कथा : पाँडुले

खेमराज पोखरेल
१२ फागुन २०८० ७:०९

प्रोफेसरको बेलायती कुकुर हो पाँडुले। प्रोफेसरको नाम विद्यासागर पराजुली हो तर मान्छे उनलाई हेल्मेट सर भनेर चिन्छन्।
०००००००
विद्यासागरको दिनचर्या बिहानको चार बजेबाट सुरू हुन्छ। बाथरूमदेखि किचनसम्म, नोट बुकदेखि ब्यागसम्म र पाँडुलेको पनि नित्यक्रिया उनले गर्नै पर्छ। हेल्मेट टिप्छन्। उनको पुरानो मोटर बाइक अल्छी गरी गरी कुद्छ।

बाइकले निकालेको कालो धुवाँ र खट्ट्ट्ट्ट्को आवाजले छिमेकीको मात्र होइन उनकै दिव्यश्रीको र छोराछोरीको पनि अविरल निद्रामा व्यवधान हुन्छ। त्यसो त उनकी दिव्यश्रीले भनेकै हुन्ः

‘कार किन्न त ल सकिस्सेन, जाबो एउटा अलि नयाँ मोडेलको सेल्फ स्टार्टर भएको बाइक किन्नु न’

‘किन किन्नु? काम चलेकै छ’

खोइ किन हो उनले श्रीमतीको यो कुरा मानेनन्। उनले मोटर बाइकलाई तलदेखि माथिसम्म अघिदेखि पछिसम्म हेरे। खुइलिए छ। र मनमनै भनेः

‘कति असल छ यो बाइक, यो बुढो भयो र पनि मसँग कुनै गुनासो गर्दैन। म जता जान्छु त्यतै जान्छ। तर यी परिवार? उप्m !’
उनको मनमा चस्स बिझ्यो अस्ति उनकी श्रीमती दिव्यश्रीले उनलाई भनेको कुरा।

‘एउटा सेक्सन अफिसर मर्नै खोजेको थियो। अलि पुड्के भनेर आमाबाबुले दिस्सिएन। खासमा दिदी धेरै जान्ने भएर त हो नि। अहिले ऊ भन्सारको डाइरेक्टर छ। हजुर गोरो सलक्क परेको रे। ह्यान्डसम रे। दिदी त मर्नै आँटेकी थिई। के गर्नु ह्यान्डसम टोक्न भएन’ भन्न त ख्याल ख्यालमै भनेकी हुन् दिव्यश्रीले।

बिहानको छ बज्नै लागेको थियो। उनले एक्सिलेटर जोडले घुमाए। बाइकले जोडले धुवाँ फ्याँक्यो। तर पनि उनी कलेज पुग्दा ६ः१० भएको थियो। प्राइभेट कलेजको जागिर।

प्रिन्सिपल साहेब गेटमै थिए। भनी हालेः

‘के हो विद्यासागर सर, यसरी कसरी चल्छ कलेज?

उनी सरासर कक्षा कोठामा पुगे। ब्याग खोले। प्रोजेक्टर झिके। बनाएको स्लाइड ल्याउनै बिर्से छन्। उनी अक्क न बक्क। बरू घरमा काम गर्न राखेको साइँलाले एक घण्टा त्यसै गफ गरेर बिताउँथ्यो होला। उनी एक इन्च पनि अघि बढ्न सकेनन्। पुराना थियोरी बटार बुटुर पारेर घण्टा बिताए। सात बजिसकेको थियो । फेरि अर्को कलेजतिर उनको बाइक कुद्यो। आठ बजिसकेको थियो। फेरि अर्को कलेज। दौडादौड। भागम्भाग।

नौ बजे बिहान उनले घर जानका लागि बाइकलाई आदेश दिए। नौदेखि एघार उनको खाना खाने समय। उनी घर पुगे। दिव्यश्री मञ्जनको गाजमा ब्रस घुमाउँदै नाइट ड्रेसमै दाँत उजिल्याउँदै थिइन्।

उनले भनिन्ः

‘हेरिस्यो न, साइँलालाई हनहनी ज्वरो आएछ। के गर्नु? असत्ति छ, हिजो आँपको टिकुला नखा भनेको, खाँदै थियो। आज ज्वरो आयो। हिजो बेलुकाको भाँडा नै माझेको छैन त्यसले। मलाई त्यसै त्यसै जिउ करकर गरेर राति राम्रो निन्द्रा नै परेन। छोराछोरी सुतिरहेका छन्। त्यो साइँलालाई सिटामोल ल्याइदिस्यो न’

