प्रेम दिवसमा सौराहामा बढेन रौनकता
चितवन। बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन्। होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन।
विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन्। क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष घिमिरेले भने ‘प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन। यहाँ जारी खाना महोत्सवमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक कम छन्।’
नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौंसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ। त्यस्तै मुग्लिन पोखरा र नारायणगढ–बुटवल सडकको अवस्था पनि उस्तै छ। सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ।
घिमिरेले आज बिहान मात्र करिब १० वटा होटलमा बुझ्दा अवस्था राम्रो नपाएको बताए। क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सवको प्रभाव होटलहरुमा पर्न नसकेको बताउँछन्। प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उनको भनाइ छ।
उनले भने, ‘गत वर्षमा प्रणय दिवसमा लगभग होटल भरिन्थे। यो वर्ष रौनक नै छैन।’ सौराहामा अहिले भइरहेको खाना महोत्सव, केही दिन अघि सकिएको फिल्म महोत्सव र हात्ती महोत्सवको प्रभाव होटलको मा नपरेको उनी बताउँछन् । उनले थपे, ‘मेला महोत्सव खासै सफल हुन सकेनन्।’ मेला महोत्सवको आवश्यक मात्रामा प्रचारप्रसार हुन नसक्दा सोचे जस्तो उपयोगी नभएको उनको ठम्याइ छ।
क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको बताए। सौराहामा पाँच हजार पाँच सयजना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता छ। यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेष्टुराँ सञ्चालनमा छन्।
Facebook Comment