सोलुखुम्बुमा १८ आगलागीका घटना, तीन करोडभन्दा बढीको क्षति
सल्लेरी। सोलुखुम्बुमा छ महिनामा आगलागीबाट रु तीन करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।
चालु आर्थिक वर्ष छ महिनामा १८ वटा आगलागीका घटना हुँदा रु तीन करोड १९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिकामा चार÷चार वटा आगलागीका घटना भएका छन्।
थुलुङ दुधकोशी गाउँपालिकामा तीन, महाकुलुङ, सोताङ र नेचासल्यान गाउँपालिकामा दुई÷दुई वटा र खुम्बु पासाङल्हामु गाउँपालिकामा एउटा आगलागीका घटना भएको प्रहरीको तथ्याङ्क छ। सो अवधिमा भएको आगलागीबाट एक मन्दिरसहित १६ वटा घर जलेर नष्ट भएका छन् भने दुई वटा स्काभेटरमा आगजनी भएको प्रहरी निरीक्षक मिश्रले बताए।
घटनामा एक जना बालकको ज्यान गएको छ। गत मङ्सिर २१ गते चौरी गोठमा भएको आगलागीमा परी सोलुदुधकुण्ड नगरपालिका–२ का चार वर्षीय बालक पासाङ शेर्पाको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
Facebook Comment