य जस्ता दूरदर्शी, निडर र स्पष्टवक्ताको कुरा न राजारानीलाई पच्यो न नै राजनैतिक नेताहरूलाई।
हालै प्रकाशित एक आत्ववृत्तान्तमा उहाँकै छिमेकी तथा राजा महेन्द्रद्वारा कलिलो उमेरमा नै आफ्नो प्रशासनको अति उपल्लो पद दिएर पछिसम्म पनि राम्रै राम्रा पदमा बस्ने सौभाग्य पाएका नेपालका एक वरिष्ठ बुद्धिजिवीले किन हो कुन्नि टंकप्रसाद आचार्य जस्ता त्यागी, निडर र हक्की व्यक्तिले आफू प्रधानमन्त्री छँदा राणा प्रधानमन्त्रीहरूकै नक्कल गरेर छातेहरूद्वारा ओढाइएको विशाल छातासँगै ठाँटका साथ हिँड्ने गरेको कुरा पढ्दा विश्वास गर्न सक्दै सकिएन।
आफ्नो मातृभूमि, स्वतन्त्रता, प्रजातन्त्र र मौलिक हक-अधिकारको निम्ति लड्दा लड्दै मृत्युवरण गरेको मानिस शहीद कहलिन्छ। शहीद त्यस्तो त्यागी र बहादुर व्यक्ति हो, जसले हार-गुहार गरेर आफ्नो ज्यान बचाउन सक्ने स्थितिमा समेत रौँ बराबर पनि नडगेर आफ्नो प्राणको आहुती दिन्छ।
राणाशासनको अन्त, प्रजातन्त्रको प्राप्ति, जनताको अधिकार र मुलुकको विकास र समृद्धिका लागि नेपालमा पहिलो पटक नेपाल प्रजापरिषद नामको राजनैतिक पार्टीको स्थापना गरेका व्यक्तिमध्येका तिन जना दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ तथा नागरिक अधिकार समितिका अध्यक्ष शुक्रराज शास्त्रीले वि.सं. १९९७ को माघ महिनामा शहादत प्राप्त गरे भने सोही पार्टीका संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य र सचिव रामहरि शर्मा जस्ता अग्रज तथा निडर नेताहरू ब्राह्मण भएका कारणले नै राणा शाषकहरूले ब्रह्महत्याको डरले गर्दा उनिहरुलाई मृत्युदण्ड दिन हिच्किचाएर चारपाटे मुडिकन आजिवन कठोर कारावासमा पठाए।
यस्ता वास्तविक शहीदहरूको बेवास्ता गरेर ६ हजारभन्दा बढी पार्टी कार्यकर्ता तथा विभिन्न घटनामा मरेका व्यक्तिलाई शहीद घोषणा गरिसकिएको छ आजसम्म। विभिन्न समयमा मुलुक र व्यवस्थाको निम्ति शहादत प्राप्त गर्ने केही व्यक्तिहरूलाई शहीद घोषणा गर्नु उचित नै हो तर यी चार महान् शहीदहरूको कोटीमा राखेर वा उनिहरूसँग तुलना गरेर होइन।
शहीदगेटमा चार शहीदहरूसँगै राजा त्रिभुवनको शालीक पनि रहेकोले उनले गद्दीको बाजी राखी नेपाल प्रजापरिषद्का वीर कार्यकर्ताहरूसँग मिलेर र पछि प्रजातान्त्रिक शक्तिहरूलाई समर्थन गरेर नेपालमा प्रजातन्त्र ल्याउन गरेका योगदान सबै बिर्सिँदै उनको शालीक नहटुञ्जेलसम्म त्यो ठाउँमा शहीद दिवस रूपि केवल माल्यार्पण गर्ने कार्यक्रम नराख्ने हठ लिएर बसेका आजका नेताहरूले कस्का बलिदानका कारण आज उनिहरू निर्लज्ज तवरले सत्ताको मह चाटिरहेका छन् भन्ने कुरा नै चटक्कै बिर्सिरहेका छन्।
मुलुकको प्रजातान्त्रिक क्रान्तिको शंखघोष गर्ने महान् क्रान्तिकारी तथा सहिदहरूको मानमर्दनका साथै उनको अमूल्य बलिदानको कुनै महत्व नराख्ने आजको परिपाटीमा यसरी सहिदहरूको बलिदान र शहादतका प्रत्यक्षदर्शी र त्यो समयको अति महत्वपूर्ण इतिहासका बचेखुचेका केही मात्र त्यस्ता जिवित साक्षीहरू भेला भएर शहीदहरूको योगदान, उनिहरूले परिकल्पना गरेको समृद्ध नेपाल र आजको दुरावस्था तथा अस्तव्यस्तता र अझै केही गर्न सकिने जस्ता कुरा समेत सुन्दा मन निकै तरङ्गित हुन पुग्यो।
अर्को निकै रोचक पक्ष के पनि थियो भने त्यो समारोहमा आजका गफाडी, भ्रष्ट र गैरजिम्मेवार कोही पनि नेताहरूलाई आमन्त्रण गरिएको थिएन। त्यसैले पनि सो समारोहमा आपसी झैझगडा, खिचातानी र झुठा आश्वासनहरू सुन्नु परेको थिएन।
शुशिल प्याकुर्यालको कुशल कार्यक्रम संयोजन तथा कनक दीक्षितको पाहुना सत्कार र सभाकक्षमा उमेर अनि इतिहासको भोगाईको लिहाजसहित सहभागीहरूको सिट निर्धारण कला देखेर मन प्रफुल्लित भयो।
शहीद गंगालाल श्रेष्ठका वयोवृद्ध भाई बिजयलाल श्रेष्ठका ऐतिहासिक संस्मरण निकै रोचक थिए भने आज आएर वास्तविक शहीदका परिवारलाई सरकारी शहीद दिवसको कार्यक्रममा समेत नबोलाउने अचम्मको परिपाटी बारेका वर्णन सुन्दा ज्यादै दुख लाग्यो।
मुलुक नै रहने हो की होइन भन्ने जस्तो स्थितिको सिर्जना हुँदै गएको र ठूला नदीनाला तथा व्यापार व्यवसाय सबै भारतलाई बुझाएर चरम भ्रष्टाचारमा चुर्लुम्म डुबेर मुलुकलाई भित्र भित्र खोक्रो पार्दै शासक वर्गले के गर्न खोजेका हुन् भन्ने जस्ता डरलाग्दा कुराहरू सुनाउनु भएका सूर्यनाथ उपाध्यायका कुराले उपस्थित सबैको मनमा एक प्रकारको भय र खिन्नता जागेको थियो।
अर्का दिग्गज प्रशासक सूर्यप्रसाद श्रेष्ठले पनि आफूले राणा, राजा र पछिल्लो समय प्रजातान्त्रिक सरकारसँग पनि काम गरेको तथा प्रजातान्त्रिक निर्वाचन सम्पन्न गराएको भएपनि आजको नेपालको दयनीय स्थिति देखेर निकै दुख लागेको तर अझै पनि आफू आशावादी नै भएको कुरा बताउनु भयो।
जति नै भाँडभैलो र बिकाउको राजनीति खेलिए पनि तीन करोड जनसंख्या भएको नेपाललाई आजको विश्व परिस्थितिमा सिक्किम नै त बनाउन सकिँदैन नै, तर पनि आफ्नो मुलुकको अस्मिता जोगाएर यहाँ बस्ने जनताको समृद्धिको निम्ति भने सबै क्षेत्रबाट सकारात्मक सोचका साथ पहलकदमी हुनै पर्दछ।
समय आज नराम्ररी चलिरहेको भए पनि सधैँ यसरी नै समय चल्दैन। राम्रा दिन पनि अवश्य आउने नै छन् भलै सोको निम्ति नयाँ पिँढीले मुलुक र जनताको समृद्धिको निम्ति नयाँ क्रान्तिसहित पुनः आफ्नो बलिदान किन गर्न नपरोस्।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेपालमा भाँडभैलो सँगसँगै पहिलेको दाँजोमा केही न केही आर्थिक विकास पनि आफैं भइ नै रहेको छ र पहिलेको नेपालको जीवनशैली र हालकोमा निकै बदलाव आएको कुरा बताउनु भयो।
यही कुरामा आफ्नो राय राख्दै निलाम्बर आचार्यले नेपालमा विकास नै नभएको होइन तर हाम्रो विकासको गतिलाई अन्य मुलुकसँग दाँज्दा भने हामी निकै पछि परेका छौँ भन्नुभयो।
उहाँले आफू भारतमा राजदूत भएपछि हाम्रो दूतावासभित्र तैनाथ भारतीय सुरक्षाकर्मीलाई हटाउन पहल गरेको र हाल त्यहाँबाट ती सुरक्षाकर्मी हटेको कुरा बताउनु भयो। त्यसैले समस्या समाधान र राम्रा कार्यको पहल नै नगरे कुनै पनि काम सफल नहुने भएकोले नेपालले आफ्ना निकटतम छिमेकी भारत र चीन सँगका विभिन्न प्रकारका असमझदारीहरू सुल्झाउनलाई पनि उचित पहलकदमी गर्नु पर्ने कुरामा जोड दिनु भयो।
वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले आफू सानो छँदा राणाशासनको पतन भएर अब राम्रा दिन आउने आशा गर्दा गर्दै भाँडभैलोको शुरुवात भएर पछि पञ्चायती निर्मम शासन शुरु भएकोले नेपाली जनताकै निम्ति वामपन्थी आन्दोलन शुरु गरेको तर त्यतिबेलाका शासकहरूले आफूलाई पक्रेर चरम यातनाका साथ सत्र वर्षसम्म थुनामा राखेको कुरा बताउनु भयो।
आफू देशको निम्ति मरेर शहीद बन्न समेत नहिच्किचाएको मानिसलाई आज आफ्नै सहयोद्धा साथीहरूको मतिभ्रष्ट भएर उनको शासनतन्त्रले मुलुकको हित हुने काम केही गर्न नसकेकोमा दुख लागेको कुरा बताउनु भयो।
वरिष्ठ कानुनविद् नुतन थपलियाले यस किसिमका भेलाहरू नियमित रूपमा आयोजना गरेर मुलुकका विभिन्न खाले समस्याहरू बारेका छलफल गरेर त्यस्ता छलफलमा युवा पुस्ताहरूलाई पनि सहभागी बनाउनु पर्ने कुरा बताउनु भयो।
राणाशासनको अन्त गर्न नेपाल प्रजापरिषद्ले पु¥याएको योगदान र शहीदहरूको इतिहास तथा नेपालका विभिन्न चरणका राजनैतिक घटनाक्रमबारेका थुपै्र पुस्तक र लेख रचना गरेर सार्वजनिक गरिसक्नु भएका र आजसम्म पनि सक्रिय जीवन बिताइरहनु भएका विद्वान व्यक्तित्व अरविन्दनाथ रिमालले टंकप्रसाद आचार्य र नेपालका शहीदहरूले राणाशासनको अन्त गरेर नेपाललाई एक समृद्ध प्रजातान्त्रिक मुलुक बनाउन गरेको बलिदानलाई नेपाली जनताले कहिल्यै बिर्सन नहुने कुरा बताउनु भएको थियो।
आजका नेताहरूले लोकतन्त्र भन्ने शब्दको रट लगाउन थाले पनि २०६३ सालभन्दा अघिसम्म प्रजातन्त्र भन्ने शब्दकै नामले जनताको हक अधिकारको प्रतिनिधित्व गरेको कुरा पनि उहाँले बताउनु भएको थियो।
समारोहमा उठेका विभिन्न विषयहरूलाई समेट्दै वरिष्ठ लेखक विश्वराज ढुङ्गानाले विभिन्न वक्ताहरूले राणाकालीन नेपालदेखि आजको अवस्थासम्मको चिरफार निकै रोचक तवरले गरेको भन्दै यस्ता छलफल कार्यक्रमहरूको निरन्तरताको कामना गर्नुभयो।
शहीदको फोटोमा माला लगाएर र केही कुरा बोलेर मात्र मनाइने गरेको शहीद दिवसको कार्यक्रमलाई एक रोचक र सिर्जनशील कार्यक्रमको रूपमा मनाउनु पर्ने सन्देशसहित सम्पन्न यस छलफल कार्यक्रमले वास्तवमा नै धेरै सन्देशहरू दिएको छ।
प्रजापरिषद् र नेपालको प्रजातन्त्रको उदयको समयलाई आफ्नै आँखाले देखेका, भोगेका र लडेका व्यक्तिहरू धमाधम यो धर्तीबाट बिदा हुँदै गइरहेको आजको समयमा जे जति पनि त्यस्ता महान्, दिग्गज, कर्तव्यनिष्ठ, इमान्दार र विद्वत व्यक्तित्वहरू यस धर्तिमा छन् उनको जीवनकालमा नै उनीहरूले देखे, जाने र भोगेका कुराहरूको संग्रह गरेर हाम्रो इतिहासका पानाहरूमा नमिलेका र छुटेका कुराहरूको पुनर्लेखन गरिनु पर्दछ भने उनका भोगाइबाट पछिका पिँढीले सिक्दै पनि जानु पर्दछ ।
त्यस्तै विभिन्न कालखण्डमा महत्वपूर्ण पदहरूमा बसेर नेपाल राष्ट्रको हितमा काम गरेर अवकाशप्राप्त जीवन व्यतित गरिरहेका व्यक्तिहरूको अनुभव र अध्ययनबाट नयाँ शासक तथा प्रशासकहरूले फाइदा लिन सक्नु पर्दछ।
यसो गर्नको निम्ति हामीले निश्चित प्रणालीको नै विकास गर्नुपर्दछ। छिमेकी राष्ट्रका नराम्रा कुरा मात्र हामी अवलम्बन गर्छौँ तर के के कारणले आज उनिहरू विश्वको नेतृत्व गर्न सक्ने हैसियतमा पुग्दै गएका छन्, त्यस्ता कुरा सिक्ने र अवलम्बन गर्ने तर्पm हामी पटक्कै ध्यान दिँदैनौँ।
मुलुकमा प्रजातन्त्र त आयो तर त्यसपछिको ७३ वर्षसम्म पनि जनताले आफ्नो हक, अधिकार र समृद्धिको स्वाद राम्ररी चाख्न पाएका छैनन् । शुरुका झण्डै चालिस वर्ष राजाहरू मात्र शक्तिशाली भए भने त्यसपछिको समय नेताहरू।
जनता शक्तिशाली हुने र शहीदको सपना साकार हुने त खै कहिले हो कहिले। एकचोटी पाइने जीवन देश र जनताको लागि आहुती दिने शहीदहरूको सपना साँचो रूपमा साकार पार्ने हो भने अझ पनि पार्टी, नेता, कार्यकर्ता, राष्ट्रसेवक र जनताले आफूलाई सच्याएर देशप्रेम, इमान्दारी र बफादारीका साथ अघि बढ्ने समय बितिसकेको छैन।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।
Facebook Comment