गोदावरीको सुन्दर वनस्पतीय उद्यान
हामी सानै छँदाखेरीदेखि गोदावरीको सुन्दर वनस्पतीय बगैँचाको भ्रमण गर्ने गरेको हो। कहिले विद्यालयबाट शैक्षिक भ्रमणको सिलसिलामा त कहिले घरपरिवारको वनभोजमा।
त्यस्तै युवावस्थामा साथीसंगीसँग घुम्न जाने स्थलको रूपमा पनि चिनिन्थ्यो गोदावरी। पहिलेको शान्त, हराभरा र रमणीय गोदावरी क्षेत्र हाल आएर निकै घनावस्तीमा परिणत भएको छ।
जताततै अव्यवस्थित घरटहरा र यातायातको चापका कारण यो क्षेत्र पहिलेको दाँजोमा निकै अशान्त भएको छ। तर पनि काठमाडौँको कंक्रीट जंगलबाट केही समयको दूरी पार गरेपछि आउने गोदावरीको हरियाली र वरिपरिको हरित पहाडी दृश्यले भने मन अझैपनि प्रफुल्लित तुल्याउँदो रहेछ।
केही समय अघि हाम्रा स्कूले साना नानीहरूलाई घुमाउन हामी गोदावरी पुगेका थियौँ। निकै वर्षसम्म धुलो र खाल्डैखाल्डोले भरिएको हरिसिद्धिदेखि गोदावरीसम्मको करिव ८ किलोमिटर बाटो केही चौडा र कालोपत्रे पनि भएछ।
तर पहिले खेतैखेत हुँदै प्रकृतिका दृश्यावलोकन गर्दै गइने बाटोको दुवैतिर हाल लहरै घर बनेर बजार बसिसकेको रहेछ। बजार नै बसिसकेपछि त मानिसहरूको भिड पनि लाग्ने नै भयो।
पहिले लहरै खोलिएका विरुवाका अधिकांश नर्सरीहरूको ठाउँमा पनि घरैघर बनिसकेका रहेछन्। गोदावरी चोकमा नै पनि निकै घर र भिडभाड।
एउटा राम्रो कुरा चाहिँ साझाले त्यो रूटमा आफ्नो बससेवा सञ्चालन गरेकोले आवतजावतमा भने राम्रो र भरपर्दो सुविधा पुगेको रहेछ। निजी सवारीको भिडभाड र प्रदूषण त छँदैछ।
गोदावरी उद्यानको मुलढोका पुग्ने ठाउँमा बाह्र वर्षे मेला लाग्ने कुण्ड र धाराहरू छन्। त्यो ठाउँ पहिले पहिले निकै रमणीय हुने गर्दथ्यो भने हाल आएर त्यहाँ पनि धेरै निजी घरहरू बनिसकेछन्।
तर सो धारा र कुण्डको भने जिर्णोद्धार गरेर आकर्षक बनाइएको रहेछ। उद्यानको मुलढोकामा बदाम, सुन्तला तथा अन्य कट्याक-कुटुक खाद्य वस्तुहरू र पानी अनि जुस बिक्री गर्ने ससाना छाप्राहरू।
टिकट काटेर भित्र पस्ने वित्तिकै शौचालयहरूको राम्रो व्यवस्था तर सरसफाईमा अझ बढी ध्यान दिनु पर्ने अवस्था। शौचालयको राम्रो व्यवस्था उद्यानका विभिन्न क्षेत्रहरूमा पनि रहेछ। प्लास्टिकका झोलाहरू भित्र लग्न मनाही गरिएको।
झोलाहरू तथा अनावश्यक फोहर र प्रदूषण गर्ने वस्तुहरू भित्र लग्न नदिन सामानको चेकजाँच नै हुँदो रहेछ। भित्र पस्ने वित्तिकै पहिले पहिलेका रमाइला कुराहरूको याद आयो।
वास्तवमा नेपालमा जनयुद्ध भनिएको द्वन्द्वात्मक समयले राजनैतिक रूपमा आज आएर एक थरीलाई निकै फाइदा पुर्याएको भए तापनि मुलुकमा बल्ल तल्ल बन्दै गरेका धेरै संरचना तथा पूर्वाधारहरू त्यतिबेला ध्वस्त पार्ने काम पनि भयो।
यही द्वन्द्वको फलस्वरुप गोदावरी जस्ता बगैँचामा पनि मानिस आउन बन्द भएर र त्यहाँको हेरचाह गर्ने कर्मचारीको निम्ति पनि खतरा बढेकोले यो स्थल निकै समयसम्म मानवविहीन हुनुका साथै परित्याग गरिएको स्थलको रूपमा रहन बाध्य भयो।
यसै क्रममा यसका किनाराका केही जग्गाहरू हिनामिना पनि भए होलान्। कोभिडको महामारीको कारण समेत केही समय यो एकान्त स्थल झनै सुनसान हुन पुगेको थियो।
सन् १९६२ तिर राष्ट्रियस्तरको वोटानिकल गार्डेनको रूपमा स्थापना भएको यो बगैँचाको सेरोफेरोमा राणाकालमा पनि त्यतिबेलाका प्रशासकहरू आएर केही दिन बिताउने पुराना सरकारी घरहरू अझै भेटिन्छन्।
२,७६० मिटर अग्लो फुलचोकी डाँडाको काखमा अवस्थित यो बगैँचा र यसको सेरोफेरो निकै हरियालीले भरिएको छ। फुलचोकीक्षेत्र धेरै पहिलेदेखिको हाइकिङ गर्ने रोमाञ्चक पथ पनि हो।
नामैले फूलैफूलको स्थल भनिएको फुलचोकीक्षेत्रको तल्लो भाग विभिन्न प्रकारका फूलहरू फूल्ने प्राकृतिक स्थल हो भने काठमाडौँ उपत्यकाका अन्य अग्ला डाँडाहरू जस्तै फूलचोकीको डाँडा पनि गुराँस तथा अन्य अग्ला ठाउँमा पाइने फूल तथा फलका विरुवा र वृक्षले भरिभराउ हराभरा स्थल हो।
दुइजना बेलायती आर्किटेक्टहरूले त्यतिबेला डिजाइन गरेको यो बगैँचाको कुल क्षेत्रफल ०.८२ वर्ग किलोमिटर छ र यो मध्ये ०.४ वर्ग किलोमिटरमा उद्यान बनाइएको छ, बाँकी खुला हरित क्षेत्र।
बोटविरुवाको अध्ययन, अनुसन्धान, संरक्षण तथा घुमफिरको उद्देश्यले बनाइएको यो उद्यान नेपालमा नै आफ्नै प्रकारको विशेषताले भरिपूर्ण छ। तर यसको उचित संरक्षण र सम्बद्र्धनमा भने अझै खासै ध्यान नपुगेको भान हुन्छ।
यो बगैँचाको बिचोबीचबाट प्राकृतिक खहरे खोला पनि आफ्नो स्वच्छतासहित बगिरहेको छ भने यसको एक किनारामा जापानीशैलीको बगैँचाको स्वरुप पनि बनाइएको छ।
विभिन्न प्रकारका चराचुरुङ्गी तथा पुतलीहरू हेर्दै उद्यानमा डुल्दाको मज्जा नै अर्कै। फुलचोकी र गोदावरी क्षेत्रमा करिव २५६ प्रजातीका चराहरू (नेपालमा पाइने चरामध्ये एक तिहाई) र करिव ३०० थरिका पुतली पाइन्छन्। यहाँ ४,५०० थरीका फूल फूल्ने र नफूल्ने वनस्पति पाइन्छन्। सुनगाभाका पनि धेरै प्रजाती यस क्षेत्रमा भेटिएका छन्।
उद्यानभित्र ठाउँ ठाउँमा वनभोज गर्ने स्थलहरूको विकास गरिएको छ र हिजोआज उद्यानभित्र खाना पकाउन वा आगो बाल्न भने मनाही गरिएको छ।
त्यस्तै विभिन्न खालका विरुवाहरूको अनुसन्धान र अध्ययनको निम्ति हरितघरहरू निर्माण गरेर पनि राखिएको छ। यस उद्यानको किनारामा कृषि अनुसन्धानशाला तथा कृषि र वनस्पतीशास्त्र सम्बन्धी अन्य कार्यालयका साथै इसिमोडको अनुसन्धानशाला पनि रहेको छ।