उनले बाइक घुमाए। अस्पताल चोक पुगेर औषधि ल्याए। उनलाई रिङ्गटा चले जस्तो भयो। मनमनै कुरा खेलाएः ‘ठूला भएका छोराछोरी बिहान दस बजेसम्म सुतिरहने, सँगसँगै आमाचाहिँ पनि, अनि उनीहरुले के गरी खालान्? एक दिन त दिव्यश्रीले नै भाँडा माझेर भात पकाएको भए पनि हुने नि’

तर उनले खान पाएनन्। उनी फेरि फर्के अर्को कलेज। क्यान्टिनमा सोडा हालेको भात खाए। ब्ल्याकिया आफ्नै कलेजको पिउन भएकाले उनलाई धन्न ग्यास र पेट्रोलको लाइन लाग्ने समस्या छैन। उनको पिउन उनलाई भन्छः

‘सर, यो बाइक त अति पुरानो भो। सरले एम. कम. पढ्दा किनेको होला। फेर्नुस्। राम्रो मोडेल आएको छ। किस्तामा मिलाइ दिन्छु’

‘अर्कोपल्ट है’ उनले सहज भावमा जवाफ त फर्काए तर उनलाई त्यो पिउनसँग रिस र आरिस एकैपल्ट उठ्यो। उनले मनमनै भनेः ‘कम्ति मात्तिएको छ र यो पिउन मलाई पो सिकाउँछ’।

तर उनी उसलाई सामुन्नेमा केही भन्न सक्तैनन्। किनभने ग्यास र पेट्रोलको व्यवस्था गर्ने उनलाई फुर्सद छैन।

उनी बेलुका सात बजे लखतरान भएर घर पुगेका छन्। छोराछोरी बाहिर गएका रहेछन्। श्रीमती दिव्यश्री तल्ला घरे केप्छाकीकोमा आज एक दिनलाई भात पकाउने र भाँडा माझ्ने मान्छेको जोहो गर्न गएकी रहिछिन्।

०००००००
दिव्यश्री नामअनुसारकै राम्री। धनी बाउकी कान्छी छोरी। उनका बाबु उहिले नै जर्नेलबाट रिटायर भएका रे। ठकुरी बाबु साहेबहरुसँगको सङ्गतले उनी पनि त्यस्तै रवाफिला र सौखिन। घरमा नोकर चाकर। छोराछोरीले सिन्को भाँच्न नपर्ने। दिव्यश्रीले पढ्न चाहिँ सकिनन् तर उच्च घरानाका सान सौकतको चाहिँ पारखी बनिन्।

विद्यासागर पराजुली छ फिट अग्ला, गोरो वर्ण, मिलनसार, असल मान्छे, जेहेनदार पढाइ र अद्भूत सुन्दर बनोटका धनी। उनलाई आपूmजस्तै राम्री बिहे गर्ने ठूलो इच्छा थियो। तर पढे लेखेका कोही पाएनन्। दिव्यश्रीकी दिदी उनकी क्लास मेट थिइन्। दिदीले उनलाई एकोहोरो लभ त गरेकै थिइन् तर उनले भाउ दिएनन्। दिव्यश्रीको दिदीको बिहे भइहाल्यो।

एक दिन उनले दिव्यश्रीलाई उनकी दिदीसँग देखे। मोहित भए। दिव्यश्रीकी दिदी मार्फत प्रस्ताव राखे। दिव्यश्रीलाई माग्न धेरै थरी मान्छे आए। एउटा सेक्सन अफिसर पनि आएको थियो। जर्नेल साहेबलाई पनि ठिकै लागेको थियो।

यसै बीच उनको प्रस्ताबमा छलफल भयो। जर्नेल साहेबले उनलाई हेरेः ‘अहा! केटो त खाइलाग्दो छ’

दिव्यश्रीलाई त सेक्सन अफिसर पनि मन परेकै थियो। अरु आउने पनि मन परेकै थियो। बिहे गर्न मन लागेपछि दुई खुट्टा उभिएको भए हुन्छ भन्थे मान्छे। त्यस्तै भएको थियो दिव्यश्रीलाई। एक दिन जर्नेल साहेबले उनलाई घरमै बोलाए र सोध खोज गर्न थालेः

‘के भने चैं के नाम अरे तपाईँको?’

‘विद्यासागर पराजुली’

‘के भने चैँ, मावली ?’

‘तिवारी’

‘के भने चैँ, के गर्नु हुन्छ रे?’

‘विश्वविद्यालय क्याम्पसमा पढाउँछु’

‘पढेको कति रे?’

‘एम. कम., पि.एच.डी. सुरू गरेको छु’

‘हा हा हा, के भने चैँ, म पनि कस्तो? क्याम्पस पढाउने भने पछि त मास्टर्स त हुनै प¥यो नि’

चिया आयो। एउटा अर्दलीले ल्यायो चिया चमेना। शिष्टाचारपछि जर्नेल साहेबले कुराको प्रसङ्ग अघि बढाएः

‘हो नि, कलेज पढाउने भनेर के गर्नु? बैङ्कका सि.इ.ओ., सल्लाहकार, बोर्ड, राजदूत, पोलिटिकल नियुक्ति पाउने र भोलि मन्त्री हुने प्रोफेसर नै हुन्। नत्र त कलेजको जागिरले त चिया पान नै पुग्दैन। हाहाहाहा’

‘अनि के भने चैँ, प्रोफेसर साहेब, हाम्री दिव्यश्रीलाई माग्न आउनु भएको हो?’

‘हजुर’

‘के भने चैँ, के भन्छिन् त हाम्री मुनाजस्ती दिव्यश्री छोरी?’ छोरीपट्टि फर्किए जर्नेल साहेब।

‘के भन्नु र बाबा? बहिनीले त विद्यासागरलाई पहिल्यै मन पराएकी, हजुरको मर्जी भयो भने त उसले नाइनास्ती गर्ने कुरै छैन’ दिव्यश्रीकी दिदीले परिपाठ लगाइन्।

‘के भने चैँ, लौ त तिमीहरु त्यसो भन्छौ भने’

एकछिन सन्नाटा छायो। दिव्यश्री पुलकित हुँदै कोठाभित्र छिरिन् । विद्यासागर पनि दिव्यश्रीलाई पाउने कुराले हँसिलो भए। उनको कल्पनाले दिव्यश्रीको रुपलाई लपलपी चाट्यो। जर्नेल साहेबले यो मौनतालाई भङ्ग गर्दै भनेः

‘सबै कुरा पहिले नै भन्नु उपयुक्त हुन्छ। हाम्री दिव्यश्री अहिलेसम्म किचेनमा छिरेकी छैनन्। राजकन्या झैँ पालेको छु मैले। यो फ्रोफेसरको तनखाले मुस्किल होला। अहिले नै विचार गर्नु राम्रो हो’

‘हजुर, म दिव्यश्रीलाई फुलको थुँगालाई जस्तै पाल्छु, हजुरले सन्देह नलिस्यो’
०००००००

यो पाँडुलेलाई दिव्यश्रीले माइतबाट दाइजो ल्याएकी हुन्। बेलायती हो यो पाँडुले। तर किन हो किन यो त विद्यासागरसँग पो रत्तियो। सायद यसको हेरचाह उनैले गर्ने भएर होला। बिहान चार बजेको टट्टी, त्यसलाई खानेकुरा दिने त उनै हुन्। उनलाई देखेपछि पाँडुले पुच्छर हल्लाउँदै मालिक भक्ति देखाउँछ।

उनी बिहान पढाउन जाने बेलामा गेटसम्म पुग्छ। भुक् भुक् गरेर बिदाइ गर्छ। बेलुका आउने बेलामा पनि पुच्छर हल्लाउँदै गेटमा पुगेर स्वागत गर्छ। थाकेर आएको बेला छेउमा बस्छ र पुच्छर हल्लाउँछ। सायद पाँडुले भन्छ होलाः ‘पिर नगर्नु हजुर, जीवन यस्तै हो’

०००००००

गाउँ घरमा दशैं लागेको छ। उनको घरमा पनि दशैं आइ पुगेको छ। उनलाई उनको परिस्थितिले भन्छः ‘अस्तिजस्तो लाग्छ यो दशैं आएको, फेरि कति चाँडै आएको होला?’। उनी दिव्यश्री र छोराछोरीलाई लिएर ‘सपिङ निक्लन थाले।

