होहल्ला गर्ने डच केटाकेटीलाई खेलमैदानमा प्रतिबन्ध

डिसी नेपाल
२७ असार २०७६ ६:४४

बीबीसी । केटाकेटीहरूले धेरै होहल्ला गरेका कारण नेदरल्याण्ड्सको एक प्राथमिक विद्यालयको खेलमैदान बन्द गर्न आदेश दिइएको छ।

नाइमेगन नगरको डे बट प्राथमिक विद्याललाई यो महिनाको अन्त्यसम्ममा केटाकेटीहरूलाई खेलमैदानमा आउन निषेध गर्न आदेश दिइएको छ। अन्यथा उसले १० हजार युरो जरिवाना तिर्नु पर्नेछ।

आवासीय क्षेत्रमा ७० डेसिबलभन्दा चर्को ध्वनि निकाल्न नहुने सीमा केटाकेटीहरूले नाघेको भन्दै स्थानीय बासिन्दाहरूले विद्यालयविरुद्ध नगर परिषदमा उजुरी गरेका थिए।

त्यसपछि अधिकारीहरूले त्यस क्षेत्रको ध्वनि मापन गरेका थिए जसका क्रममा त्यहाँको ध्वनिको तह ८८ डेसिबल पाइयो।

तर खेलमैदानमा केटाकेटीलाई प्रतिबन्ध लगाउने नगर परिषद्को निर्णयको आलोचना भइरहेको छ। करिब ४,००० मानिसले हस्ताक्षर सङ्कल गर्दै परिषद्लाई ४० वर्ष पुरानो खेलमैदानमा प्रतिबन्ध लगाउँने आफ्नो निर्णय फिर्ता गर्न दबाब दिइरहेका छन्।

‘यो अनौठो परिस्थिति हो। यो बच्चाहरूको लागि अन्याय हो,’ त्यो विद्यालयकी निर्देशक ज्यानेक कोल्सेनले दे भोल्कस्क्रान्त समाचारपत्रसँग भनिन्। ‘बच्चाहरूलाई भित्र जानका लागि दबाब दिइ रहनु पर्दा हामीलाई गाह्रो भइरहेको छ।’

उनका अनुसार स्थानीय बासिन्दालाई खुसी पार्न सङ्गीत अभ्यास र अन्य क्रियाकलाप कक्षा कोठामै गराउन थालिसकिएको छ।एक सांसदले स्थानीय बासिन्दा आफैँ खेलमैदान नजिकै बस्न गएकोले समस्या उत्पन्न भएको बताए। ग्रिन पार्टीका एक पार्षदले चाहिँ परिषद्को निर्णयको बचाउ गरे।

उनले भने ‘यो कठिन मुद्दा हो। ध्वनिको तह निकै चर्को भएकोले हामीले कुनै निर्णय गर्नु परेको हो।’ संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफका अनुसार डच केटाकेटीहरू विश्वकै सबैभन्दा खुसी मध्येमा पर्दछन्।

परीक्षाको दबाब कम हुने र खेल खेल्दै सिक्ने पद्धति बसाइएकोले उनीहरू खुसी भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *