कविता : प्रिय दंश
प्रिय दंश!
चरम गुनासो सहितको
तिम्रो लामो सन्देश पाएँ !
चर्काे असन्तुष्टिका साथ भनेका रहेछौं –
“तिमीले मलाई सम्झदैनाैँ !
मेराे वास्ता गर्दैनौँ !”
प्रिय दंश!
उहिल्यै तिमीले मलाई मारेको बिर्सियौँ?
तिमीलाई मैले सम्झाउनु पर्दैन होला-
लासले न सुख सम्झन्छ
न त दु:ख र सम्बन्ध!
गम्भीर आरोपका साथ भनेका रहेछौँ-
“तिम्रो मन मान्छेको होइन रहेछ!
साथ बिर्सी जाने
तिमी त फकिर जस्तो रहेछाैँ!”
प्रिय दंश!
तिमीसँग भेट्दा
मसँग नाैनी जस्ताे काेमल मन थियाे !
तिमीले नै मेराे मनलाई सिमेन्ट जस्तो जम्ने बनाइदियाैँ !
एक्लै बस्न नसक्ने मलाई तिम्रो लत लागेको थियो !
तिमीले भुलेछाैँ
तिमीप्रतिको मेरो लत छुटाउन
मलाई उहिले हत्या गरेका थियाैँ!
खरानी बन्ने समय कुरी बसेको लासले
कसरी सम्झन्छ, विगत ?
कसरी खोज्न सक्छ
छुटेका सम्बन्धहरू ?
प्रिय दंश
गम्भीर आरोप सिहतकाे
तिम्रो सन्देश भेटेसँगै
म लास फेरि मरे !
कृपया
लासलाई पटकपटक नमार
प्रेमका नाममा गरेका अपराधका लागि
समयले तिमीलाई उहिले नै नेल ठाेकिसकेकाे छ
समयले दिने सजाय स्वीकार गर
प्रिय दंश !
Facebook Comment