‘हजुर, म त त्यो चोकसम्म हिँड्न सक्तिनँ, गएर ट्याक्सी ल्याइस्यो’ दिव्यश्रीले भनिन्।

‘ए बेटा, जाऊ त ट्याक्सी लिएर आऊ’ तेह्र वर्षे छोरालाई अह्राए।

‘आ, झ्याउ, म त जान्नँ’ छोराले जवाफ फर्कायो।

‘हजुर गइस्यो न, पुरानो ट्याक्सी त गन्हाउँछ नि, अलि नयाँ खालको ल्याइस्सेला’

उनी लुरुलुरु ट्याक्सी लिन चोकतिर लागे। पाँडुले पनि पछि लाग्यो। पाँडुलेलाई बोके। उनी ट्याक्सी लिन गएपछि दिव्यश्रीले छोराछोरीलाई भनिन्ः ‘के गर्ने? तिमीहरुका बाउलाई एउटा ‘स्यान्त्रो’ किनिस्यो न भनेको मान्ने होइन, तिमीहरु चाहिँ यो प्रोफेसर भन्ने न बन्नु है मेरो बाबु नानी’

‘ज्यान गए पनि बन्ने होइन, जाबो एउटा गाडी किन्न नसक्ने जागिर के खानू? तै पनि हाम्रो ड्याडीलाई कहिल्यै फुर्सद छैन। यसो फ्यामिली टुर जाउन भन्यो, मान्ने होइन’ छोराले भनी हाल्यो।

ट्याक्सी आयो।

सामान किनमेल हुन थाल्यो। उनीसँग कति पैसा छ, सोधिएन। बेला बेलामा उनी दिव्यश्रीलाई भन्थेः ‘अलि महँगो भयो कि सानू?’

उनी भन्थिन्ः ‘दशैंमा माइत जानु छ, घरमा जे जस्तो भए पनि माइतमा त इज्जत राख्नै पर्‍यो। दिदी पनि आउँछे। ऊ त आफैं जागिरे छे नि, उसको सेखी मार्ने गरी कोसेली पनि लानु पर्‍यो, लुगा कपडा त्यही अनुसारको लानु परेन? हजुरको पो चाला लथालिङगे छ त मेरो त माइतमा कत्रो भाउ छ। कत्रो इज्जत छ?, मलाई हजुरले जसरी पालेको भए पनि माइतमा त राम्रै देखाउनु पर्‍यो नि। नत्र बाबा दुःखी भइसिन्छ’

उनको सबै क्याम्पसको दशैं पेस्कीले छोपै लागेन। उधारो बोकेर फर्के। तै पनि छोराले चित्त बुझाएको थिएन। ऊ भन्दै थियोः ‘एउटा नयाँ विन्टर सुट किनौ न भनेको माने पो’
उनीहरु घर आए। उनले पाँडुलेलाई किनेको नयाँ बेड झिके। डग फुड बनाए र पाँडुलेलाई दिए। उसले पुच्छर हल्लाएर धन्यवाद दियो। काखमा आएर लुटुपुटु गर्‍यो। गालामा गाला जोड्यो । गालैमा चाट्यो।

उनकी श्रीमती दिव्यश्री र छोराछोरी पल्ला कोठामा कुरा गर्दै थिएः

‘यसपल्टको सपिङ झुर भयो, के गर्ने ? नसिब नै यस्तै भएपछि’ दिव्यश्री।

‘मैले त भन्या‘थेँ, ड्याडीलाई नलैजाऊँ भनेर, हजुर मानिस्सेन, ड्याडी त महा कन्जुस् हो नि’

उनले एक निमेष पाँडुलेलाई हेरे। उनलाई लाग्योः ‘यो पाँडुले कृतघ्न छैन, यो जसको जौ खानु उसकै जुँगा उखेल्ने गर्दैन’। पाँडुलेलाई अँगालो मारे। यसो खल्ती छामे। रित्तो थियो। उनले आफ्नी श्रीमती दिव्यश्रीलाई मनमनै धन्यवाद दिएः ‘धन्न यो पाँडुलेलाई दाइजो ल्याइछन्’

उनी पाँडुलेलाई बोकेर बगैँचातिर निस्के। आकाशमा कतै बदली थियो, कतै छ्याङ्ङ। पाँडुले उनको गाला चाटिरहेको थियो।
भोलिपल्ट उनले खुइलिएको बाइकको एक्सिलेटर निचोरेर जोड जोडले घुइँक्याए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *