यूएन पुरस्कार, प्रकृतिलाई उपहार

बर्षौं लामो परीक्षण। वर्षौं लामो मूल्यांकन। अन्ततोगोत्वा संयुक्त राष्ट्र संघ (युएन) को पारदर्शी मूल्यांकनको सही निश्कर्ष निस्कियो-नेपालको तराई भू-परिधि क्षेत्र (TAL) ले छिन्नभिन्न संरक्षण क्षेत्र र जैबिक मार्गलाई एउटा सुन्दर मालामा उनेको छ।

१० वर्षे जनयुद्धले खण्डीकृत र क्षयीकरण गरेको जैविक बिबिधताको भण्डार र विशेषतः छाता प्रजाति पाटेबाघको पुनरप्राप्ति भएको छ। भूपरिधि संरक्षणमा सरकारी निकायहरु, संरक्षण साझेदार संघ-संस्था र स्थानीय समुदायहरु दत्तचित्त साथ एकढिक्का भइ लागेका छन्।

फलस्वरुप बहुदेशीय, बहुभौगोलिक र बहुसांस्कृतिक रुप र रंगका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको छ। अन्तर्राष्ट्रिय संरक्षणका आदर्श, मूल्य र मान्यताको अक्षरश पालना भएको छ। प्रकृति र मानव दुबैलाई जितै जितको लाभ भएको छ र समग्रमा क्षयीकरण भएको प्रकृति माता (मदरनेचर) लाई दीर्घकालीन फाइदा पुगेको छ।

प्रकृतिको अदृश्य र अनुपम शक्ति। प्राकृतिक नारा थिएन। तर सबैको सामूहिक र एकीकृत प्रयासबाट चुपचाप प्रकृतिको पुनरभरण भयो। पुनरप्राप्ति भयो। धर्तीभरि हरियाली छायो। प्रकृति चम्कियो।

यसरी निर्धारित युएन मापदण्डको अग्नि परीक्षामा नेपाल खरो उत्रिन सफल भयो। र, उत्कृष्टताको युएन पुरस्कार र सम्मान बाजी मार्‍यो।
ठूलो सलाम छ प्रकृति र संरक्षणप्रेमी युएनलाई।

अनि सलाम छ प्रकृति पुनरभरण र पुनरप्राप्ति गरेर विश्व संरक्षण समुदायलाई चकित, मोहित पार्ने धर्तीमाता (मदरअर्थ) लाई। चौतर्फी चुनौती र असफलताबाट लपेटिएर पनि प्रकृति संरक्षणको अग्नि परीक्षामा सफल उत्रने सुन्दर मातृभूमिलाई।

कहालीलाग्दो पृष्ठभूमि

द्वन्द्वले सबैभन्दा थिलथिलो र उजाड प्रकृति भएको थियो। पर्सा, शुक्लाफाँटा र बर्दियामा पाटेबाघको संख्या घटेर क्रमशः ४, ८ र १८ मा झरेपछि बिज्ञहरुले त्यो ल्याण्डस्केपबाट पाटेबाघ लोप हुने भविष्यवाणी गरेका थिए। गैंडाको क्षति उस्तै कहाली लाग्दो थियो।

बाघको आहार प्रजाति सफाया भएर निकुञ्जहरुमा कुकुरहरुको एकछत्र राज थियो। अतिक्रमण, बन फँडानी र बन्यजन्तुको बासस्थान बिनासले प्रकृति संरक्षण भताभुंग भएको थियो।

चोरी शिकारी र तस्करलाई इतिहासमै सबसे सुबिधाजनक सुनौलो युग प्राप्त भएको थियो। निकुञ्जहरु माओवादीको आश्रयस्थल भएर दिनदहाडै बाघ, गैंडा लगायतका दुर्लभ बन्यजन्तुहरुको चोरी शिकार भइरहँदा नेपाली सेनालाई र्निवश्त्र भएको शरम र पीडा थियो।

श्रेय कसलाई ?

