धुलिखेल नगरपालिकाको ३८ औं स्थापना दिवस मनाइयाे
धुलिखेल। धुलिखेल नगरपालिकाको ३८ औं स्थापना दिवस मनाइएकाे छ। साे अवसरमा सात कन्याहरुद्वारा स्थापना दिवसकाे उद्घाटन गरिएको थियाे। स्थापना दिवसको अवसरमा धुलिखेल सरस्वती पार्कबाट नगर भित्रका विभिन्न स्थानमा विभिन्न झाँकी सहितको र्याली प्रर्दशन गरिएको थियो।
नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख निराजन जंगमले स्वागत गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, सम्मानित ब्यक्तित्व चण्डीप्रसाद श्रेष्ठ र बरिष्ठ संगितकार सुरेश अधिकारी लगायतले मन्तब्य राखेका थिए। सोही अवसरमा धुलिखेल नगर कप फुटबल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो।
नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेलले दिगो विकास लक्ष्य अनुसारका विकासलाई प्राथमिकतामा राखेको बताउँदै हरेक नागरिकहरुलाई गरिवीको रेखाबाट माथि ल्याउन, खानेपानी तथा सरसफाईमा पूर्ण रुपमा सहभागिता सहितको ब्यवस्थापन गर्न, स्वस्थ शहर निर्माण गर्न, हरेक तथ्यांकहरुलाई दुरुस्त राख्न र सोही अनुसार नगरका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने गरी कार्य भइरहेको जानकारी गराएका थिए।
धुलिखेल विश्वमै गुणस्तरीय र नागरिकमैत्री शहरका रुपमा चिनिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले गुणस्तरीय शिक्षा, गरिवी निवारण, गुणस्तरीय खानेपानी, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा कार्य गरिरहेको बताए।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमले धुलिखेललाई हेरेर सिंगो काभ्रेपलाञ्चोक जिल्लाको चित्रण हुने भएकाले धुलिखेल नगरपालिकाले गर्ने हरेक कार्यहरुलाई प्राथमिकतामा राख्न सुझाव थिए।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, पुर्व उपप्रमुख विमला शर्मा, जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, धार्मिक गुरु तथा अगुवाहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरु, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो। कार्यक्रममा लाखे नाच, खैजेडी भजन ब्रम्हायणी, इन्द्रायणी रुद्रायणी नृत्य प्रस्तुत गरिएको थियो।
Facebook Comment