तर यी अनुसन्धानशालाहरूले कुनै ठोस कार्य गरिरहेका छन् वा ती निकायको पिकनिकस्थलमात्र भएका छन् भन्ने कुराको भने अर्को अनुसन्धान हुनु पर्ने देखिन्छ।
हालै महावीर पुनद्वारा लिखित उनको आत्मवृत्तान्तशैलीको पुस्तकमा उनले आफु अष्ट्रेलियाको मेलवोर्नस्थित एक वनस्पती अनुसन्धानशालामा जाँदा त्यहाँ विश्वभर पाइने ३०० भन्दा बढी थरीका गुराँसका विरुवा रहेको र नेपालबाट समेत बेर्नाहरू लगेर रोपिएको कुरा उल्लेख गरेका छन्।
म पनि सन् २०१९ मा अष्ट्रेलियाको भ्रमणमा जाँदा मेरा मेलबोर्न निवासी नेपाली साथीहरूले मलाई माउन्ट डेन्डिनोङ्गमा अवस्थित नेशनल रोडोडेन्ड्रोन गार्डेनको अवलोकन गर्न लगेका थिए। त्यहाँ गुराँसका निकै धेरै थरीका विरुवा र रङ्गीविरङ्गी फूल फुलेको देखेर म निकै प्रफुल्लित भएको थिएँ।
गुनकेशरी (ड्याफोडिल, पैयुँ (चेरी) र अन्य प्रकारका फूलका बोटमा पनि लटरम्म फूल फूलेका थिए। नेपालको राष्ट्रिय फूल रातो रंगको यानी लालीगुराँस भएकोले हामीले गुराँस रातो मात्र हुन्छ भनिठानेको हुन सक्दछ।
फागुन-चैत्रतिर नेपालको खासगरी पूर्वी पहाडमा लालीगुराँस फूलेर पुरै डाँडा रातो भएको हुन्छ। यस्तै यामतिर काठमाडांँका डाँडाकाँडामा पनि गुराँस फूल्ने गर्दछ।
अरू मुलुकहरूले आफ्नो देशमा नभएका वोट विरुवा पनि विभिन्न ठाउँबाट जम्मा गरेर हुर्काउँछन् र भव्य उद्यान तथा अनुसन्धानशाला बनाउँछन् तर हाम्रो नेपालमा आफुसँगै भएका सुन्दर वनस्पतिको पनि राम्ररी संरक्षण र अनुसन्धान हुन सकेको छैन। झनै गुराँस त हाम्रो राष्ट्रिय फूल हो।
महावीर पुनकै अध्ययन अनुसार विश्वभर पाइने ७०० प्रजातिका गुराँसमध्ये नेपालमा करिव ३० प्रजातिका गुराँस पाइन्छन्। विकसित मुलुकबाट हामीले सिक्नु पर्ने एउटा महत्वपूर्ण कुरा संरक्षण र अनुसन्धानको पाटो पनि हो।
गोदावरी जस्तै वनस्पतीय उद्यानहरू मुलुकका धेरै ठाउँहरूमा स्थापना गरेर विभिन्न क्षेत्रमा पाइने बोट–विरुवाको अनुसन्धान गरिनु पर्ने हो।
यसो गर्दा एकातिर आफ्ना मौलिक वनस्पतिको सम्बद्र्धन हुनुका साथै विदेशी बोट-विरुवाहरूको पनि संकलन गर्न सकिने थियो भने अर्को तर्फ यस्ता उद्यानहरूले आन्तरिक तथा वाह्य पर्यटक पनि यथेष्ट संख्यामा आकर्षित गर्न सक्ने थिए।
तर हामी कहाँ भएकै संरचनालाई समेत चलायमान अवस्थामा राख्ने कौशलता छैन वा भनौँ रूचि वा इच्छा नै छैन। हालै सञ्चार माध्यममा धनकुटाको पाख्रिवास कृषि केन्द्र धरासायी हुँदै गएको समाचार पढ्दा निकै दुःख लागेको थियो।
नेपालमा आफ्नै स्रोत र विदेशी सहयोगमा पनि धेरै कृषि अनुसन्धान केन्द्रहरूको स्थापना भएको छ। त्यस्तै यहाँ विश्वस्तरका दर्जनभन्दा बढी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरू छन्।
तर तिनको उचित व्यवस्थापन र सञ्चालन गर्न नसकेर ती रुग्ण बन्दै गएका छन् तथा तिनले ओगटेको जग्गा पनि अतिक्रमित हुँदै जाँदा पनि कसैको ध्यान त्यता गएकै छैन।
विकासको नाममा र विभिन्न प्रकारका स्वार्थका लागि तिनका निश्चित मापदण्डलाई समेत तोडमोड गर्ने परिपाटी त हामीकहाँ जस्तो कतै पनि पाइँदैन।
दक्षिण एशियाका विभिन्न राष्ट्रहरूमा निकै पुरानो समयदेखि ठूला ठूला उद्यानहरूको निर्माण गर्ने प्रचलन रहेकोले आजसम्म पनि ती उद्यानहरू ती मुलुकहरूमा व्यवस्थित तवरले राखिएका छन्।
खासगरी मुसलमान वादशाहहरूले हालको भारत र पाकिस्तानमा त्यस्ता ठूला उद्यानहरूको निर्माण गराएका थिए। बादशाहहरूको समाधिस्थललाई विशाल उद्यानको रूपमा सजाएर राख्ने चलनलाई निरन्तरता दिँदै भारतको राजधानी नयाँ दिल्लीमा राजघाटको निर्माण गरेर विशाल उद्यानसहित राजनेताहरूको समाधिस्थल निर्माण गरिएको छ र त्यहाँ वर्षेनी करोडौँ मानिसहरू भ्रमण गर्दछन्।
पाकिस्तानको लाहोरमा अवस्थित शालिमार गार्डेन र अल्लामा इक्वालको मकवरा, मिनारे पाकिस्तान अनि कराँचीमा अवस्थित मोहम्मद अलि जिन्नाहको समाधि पनि उद्यानको रूपमा नै प्रख्यात छन्।
त्यस्तै राजधानी इश्लामाबादको सख्खरपडीया उद्यान, मार्गेला हिल उद्यान पनि निकै लोकप्रिय वनस्पतीय उद्यान तथा भ्रमणस्थल हुन्। उता भारतको राजधानीमा अवस्थित ताजमहल परिसर, लालकिल्ला परिसर, हुमायुको मकबरा, आग्रास्थित ताजमहल परिसर आदीमा भएका उद्यानहरू विश्वप्रसिद्ध नै छन्।
गुलाफका विभिन्न प्रजातिको अनुसन्धान गर्ने रोज गार्डेन र अन्य फल, फूल तथा सागसब्जी र अनाजको अनुसन्धान गर्ने ठूला ठूला फार्महरू पनि दक्षिण एशियाली मुलुकहरूमा पनि छन्। तर हाम्रो राजधानीमा रहेका बालाजु, रानीबन, भण्डारखाल, वनकाली, दक्षिणकाली, ककनी, धुलिखेल जस्ता सानाठूला उद्यान बनाउन सकिने क्षेत्र निकै फोहर र अव्यवस्थित हुँदै गएका छन्।
उता धरानको घोपा क्याम्पमा रहेको हरित गल्फ कोर्स, सँगैको वन र वि.पि. अस्पतालले चर्चेको वनस्पतीय क्षेत्र र त्यहाँ भएका निकै पुराना रुखहरू समेत संकटमा पर्दै गएका छन्।
गोदावरी कै कुरा गर्दा राजा महेन्द्रले २०२२ सालमा स्थापना गर्न लगाएको यो उद्यान राजामहाराजाहरू होउञ्जेलसम्म उनीहरू त्यहाँ गइरहने र त्यतिबेला हुने गरेका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको भ्रमणको दौरान पनि डुलाउन त्यहाँ लगिने चलन भएकोले त्यतिबेला गोदावरी उद्यानलाई निकै स्याहार सुसारका साथ राखिन्थ्यो।
२०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेक हुँदा टुँडिखेलमा निर्माण गरिएको विशेष मण्डपलाई पछि गोदावरीको उद्यानको एउटा भागमा लगेर राखिएको थियो।
सोही मण्डपसँगै विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले वृक्षरोपण गर्ने स्थलको पनि विकास गरिएको थियो र सो क्षेत्र अझै पनि संरक्षित नै छ। त्यतिबेला र पछि सार्कको शिखर सम्मेलन हुँदा विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूले रोपेका वृक्षहरू अझै पनि त्यहाँ रहेछन्।
सन् १९७४मा युगोस्लाभियाका राष्ट्रपति मार्सल जोसेफ ब्रोज टिटो र उनकी पत्नीले रोपेका लालीगुराँसका बोट, सन् १९७७ मा म्यानमार (तत्कालीन वर्मा) का राष्ट्रपति उ ने विनले रोपेको सुन चाँपको बोट, सन् १९७८मा चीनका उपप्रधानमन्त्री तेङ्ग सियाओ पिङ्गले रोपेको मेटासेकुवाको बोट, सन् १९७८मा नै श्रीलकाका राष्ट्रपति जे.आर. जयवर्धने तथा उनकी पत्नीले रोपेका गुन्सीका बोट, सन् १९८१मा भारतका राष्ट्रपति निलम सञ्जिवा रेड्डीले रोपेको रूद्राक्षको बोट, सन् १९८२ मा बंगलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्साद र उनकी पत्नीले रोपेका देवदारका बोट, सन् १९८३मा पाकिस्तानका राष्ट्रपति जनरल मोहम्मद जिया उल हकले रोपेको चिनारको बोट, सन् १९८४मा चीनका प्रधानमन्त्री लि जियानीनले रोपेको रातो शिरीषको बोट, सन् १९८५मा माल्दिेभ्सका राष्ट्रपति मौमुन अब्दुल गैयुमले रोपेको किम्बुको बोट, सन् १९८६मा बेलायतकी महारानी एलिजावेथ र राजकुमार फिलिपले रोपेको पुँवालेको बोट, सन् १९८७मा रोमानियाका राष्ट्रपति निकोलाई चाउचेस्को र उनकी पत्नीले रोपेका शिरिङ्गेका बोट लगायत धेरै बोटविरुवाको अवलोकन गर्ने मौका पाइयो।
कुनै बेला आ-आफ्ना मुलुकका जल्दा-7-बल्दा शासकका रूपमा निकै काम गरेका यी व्यक्तित्वहरू मध्ये धेरै जनाको निधन भइसकेको छ।
झनै निकोलाई चाउचेस्को दम्पतिलाई त क्रान्तिकारीशैलीमा अति संक्षिाप्त न्यायिक जाँचबुझ (समरी ट्रायल) पश्चात् नै अमानवीय तवरले मृत्युदण्ड दिइयो। त्यस्तै जियाउल हक चढेको विमानलाई विस्फोट गराई उनको हत्या भयो।
यी सबै राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई नेपालमा आमन्त्रण गर्ने अति भद्र तथा विकासप्रेमी राजा वीरेन्द्रको पनि क्रुरतापूर्वक हत्या भयो भने उनले रोपेको विरुवा गोदावरीमा कतै भेटिएन। नेपालमा गणतन्त्र आएपछिका राष्ट्रपतिहरू डा. रामवरण यादव र विद्यादेवी भण्डारीले रोपेका विरुवा भने सुरक्षित छन्।
बीचमा यसको हालत खराब भएको भए तापनि हाल आएर फेरी यसलाई राम्रै तवरले व्यवस्थापन गरिएको भान हुन्छ। तर पनि गोदावरी उद्यानलाई एक पिकनिक स्थलमा मात्र सीमित नराखेर खासगरी काठमाडौँ उपत्यकामा पाइने विभिन्न प्रकारका वनस्पती, चरा तथा जीवजन्तु (फ्लोरा र फौना)को अनुसन्धान, संरक्षण, विकास गर्ने प्रमुख स्थलको रूपमा विकास गर्दा निकै नै हितकर हुन्छ। यसको निम्ति वनजङ्गल र डाँडाकाँडाले चर्चेको फूलचोकीको पुरै सार्वजनिक क्षेत्रलाई वृहत् गोदावरी उद्यानको रूपमा विकास गर्दा पनि भयो।
हुनत सरकारले हालै मात्र शिवपुरी वन्यजन्तु आरक्ष जस्तै फुलोकीक्षेत्रलाई पनि आरक्षकै दर्जा दिने निर्णय गरिसकेको छ र त्यसमाथि यो क्षेत्र एक वृहत् उद्यान र वनस्पति तथा जीवजन्तुको खुला अनुसन्धानशाला पनि बन्न सक्यो भने यसले मुलुकलाई धेरै प्रकारले फाइदा पु¥याउने थियो।
काठमाडौँ उपत्यकाभित्र घरैघर बनेर कृषियोग्य जमीन तथा रुखपात तथा हरियाली मासिएर भएको अव्यवस्थित शहरीकरणले गर्दा यस उपत्यकाको वातावरणमा निकै हानी पुगेको छ।
अब यो उपत्यकालाई अझै पनि केही हदसम्म स्वस्थ राख्न उपत्यका वरिपरी भएका डाँडाकाँडाको हरियालीलाई मासिन नदिने र शहरी क्षेत्रमा रहेका खुला ठाउँहरूमा समेत साना साना भएपनि हरित पार्क र वनको विकास गरेर वातावरण संरक्षणमा टेवा पु¥याउनु पर्दछ। विकासको नाममा कहिँ कतै पनि रुखपात काट्ने गर्नु हुँदैन।
यसको निम्ति कडा तथा कठोर कानुन र नीति नै निर्माण गर्नु पर्दछ। काठमाडौँको वन फँडानी गर्ने कार्यको शुरुवात चन्द्रशमशेरले गरेका हुन्।
जङ्गबहादुरले सानातिना सिकार खेल्न भनेर जोगाएर राखेको गोदावरी आसपास कै छरियाको जङ्गल मासेर त्यहाँका काठबाट सिंहदरवार बनाइएको रहेछ। पछि त्यहाँको बाँझो जमीन पनि हिनामिनामा प¥यो।
काठमाडौँको पश्चिमी पहाडी क्षेत्र जस्तै थानकोटतिर शहरीकरणले गर्दा हरियाली मासिँदै गएको छ भने बालाजुदेखि ककनी र शिवपुरी क्षेत्र भने अझसम्म संरक्षित अवस्थामा नै छ।
त्यस्तै पश्चिमको चन्द्रागिरि र फर्पिङ क्षेत्रमा पनि फाटफुट रुख कटानका साथै शहरीकरण बढेर गए पनि हरियाली कायमै छ भने गोदावरी र फुलोकीक्षेत्र भने अझसम्म पनि संरक्षित अवस्थामा नै छ ।
वातावरण संरक्षण, यहाँ पाइने वनस्पति र जीव-जन्तु, चराचुरुङ््गी र किरा आदीको संरक्षण तथा अध्ययन अनुसन्धानका लागि पनि काठमाडौँको चारैतिरको अति महत्वपुर्ण हरित वातावरणलाई जोगाएर राख्नै पर्दछ।
त्यस्तै उपत्यकाभित्र रहेका ससाना वन क्षेत्र जस्तै रानीवन, रानीबारी, बालाजु, वनकाली, भण्डारखाल, साँखु, बज्रबाराही, सूर्यविनायक, गोकर्ण आदीका साथै विभिन्न उद्यानहरूको सम्वद्र्धन हुनै पर्दछ।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।
Facebook Comment