पहिलो श्रेय परिकल्पनाकारलाई; जसले पृथ्वीको टाढा अर्को कुनाबाट पाटेबाघ र मान्छे दुबै धरापमा परेको देखे र छिन्नभिन्न बाघ र बनलाई एउटा बलियो धागोमा उनेर सग्लो माला उन्ने सपना देखे।

अनि बम बारुद छल्दै कुदेर बिस्तृत फिल्ड सर्वेक्षण गरी सरोकारवाला निकायहरुसँग सघन छलफल गरेर यो महत्वकांक्षी आयोजनाको खाका तयार पारे। संरक्षणबिज्ञ मित्रहरु एसएस नेगी, एरिक, जुडी, अनिल मानन्धर, मिङ्मा शेर्पा, शिबराज भट्टलगायतको त्यो साहसिक टिमको प्रशंसा गर्न म सँग शब्द छैन।

राम्रो कामको शीघ्र पहिचान, कदर र सम्मान गर्ने तत्कालीन कट्टर संरक्षणबिद्हरु महानिर्देशक तिर्थमान मास्के र बिश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा. चन्द्र गुरुङको ग्रीन सिग्नल र संरक्षण संकल्पको जति प्रशंसा गरेपनि कमै हुन्छ।

बिरामी भई थलिएकी प्रकृतिले होनहार नेतृत्व पाएकी थिइन्। पहलता र निर्णय शीघ्र लिने। मौखिक आदेशमा काम फच्चे गर्ने र परिणाम निकाल्ने। ब्रिफिङ सुन्न स्टाफका कार्यकक्षमा दगुर्ने। सुरक्षागार्डलाई “सुट् एट् साइट्” आदेश दिने।

नेपाली सेनालाई निकुञ्जको सीमा समातेर होइन बाघ र गैंडाको पछि लागेर बफरजोन र त्यो भन्दा बाहिर टाढा जाने अधिकार मन्त्रिपरिषदबाट पास गराएर दिने। बाघ दोब्बर बनाउने परिकल्पना कोर्ने र बिश्वमञ्चबाट पारित गराउने।

प्रधानमन्त्रीलाई माइकेनिया झार उखेल्न सामेल गर्ने। कालापत्थरमा संरक्षण मिटिङ गरेर बिश्वलाई संरक्षण सचेतनाको सन्देश दिने। ठाडो आदेशमा बिना बजेट बाँके राष्ट्रिय निकुञ्ज घोषणा गर्ने र २४ घण्टाभित्र सेना तैनाथ गराउने।

अर्को दिनमा गौरीशंकर र अपिनाम्पालाई संरक्षण क्षेत्र घोषणा गर्ने। बाघ बढाउन बाँकेसँगै पर्सा निकुञ्जको बिस्तार र बर्दिया मध्यवर्ती क्षेत्रको विस्तार गर्ने। बोल्यो कि चाहियो।

पंक्तिकारले आजसम्म त्यस्तो भिजनरी, साहसिक, स्मार्ट र गर्वयोग्य नेतृत्व देख्न पाएको छुइन। ताल आयोजना छिनमा द्रूत गतिमा अगाडि बढाउन तत्कालीन बनको नेतृत्व दीपक बोहोरालाई ठूलो श्रेय जान्छ।

यी दूरुदर्शी संरक्षणप्रेमी नेतृत्वको आदेश भुँइमा खस्न नपाउँदै तामेली गर्‍यो नेपाली सेनाले। २४ घण्टा भित्र बाँके, मकालुबरुण र ढोरपाटनमा सेना तैनाथ गरिदियो। बफरजोन र बाहिर गएर दूर्लभ बन्यजन्तुको अनुगमन र सुरक्षा दिने एसओपि जारी गर्‍यो।

प्रधानसेनापतिबाट “गर नत्र मर (डू अर डाई)” नारा र मिसन पायो निकुञ्जको फौजले। तत्कालीन प्रधानसेनापति रुकमाङ्गद् कटवालले आफूले चढिरहेको जिप लगायत आवस्यक श्रोतसाधन खन्याए जंगल ड्यूउटीमा।

यो प्राथमिकता परिवर्तनलाई संस्थागत गरे सबै प्रधानसेनापतिहरुले। जवाफदेहीता बृद्धिसहितको दोश्रो होइन, त्यो पहिलो प्राथमिकताले संरक्षणलाई शून्य शिकार उपलब्धीमा पुर्‍याउन बाटो देखायो।

नेपाल प्रहरीको सिआइबी पिलार फोरको स्थापना र सक्रियताले वन्यजन्तुको अबैध ब्यापारको नसा जरा काटिदियो। पछि सशस्त्र प्रहरीबलको सीमा सुरक्षा जिम्मेवारीले संरक्षणलाई सुदृढ बनाउन योगदान पुर्‍यायो।

शक्तिशाली प्रकृतिको अहोभाग्य। बिश्व बैंकले त्यही बेला ग्लोबल टाइगर इनिसिएटिभ् मार्फत पाटेबाघ बढाउने काम गर्‍यो। सम्मानजनक श्रेय संरक्षणमा समर्पित स्थानीय समुदायहरुको त्याग र बलिदानीलाई जान्छ।

राजनीतिक दल प्रायोजित बिरोधका आवाजहरुसँग लड्दै, जित्दै यो आयोजनाको अपनत्व र स्वामित्व लिने स्थानीय समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूह, महिला संरक्षण संजाल, संरक्षणप्रेमी शिक्षक विद्यार्थीहरुको इको क्लबहरुको संरक्षण योगदानको जति तारिफ गरेपनि कमै हुन्छ।

सरकारी निकाय, ताल कार्यक्रम र सबै संरक्षण साझेदार संघ संस्थाहरु, फिल्ड फ्रण्टलाईन संरक्षणकर्मीको योगदान सधैं कदरयोग्य रह्यो। त्यो संकटको घडीमा बिश्व वन्यजन्तु कोषको सपना, परिकल्पना, संयोजन, सहयोग र संरक्षण मूलधारमा सबैलाई समेटेर लगेको एउटा असल अभ्यासले आज अन्तर्राष्ट्रिय स्याबासी र सम्मान पाएको छ।

बिश्वलाई संरक्षणको नयाँ पाठ सिकाएको छ। बिशेष आभार छ पंक्तिकारको तत्कालीन शिवदल गुल्मलाई पुरस्कृत गरेर अरु सँगसँगै नेपाली सेनाको पनि संरक्षण हौसला बढाउने बिश्व वन्यजन्तु कोषलाई।

गर्वयोग्य परिणाम

पाटेबाघ पुनरप्राप्ति गर्ने यो गौरवशाली आयोजनाले बाघ दोब्बर गरेर २५० पुर्‍याउने संकल्प गर्दा बाघको संख्या झण्डै तेब्बर ३५५ पुग्यो। जैबिक मार्गहरुले पुनरजीवन पाउँदा बन्यजन्तुको स्वतन्त्र हर्कत संभव र सुनिश्चित भयो।

फलस्वरुप सन् २०१८ मा बाँकेको क्यामरा ट्रयापमा परेको पाटेबाघ २०२२ मा छिमेकी भारतको सोहेल्वामा देखा परेको आयान, मोहित र वाई भी झालाले बैज्ञानिक पुष्टि गरे। त्यो बाघ सोहेल्वा टाइगर रिजर्भलाई बरदान भयो। त्यहाँ बाघ पुनः फैलियो। अन्तरदेशीय बाघ बिस्तारको एउटा सुन्दर प्रतिनिधि उदाहरण।

बाघको संख्या झण्डै तेब्बर हुनु भनेको आहार प्रजातिको ३ गुना बृद्धिको प्रमाण हो। बाघ बढ्दा गैंडा हात्तीलगायतका दुर्लभ वन्यजन्तुको स्वत बृद्धि भयो। बासस्थानमा ब्यापक सुधार आयो।

बासस्थान सुधारको नमूना हेर्न अन्तर्राष्ट्रिय भीभीआईपी र सेलिब्रेटीहरु खाता कोरिडरस्थित डल्ला होमस्टेमा पुगे। ७ करोडको कारोबार गर्ने डल्ला होमस्टेको आतिथ्यता स्विकारे। स्थानीयको खुशी र सुख अनुभूत गरे।

बाघ हात्ती गैंडाले आँगनबाट नेपाल-भारत ओहोरदोहोर गरेको रामराज्य देखेर खुशी भए। डल्ला होमस्टेले वेलायतका राजकुमार ह्यारी, फिनल्याण्डका न्यायाधीश, नामिबियाका सांसदहरु, टाईटनिक हीरो लियोनार्डो डिक्याप्रिओ लगायत धेरैलाई न्यानो आतिथ्यता दिने अवसर पायो।

समग्रमा पूर्वमा नेपालको बागमतीदेखि पश्चिममा भारतको यमुना नदीसम्मको ५१,००२ बर्ग किमि क्षेत्रको प्राकृतिक र आर्थिक सामाजिक रुपान्तरण र उन्नयनमा यो आयोजना बरदान भयो।

नेपालको ९०० किमि याने कि २४,७१०.१३ बर्ग किमिमा बसोबास गर्ने आदिबासी बिपन्न बर्गलाई थुनेर हटाएर धपाएर होइन संरक्षणमा सहभागी गराउँदै मालिक बनाई क्षमता अभिबृद्धि र आयआर्जनका अवसर प्रदान गरेर हरित उद्यम र सम्बृद्धिको बाटो देखाइदियो।

