नयाँ ट्याक्सी खरिदमा एकाधिकार गरेको भन्दै ट्याक्सी व्यवसायीकाे विरोध
काठमाडाैं। २० बर्षे ट्याक्सीको सट्टाभर्नामा नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी यातायात व्यवसायीहरुले विरोध गरेका छन्।
बुधबार काठमाडौंमा पुराना ट्याक्सीको र्यालीसहित प्रदर्शन गर्दै सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदर संयुक्त संघर्ष समितिले ट्याक्सी व्यवसायी र स्वरोजगार मजदुरहरुलाई राज्यबाट ट्याक्सीको सट्टाभर्नामा एकाधिकार प्रणाली लागू गर्दा नयाँ ट्याक्सी खरिद गर्न झनै महँगो भएको जनाएको हो।
संघर्ष समितिले ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ, ग्यास लगायत अन्य वैकल्पिक उर्जाबाट चल्ने सवारी साधनहरु, सहज मुल्यका सवारीसाधन खरिद गर्न पाउनु पर्ने मापदण्ड लागू गर्न सरकारलाई आग्रह गरेको छ।
त्यस्तै, उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकार्षण गराएको छ भने ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाईएको एकाधिकार (सिण्डिलेट) लाई तत्काल खारेज गर्नुपर्ने साथै बैज्ञानिक तवरबाट ट्याक्सीको आयु तोकिनुपर्ने उनीहरुको माग छ।
उनीहरुले प्रशासनिक निकायहरुबाट चालक मजदुरहरुमाथी गरिने अनावश्यक गतिविधि बन्द गरिनुपर्ने समेत माग राखेका छन्।
Facebook Comment