घरमै कैदमा राखिएकी इमरान खानकी पत्नीलाई खानामा एसिड मिसाएर दिइएको आरोप

डिसी नेपाल
७ फागुन २०८० १३:३९

काठमाडौं । पाकिस्तानमा राजनीतिक संकट जारी छ । त्यहाँ कुनै न कुनै रूपमा निर्वाचन भयो तर अहिले कसले सरकार बनाउने र कसले प्रधानमन्त्रीको गद्दी पाउने भन्ने टुंगो छैन ।

यसैबीच पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले ठूलो आरोप लगाएकी छिन् । बुशराले आफूलाई विषाक्त खाना खुवाइएको बताइन् । उनका अनुसार उनलाई दिइएको खानामा एसिड मिसाइएको छ ।

इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का वकिल तथा बुशरा बीबीका प्रवक्ता मशाल युसुफजाईका अनुसार बुशरा बीबीले आफ्नो स्वास्थ्य लगातार बिग्रँदै गएको गुनासो गरेकी छन् । खानेकुरामा गडबडी भइरहेको उनी बताउँछिन् । इमरानकी श्रीमती बुशरालाई हाल उनको बानीगाला घरमा नजरबन्दमा राखिएको छ । उनलाई यहाँबाट कतै जान दिइँदैन। यसलाई उपजेल पनि भनिन्छ ।

मशालका अनुसार बुशराले उनलाई ६ दिनअघि खाना खुवाइएको बताएकी थिइन् । त्यतिबेला उनलाई आफूले खाएको खाना निकै मसलादार भएको महसुस गरिन् । खाना खाएपछि उनको मुख र घाँटीमा अल्सर देखा पर्‍यो । पछि उनले खानामा एसिड मिसाइएको थाहा पाइन् । खाना खाएपछि उनको स्वास्थ्य निरन्तर बिग्रँदै गएको छ । पीटीआईका वकिल मशालले बुशराले जेलमा आफूमाथि कस्तो व्यवहार भइरहेको छ भन्ने देशलाई बताउन चाहेको बताएका छन् ।

बुशराले आफूलाई हजार वर्षसम्म कैदमा राख्दा पनि केही फरक नपर्ने बताइन् । उनी सधैं इमरान खानको साथमा रहनेछिन् । उनले आफू आफ्नो अडानमा अडिग रहेको र इमरान खानको शक्ति साबित हुने बताइन् । इमरान खानसँगै तोषाखाना मुद्दामा दोषी ठहर भएकी बुशरा बीबीलाई उनको बनी गालास्थित घरमा बन्दी बनाएर राखिएको छ ।

पाकिस्तानमा हालै निर्वाचन सम्पन्न भएको छ । इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारहरूले यस चुनावमा धाँधली भएको आरोप लगाएका छन्। पाकिस्तानको चुनावमा भएको धाँधलीलाई लिएर इमरान खानकी बहिनी अलिमा खानुमले पीएमएल-एनले जनताको जनादेश चोरेको बताएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *