´नारायणी टुडे´ मासिककाे २४औं वार्षिकोत्सव सम्पन्न
चितवन जिल्लाबाट प्रकाशित `नारायणी टुडे´मासिक पत्रिकाकाे २४ औँ वार्षिकोत्सव सम्पन्न भएकाे छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले एउटा पत्रिका साढे दुई दशक देखि निरन्तर प्रकाशित हुनु असामान्य भएको बताए। उनले स्वतन्त्र र निष्पक्ष आफ्नो व्यावसायिक धर्मबाट विचलित नहुनु नै `नारायणी टुडे´काे सफलता भएकाे बताए।
प्रमुख अधिकारीले भने -“छापा माध्यमको अत्यन्तै नाजुक अवस्थामा पनि `नारायणी टुडे´ निरन्तर प्रकाशित हुनु चितवनवासीको लागि पनि खुसीको कुरा हो। जिल्लाका सामाग्रीलाई महत्त्व दिएर प्रकाशित `नारायणी टुडे´ पत्रिकालाई हामी सबैले सामुहिक रूपमा बचाउनु पर्ने , अवस्था छ। ”
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलवासेले अहिलेको समयमा कुनै पनि छापा पत्रिकाले निरन्तरता पाउनु भनेको आश्चर्यको कुरा भएको बताए। उनलेे छापा पत्रिका धमाधम बन्द भएका बेला `नारायणी टुडे´मासिक पत्रिकालाई निरन्तर प्रकाशित गरेर प्रकाशक / सम्पादक वीरेन्द्रमणि पौडेलले चुनौतीलाई पराजित गरेको बताए।
कार्यक्रमका विशिष्ट अतिथि बेलवासेले आजको चेतनशील समयमा संचारमाध्यमले समाजका अनेकन पक्षलाई ध्यान राख्दै आचारसंहितालाई पालना गर्नु पर्ने बताए । उनले महिला,बालबालिका ,अपाङ्गता र जेष्ठ नागरिकाका बारेमा समाचार र सामग्री प्रकाशन / प्रशारण गर्दा गम्भीर हुनुपर्ने बताए ।
`नारायणी टुडे २४ वर्ष देखि निरन्तर एउटै प्रेसबाट प्रकाशित भएको सन्दर्भ अर्को अचम्म भएको भन्दै उनले सम्पादक पौडेल र छापाखाना व्यावसायी बेदप्रकश पण्डितको स्वतन्त्र संचारप्रतिको इमान्दारीता भएको बताए ।
बेलवासेले भने-” प्रकाशकहरूले छापेको पैसा नतिरेको छापाखानाहरूको गुनासो सामान्य बनिरहेका बेला `नारायणी टुडे´निरन्तर २४ वर्ष देखि एउटै प्रेसबाट प्रकाशित हुनु सम्पादक पौडेल र व्यावसायी पण्डितको इमानदारीता उदाहरणीय लाग्यो । एउटा पत्रिका निरन्तर हुनलाई प्रकाशक र प्रेसको सम्बन्ध राम्रो हुनु जरूरी हुन्छ ।”
उनले कुनै पनि काममा एकाग्रता नभई सफलता मिल्दैन पत्रकार पौडेलको एकोहोरो एकाग्रताले पत्रिकाले २४औं वर्ष पुरा गर्न सकेको बताए ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालले `नारायणी टुडे´ले चितवनमा धेरै पत्रकार जन्माएको बताउँदै चितवनको पत्रकारिता र समाज विकासमा `नारायणी टुडे´काे महत्त्वपूर्ण याेगदान रहेकाे बताइन् ।
कार्यक्रममा डा. भाेजराज अधिकारीले आफ्नो स्वास्थ्यका बारे आफै सचेत हुनुपर्ने बताए । उनले नुन ,चिनी र चिल्लोकाे प्रयोग कम गर्न आग्रह गर्दै नियमित प्रेसर जाँच गर्दा पनि धेरै राेगकाे पहिचान हुने बताए।
डा.अधिकारीले ´नारायणी टुडे´ले स्वास्थ्य क्षेत्रका अब्बल डाक्टर साहबहरूलाई लेख्न लगाए जस्तै अन्य सञ्चार माध्यमहरूले पनि स्वास्थ्यका बिषयमा सामग्रीहरू दिन आग्रह गरे ।
उक्त कार्यक्रममा पत्रिकाले स्वास्थ क्षेत्रमा विशेष योगदान पुर्याए वापत डा.विजयप्रसाद पौडेल,व्यावसायिक किसान छविलाल न्यौपाने ,पत्रकारद्वय रोहिणीप्रसाद त्रिपाठी र प्रतिमा सिलवाललाई सम्मान गरिएको थियाे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता विजय भुसाल, चितवन जिल्ला कांग्रेस सभापति राजेश्वर खनाल , एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने , राप्रपाका जिल्ला सहसचिव रामजी अधिकारी ,क्रान्तिकारी माओवादीका जिल्ला प्रमुख घननाथ सापकोटा , वरिष्ठ मुटुराेग विशेषज्ञ डा.श्यामराज रेग्मी र सम्मानित डा.पौडेल लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम बोल्ने सबै वक्ताले `नारायणी टुडे´लाई संस्थागत गर्न सहयोग गर्न र साथ दिन तयार रहेको बताएका थिए।
`नारायणी टुडे´का प्रकाशक /सम्पादक पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उनले पत्रिकालाई मेरो हाेइन, हाम्रो बनाउन खोजेको बताए । पौडेलले पत्रिकाको आजीवन सदस्य बनेर साथ दिन सबैलाई अनुरोध समेत गरे।
रामजानकीका बालिकाहरूले स्वस्ति वाचन गरेर सुरू गरिएकाे कार्यक्रमको संचालन डा.भारती रेग्मीले गरेकी थिइन्।
Facebook Comment