हरित पुनरभरणले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा योगदान पु¥यायो। बिपद् रोकथाममा सहयोग पुग्यो। कार्बन ब्यापार र क्षतिपूर्तिको दायरा बढाइदियो।

यो आयोजनाको क्षेत्रभित्र पर्ने ५ वटा निकुञ्ज, एउटा कृष्णसार संरक्षण क्षेत्र, चार वटा बन संरक्षण क्षेत्र, ३ रामसार क्षेत्रका बन्यजन्तुहरु आज संरक्षण क्षेत्रभित्र मात्र कैद छैनन्। बरु सिलाई बुनाई टालटुल गरेर जगाइएको दर्जनौं जैविकमार्ग र टाढा टाढाका वन क्षेत्रमा निर्वाधरुपमा हर्कत र बिचरण गर्न सक्ने भएका छन्।

अन्य प्राकृतिक पुनरभरण र वातावरणीय अमूल्य सेवालाई पैसासँग तुलना गरेर प्रकृतिको अवमूल्यन गर्नु अनैतिक मुर्खता हुनेछ। सन् २०५० सम्मको यो आयोजनाले भविष्यमा अझ धेरै सफल र सुखद् परिणामहरु दिने कुरामा धेरै प्रकृति र संरक्षणबिज्ञहरु आशावादी देखिन्छन्। यो अन्तर्राष्ट्रिय सम्मानले आयोजनालाई थप उर्जा र हौसला प्रदान गर्ने अवस्यम्भावी छ।

प्रकृति भरोसा

परिवर्तनपछिको २० वर्षमा अरुले जस्तै द्रुततर बिकासको लय समाउन र समृद्धिको फूल फुलाउन सकेको भए यो पुरस्कार र सम्मान सुनमा सुगन्ध हुने थियो। प्रकृतिको धनी देश नेपाललाई स्विट्जरल्याण्ड र सिंगापुर होइन, पुरानै प्रकृतिको मौलिक नेपालमा फर्काउन जरुरी थियो।

राजनीतिक नाराले सहर घन्कायो, आकास छेड्यो, तर उल्टो भ्रष्टाचारजन्य कुशासनले झन चरम रोग भोक अशिक्षा र गरिबी थोपर्‍यो। जुन प्रकृति सरक्षणका लागि सबैभन्दा ठूला बाधा हुन्।

शिक्षाले सचेतना बढाउन र समृद्धिले भोको नांगोे शरीर पुरेर जनतालाई सामान्य रोजगार दिई १ तले पक्की घरमा मात्र राख्न सकेको भए आज मानव-वन्यजन्तु द्वन्द्व हुने थिएन। प्रकृतिमाथि अतिक्रमण र कब्जा हुने थिएन । कन्दमूल र निगुरोमा ज्यान फ्याँक्नुपर्ने थिएन।

प्रकृतिको अदृश्य र अनुपम शक्ति। प्राकृतिक नारा थिएन। तर सबैको सामूहिक र एकीकृत प्रयासबाट चुपचाप प्रकृतिको पुनरभरण भयो। पुनरप्राप्ति भयो। धर्तीभरि हरियाली छायो। प्रकृति चम्कियो।

दुर्भाग्य, परिवर्तनपछि राष्ट्रिय एकताको माला चुँडियो। विखण्डनको बीउ रोपियो। आज एकता एकादेशको कथा भयो।

मानवद्वारा छिन्नभिन्न खण्डीकृत जैबिक बिबिधतालाई प्रकृतिले गाँसेर, जोडेर, जगाएर देखाई दिइन्। प्रदेशहरुका चिराचिरालाई जोडेर एकछत्र एक घर बनाएर देखाइ दिइन्।

जातीय, क्षेत्रीय, सांस्कृतिक बिभाजनलाई एकढिक्का बनाएर छातीमाथि बाघ बिचरण गर्ने साझा बिशिष्ट थलो निर्माण गरेर देखाइ दिइन्। दुई देश बीचको खाडल पुरेर अन्तरदेशीय प्रेम, सद्भाव र बिश्वास निर्माण गर्न प्रकृति बरदान भइन्। सम्मानित आयोजनाले आज दुई देश बीचको अन्तरदेशीय सम्पर्क सम्बन्ध, समन्वय र सहकार्यलाई विशिष्ट र अति विश्वसनीय बनाएको छ।

यो सम्मानले आफैंले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संरक्षण सन्धि सम्झौताको बर्खीलाप पृथ्वीका गहना दुर्लभ पाटेबाघको शिकार गर्ने गराउने हुँकार त्याग्नलाई बनको नेतृत्वलाई नैतिक जिम्मेवार बनाउनेछ। नीति निर्माताहरु र प्रशासकहरुको आँखा कान ध्यान खोलिदिने छ र संरक्षण जवाफदेहीता भरिदिने छ।

संरक्षण क्षेत्रका वास्तविक मालिक तर बिपन्न जनताको गासबास कपास खोसेर दास बनाउने कार्यबिधिलाई रद्दीको टोकरीमा फ्याँक्न शुद्धी र साहस भर्नेछ।

गरिब जनतालाई पाखा लगाएर अमुक ब्यापारीलाई संरक्षण क्षेत्रको सम्वेदनशील हट्स्पट् कोर एरियामा छिराउने ब्यापारिक षड्यन्त्र त्याग्न बाध्य पार्नेछ। र, प्रकृति र प्रकृतिप्रेमी भोका नाङ्गा जनताको हितमा उभिने बैशाखी हातमा थमाउने छ।

निचोड

पुरस्कारको प्रमुख श्रेय प्रकृति संरक्षणको नेतृत्व लिने नेपाल सरकार, बन तथा वातावरण मन्त्रालयलाई जान्छ। प्रकृति संरक्षणको क्षेत्रमा सफलता र उत्कृष्टताको सम्मान पाउने नेपाल सरकारले राजनीतिक, आर्थिक कुटनीतिक सफलता किन नपाउने? शीघ्र प्रकृतिको र पशुआशिष लागोस्।

मानव-वन्यजन्तु द्वन्द्व समस्या होइन। समस्या कुशल, गतिशील, स्मार्ट, प्रकृतिप्रेमी, संरक्षणप्रेमी, वातावरणमैत्री बिकासप्रेमी राजनेताको हो। १० वर्षमा प्रकृतिले नेपाललाई सम्बृद्ध बनाउने छिन्।

यो सम्मानलाई अवसरमा बदल्न राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले पहलकदमी लिउन्। आयोजनालाई देशव्यापी बनाएर अरु विश्व पुरस्कार जित्ने बाटो बनाउन्। नीति निर्माता र नेतृत्वले खोरमा कैद पाटेबाघहरुको सानदार प्राकृतिक पार्क बनाउन्।

र, स्थानीय प्रदेश एवं राष्ट्रिय गौरवको त्यो पुर्नस्थापना केन्द्रले राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटक अध्येता, अनुसन्धानकर्ताको माग पूरा गरोस् । सम्बृद्धिलाई पैसा छापिदियोस्।

यो सम्मानले नीति निर्मातालाई प्रकृति र गरिब जनसमुदायलाई शिरमा राखेर हरित सुशासन दिइछाड्ने संकल्प लिन उत्प्रेरित गरोस्।

यो सम्मान थाप्न चाटुककार, चटके, अनबिज्ञहरुको जन्ती लिएर होइन, बिषयबिज्ञको साथ लिएर जाने काम होस् र इमान्दार संरक्षण उर्जा एवं संकल्प लिएर प्रकृति माताको सत्य सेवामा बिलीन भएको धर्म कर्म देख्न पाइयोस्।

अन्त्यमा, यो भूपरिधि क्षेत्रको मुटु बर्दिया राष्ट्रिय निकुञ्जमा सेवारत रहेर प्रारम्भदेखि आज पर्यन्त यो पवित्र र महान् कार्यक्रमलाई प्रत्यक्ष देख्न भोग्न पाएकोमा पंक्तिकार गौरवान्वित छु।

बिहानीको चम्किलो किरणले कार्यक्रमको भविष्य उज्ज्वल छ भन्ने देखाउँछ नै, मद्यान्तरमा प्राप्त यो ऐतिहासिक र बिशेष अन्तर्राष्ट्रिय सम्मानले समग्र मुलुकलाई प्रकृतिमैत्री सुशासन र सम्बृद्धिको पथमा डोर्‍याउने छ भन्ने आशाको दियो बालेर यो बहुआयामिक बहुउदेश्यीय संरक्षण कार्यक्रम पूर्ण सफल भएको देख्न प्रतीक्षारत रहनेछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *