कथानक र कालक्रमिक दृष्टिमा ‘रात अझै निकै छ’ उपन्यास
उपन्यासकार फटिक कटुवाल आजभन्दा ३५ वर्ष पहिले २३ वर्षका लक्का जवान थिए। त्यतिबेला नै उनका थप चार कृतिहरू जिन्दगी (महाकाव्य), ज्योती (उपन्यास), जीन्दगीका पानाहरूबाट (कविता सङ्ग्रह) र मानव धर्म (एक विवेचना) तयार भई अप्रकाशित नै थिए। ती हालसम्म प्रकाशन भएको जानकारीमा छैन।
ओखलढुंगाको ग्रामीण बस्तीबाट उच्च अभिलाषा लिएर काठमाडौं छिरेका कटुवालले अध्ययनमा समय बिताए। त्यो समय तत्कालीन पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउन एकथरी राजनीतिक गतिविधि थियो।
अर्काथरी गतिविधि राजनीतिमा साधारण परिमार्जनले हुदैन आमूल परिवर्तन आवश्यक छ भन्ने थियो । त्यही समयको परिवेशबाट प्रभाव युवा साहित्यकार फटिकले रचना गरेको देखिन्छ।
“रात अझै निकै छ” उपन्यास वि सं २०४५ सालको दशैँ र तिहारको बीचमा तयार भएको भन्दै लेखकले साहित्यलाई केवल साहित्यमात्र भन्दा साहित्य जीवनले सिर्जना गर्ने भएकाले यो जीवन उपयोगी हुनुपर्छ, मानवमूल्य र मान्यताद्वारा अभिप्रेरित साहित्य नै वास्तविक साहित्य हो भन्ने लेखकको ठम्याइ रहेको छ।
तसर्थ पनि मुक्तिका खातिर जुर्मराइरहेका लाखौँ लाख युवा युवतीलाई समर्पण गरिएको यो कृति मुक्तिको मार्गमा एउटा पाइला बनेको छ। १३४ पृष्ठको यो सिर्जना एकजना उर्वर स्रष्टाको पहिलो प्रकाशित प्रयासका रूपमा रहेको छ।
कथानकको अन्त्यमा पारिवारिक तथा सामाजिक झमेला अनि रोग र पिरले थलिएका वृद्ध हरिहरले क्रान्तिमा होमिन घरबाट निस्कँदै गरेको आफ्नो जेठो छोरा दिलीपलाई भावपूर्ण विदाइ गर्दै व्यक्त गरेको वाक्यांश ‘बाबू रात अझै निकै छ’ बाट उपन्यासको शीर्षक कायम गरिएको छ।
उपन्यासमा कथानक एउटा मध्यम वर्गीय ग्रामीण परिवार र समाजका घटनाक्रमहरुको विवरणात्मक स्वरुपमा रहेको छ। यो विवरण र उहापोहले त्तत्कालीन गर्मीण र शहरी दुवै समाजको वास्तविक चरित्र चित्रण गरेको छ । वर्गीय समाजको वर्ग स्वरूप स्थानीय परिवेश अनुसार उच्च घराना वा न्युन घराना दुवैको सापेक्ष बन्ने देखिने रहेछ भन्ने सन्देश दिएको छ।
उपन्यासमा मुख्य पात्रका रूपमा बाबु हरिहर उनकी श्रीमती, जेठो छोरो दिलिप, माइलो छोरो सरन उसकी दुलही रूपमाया र फुलमायाँ, छोरीहरू कोपिला र विना घरेलु कामदार चने गाउँको मुखिया, प्रधानपञ्च आदि रहेका छन्। परिवेशअनुसार अन्य पात्रहरु पनि विभिन्न समयमा देखिन्छन्।
दिलिप शिक्षण पेशामा रहेको छ। शिक्षक जागिर प्रति असन्तुष्ट हरिहरले दिलिपलाई परिवार पाल्न सक्दैन भन्दै विहे गर्न कर नै गर्दैनन्। माइलो छोरो सरन लाहुरे हुन्छ। उसको विहे त गरिन्छ तर शिक्षित बुहारी रूपमायाको चालचलन त्यो घरका लागि पाच्य हुँदैन।
सरन दोस्री श्रीमतीका साथमा लाहुरमै बस्छ। उ श्रीलंका युद्ध मैदानमा ‘यहाँ शान्तिलाई साइनाइट ग्याँसले भरिएको कोठाभित्र थुनिएको छ।’ भन्दै आफ्नो अवस्थालाई गोली र बारुद बोकेर शान्ति शान्ति भन्न गएकोजाँ नमिलेको ठान्दा ठान्दै मारिन्छ।
सरनको दोस्रो बिहे फूलमायाँसँग गरिएको हुन्छ । परिवारको इच्छा विपरित लाहुरे पतिसँग लाहुरमै गएर बसेकी फुलमाया पतिको मृत्यु पछि पाउने सरकारी सुविधा लिएर फर्किन लाग्दा कोठामा नै बलात्कृत मात्र हुन्न उसको सबै रकम लुटिन्छ।
यसपछि भौँतारिदै र मागी खाँदै हिड्न थालेकी ‘चिन्ता जन्माइदैन जन्मन्छ, खन्याइँदैन आफूले आफैँमाथिबाट खनिन्छ। ’ भन्ने फुलमायाँ दुखमा परेर जोगीको कुटीमा शरण लिन पुग्छे । गजडी जोगीले अनैतिक कार्य गरी फलमायको हत्या गर्छ र नदीमा फालिदिन्छ ।
सरनकी पहिलो श्रीमती रूपमती ‘आफ्नो लोग्ने छँदाछँदै दोस्राको मृतक लोग्नेको लिंगङ्ग पुजेर पतित्व र पतिव्रतको पाठ सिकाउन खोज्ने पतीत धर्म म मान्न तयार छैन। यो त धर्म पनि होइन शक्तिको पूजा हो सामन्ती प्रवृत्ति हो’ भन्दै विद्रोही देखिन्छे।
घरमा दुर्व्यवहार र पतिको लात खाएपछि उसमा ‘यही सामन्ति अवधारणाको शिकार म पनि बन्दैछु।’ भन्दै अब यसमा आगो सल्काउन सक्नु पर्ने सोच अझ बलियो भएर आउँछ। यसपछि गृह त्याग गरेकी रूपमायामा ‘सकेँछु भने दाइजो र तिलकका लागि विवाह गर्ने गलत सामन्ती सामाजिक धारणामाथि एकमुठी सास छउन्जेल डडेलो सल्काइ दिने प्रयत्न गर्नेछु।’ भन्ने अठोट रहन्छ।
पढेकी र धेरै कुरा बुझेकी हुनाले उ घरबाट विद्रोह गरेर समाज परिवर्तनको दिशामा जनजागरण गर्दै र माइतीमा त छोरीको कुनै अधिकारै छैन, यसमा परिवर्तन ल्याउनु पर्छ भन्दै गाउँगाउँमा महिला भेला गर्दै हिड्छे। कुनै दिन काठमाडौँमा अप्ठ्यारोमा परेका समयमा संयोगले जेठाजु दिलिपसँग उसको भेट हुन्छ र चिनजान हुन्छ।
कान्छो छोरो उकेशको पनि बिहे गरिन्छ र उ बुहारी लिएर घरबाट निस्कन्छ । उपन्यासमा यसपछि उनीहरूको कतै प्रशंग छैन ।
हरिहरका दुई छोरीहरु हुन्छन् कोपिला र विना। कमजोर आर्थिक अवस्थाले गर्दा विचैमा पढाइ छोड्न बाध्य बन्दै गरेको अवस्थामा बढ्दो उमेरसँगै कोपिला उचित प्रजजन् शिक्षाको अभावमा विग्रन्छे।
अवाञ्छित गर्भवती भएपछि त्यसको आत्मग्लानीले उ आत्महत्या गर्न पुग्छे । रूखमा झुण्डिएकी कोपिलाको लास चुडाल्न रूखमा चढ्दा त्यस घरको अति नै सहयोगी कामदार चने पनि त्यहीँ खसेर उसको इहलिला सकिन्छ।
अर्की छोरी बिना भने पढाइ छाडेर बाबुआमाको स्याहार सुरारमा व्यस्त रहन्छे। हरिहरकी श्रीमती विरामी पर्दा उपचार गर्ने रकम हुन्न स्थानीय मुखियाबाट रिण लिएर उपचार गरिन्छ। भाखामा रिण चुक्ता गर्न नसकेपछि धानफल्ने मुख्य खेत उसलाई बुझाउन हरिहर बाध्य हुन्छन् । यसरी दुखका दिनहरू बढ्दै जान्छन्।
रूपमायाको जागरण अभियानले प्रशासन हैरान हुन्छ। प्रधानको सुराकीमा गाउँमा पुलिस पस्छन् र समुदायमा उनीहरुको अभद्र व्यवहारले करीव आतंक मच्चिरहन्छ।
रूपमायाँ एकजना गाउँले बुढीमालाई सम्झाउँदै ‘मन्दिर त पापीहरूले पश्चाताप गर्ने ठाउँ हो। आफ्नै पसिनाको कमाइ खानेले मठमन्दिर धाउनै पर्दैन ’ । ‘ मानव मूल्य र मान्यतासँग सम्बन्धित अधिकारको उचित उपयोग गर्न पाउनुलाई मात्र हामीले नारी स्वतन्त्रता भनेर बुझ्नुपर्छ ’ भन्दै चेतना जगाइ रहन्छे ।
हरिहरलाई कुष्टरोग लाग्छ । बाख्रा चराउन गएकी विनालाई ‘कोर्याकी पिसाच’ भन्दै साथीहरूले हिर्काउँछन्। तर जब विनाले कम्मरमा भिरेको हसिया झिकेर जाइलाग्न खोज्छे तव सबै भाग्छन्। यसपछि उसमा आत्मसम्मानको भावना जाग्छ। छोरा सरह घरको जिम्मेवारी बोक्ने साहस बढ्छ।
दिलिपको विद्रोही चेत बड्दै जान्छ। उ ‘लक्ष्मी (धन सम्पत्ती)को सृष्टिले गर्दा मानवलाई अन्धो बनाएको छ। विवेक नभएको पशु बनाएको छ। अति कहाली लाग्दो कालो निस्पट सभ्यताको शिखरतिर मानव सभ्यतालाई धकेल्दैछ।’ ‘पैसाको थैलोलाई अगाडि राखेर पछिपछि थैलोलाई हेर्दै दौडदै आर्जन गरिने ज्ञानले यो समाज र दुनियालाई के दिन सक्छ र’ ? ‘इतिहासका कथाहरूमा पक्षधरतालाईप्रयोग गर्दै पक्षमा नै व्याख्या गरेका छन् ।’
राम र रावणका टाउका पड्केर लंकाको विनास भयो, अमेरिकनको जापानी टाउकामा तातेर हिरोसिमा खरानी भयो । अझै कस्ता के के पड्कने हुन् । सबैले टाउका तताएर बसिरहेका छन्। जो केही जसरी भएपनि टाउका सन्काइ रहेका छन्। जस्ता विद्रोही चेतनाले गाउँमै गएर समाज परिवर्तनका दिशामा लाग्न काठमाडौमा छदाखाँदाको शिक्षक जागिर राजिनामा दिएर गाउँ फर्कन्छ ।
उपन्यासको धेरै दृष्टिबाट समीक्षा गर्न सकिन्छ। यहाँ सामाजिक यथार्थवादी दृष्टिबाट हेर्दा मलामीहरू घर पुगेर ढोकामा खरानीको रेखी हालेर घरमा बस्ने संस्कार, नोकर चनेले तोस्रामा पोया बटार्दै गरेको, कुष्टरोगलाई सरुवा रोग मानेर घृणा गर्ने चलन।
अनुरहारै विरूप बनाएको र पछि दिलिपले उपचार गर्न लगेको र नियमित औषधी खाएपछि सुधार हुदै आएको, डोको काटेर विरामी बोक्ने बनाएको र चनेले त्यही डोकोमा बोकेर हरिहरकी बुढीलाई अस्पताल पुर्याएको, आ छोडिदिनोस् यस्ता लिखा टोक्वी लाखौँ पाइन्छन्। धन पो नपाउनु स्वास्नी नाथे जतिपनि भन्ने तर्क जस्ता विषयले तत्कालीन ग्रामीण जनजीवनका मान्यता, कुसंस्कार र अभावको प्रतिविम्वन गरेका छन्।
यस्तै हरिहरको ‘हो आजकल खानेचिजलाई नै टाइफाइडको रोगले ग्रस्त बनाइ सकेको हुन्छ भन्ने तर्क’, चनेले अस्पतालमा हुँदा कानमा सिउरेर राखेको बेरेको सुर्तीको ठुटो सल्काउँछ, खान हुन्न भने पछि ‘नापियो टुकु टुकु हिड्दादेखि मैले सुरती खान थालेको अहिले पचास पचपन्नको भइयो टाउकोसम्म दुख्या थाहा छैन।
हाम्रो मालिक्नीलाई दालचात भन्दा अरु चाहिन्नथ्यो । के सूर्ती खाएर नै विरामी परेको त? ’ भनेर गरेको तर्क र मुखियाले हरिहरलाई ‘हैन हो आजकल त निकै गति छाडिए जस्तो छ नि ? टाउकाको टवपी पनि मयलले एक धार्नीको होइ सक्दा पनि वास्ता छैन ।’ भनेर कसेको व्यङ्ग सामाजिक उचनिचका र चेतनाका उपज देखिन्छन् ।
यसै गरी ‘नारीको अस्तित्व माथि खेलवाड गर्न प्रोत्साहन गर्ने विकृतिपूर्ण सामाजिक धारणाका विरूध्द हामीले अब चाँडै नअलमलिई उभिन सिक्नु परेको छ ।’, गह्रौ वस्तुहरू समुन्द्रको पिँधमा हुन्छन्।,
हरिहरले छोरी विनालाई सम्झाएको ‘यहाँ हाम्रो कोही छैन। समाजले हामीलाई एक्लो बनाइदिएको छ । घर हाम्रो हो तर घरभित्रभिबाट धमिरा पसेर खतरामा पुर्याइदिदैछन् ।… घरमाथि आकाश हाम्रो हो तर छोरी हाम्रो आकाशको नजिक नजिक आक्रामक चिलहरू घुम्दैछन् । त्यसैले यो पनि हाम्रो भन्न त बचाउन साहस हुनु पर्यो नि ।’ जस्ता उद्धरणहरूलाई चेतनामूलक र सैद्धान्तिक पक्षबाट हेर्न सकिन्छ ।
हरिहर र उनको परिवारले आफ्नै भतिजीको विहेमा उनको गोडा धुन गर्नु परेको संघर्ष र चर्काचर्को अनि विनाले अपनाएको अन्धविश्वास र अपहेलना विरुद्धको तत्क्षणको विद्रोह पनि चेतनाको फिलिङ्गोका रूपमा देखिएको छ ।
‘माघको समय जाडो झण्डै विदा माग्ने तरखरमा थियो । तर विदा स्वीकृत गर्न भने बाँकि थियो ।’ ‘बिना साँझबत्ति झुल्क्याउनका लागि दियोमा वर्तन लगाएर सिरुको बात्ती भिजाउँदै थिई ।
दिलिप तेतिबेला टुप्लुक्क घर पुग्दा उ मझेरीमा त्यट्ठै छाडेर ठूल्दाई आउनु भन्दै उतै दौडिन्छे ।’ लेखकको मिठो लेखन शैलीको उदाहरण हो । त्यो भेटघाट, हाँसो र खुशीको रूवावासी जीवन्त छ । वस्तुभाउ देसानले मरे भन्ने जवाफ तत्कालीन समाजको भाषा हो ।
घरमा हुने सासु बुहारीको झगडा, श्रीमानको असहयोग, अनि दाइजोको चाहना र यसका आधारमा गालीको वर्षासँगै व्यवहारमा गरिने पक्षपातले पार्ने प्रभावको जीवन्त प्रस्तुति, अपठित छोरा सरनले परदेशबाट पठाएको पत्रको सम्बोधन ‘आमा बाबा नमस्कार, श्रीमतीमा सेवा ढोग छ ।’ भन्ने पङ्तिले तत्कालीन समयमा अल इण्डिया रेडियोबाट परदेशीको चिठी बाचन गर्दा सुन्ने गरिएको झै वास्तविकता उजागर गरेको छ ।
उपन्यासमा जति भाँडो उति चुबुर्को, जस्ता जनबोली पनि प्रशस्त छन् । मास्टरी पेशालाई जागिर नै नमान्ने हरिहरको सोच शिक्षा र विद्वताको अपहेलनाको प्रतिविम्ब देखिन्छ । यस्तै बुढी आमाले सरनलाई हपार्दै स्वास्नीको मुतमा बगेको मोरो । भनेको अनि न सासुको मान राख्न्छे न ससुराको न जेठाजु न लोग्नेको । मुख बाएर खितितित्त हाँस्न पाए भयो । भन्ने तर्क तत्कालीन समाजमा सासुबाट बुहारीलाई हपार्ने स्वाभाविक शैली हो ।
पुस्तकको साजसज्जा र भाषिक शुद्धताका पक्षमा प्रशस्त सुधार गर्ने ठाउँहरू भेटिन्छन् । लेखनको कथा विन्यास खण्डीय र केस्रामा रहेर उनिएको छ। कतिपय ग्रामीण शब्द र शब्दावलीहरू अहिलेको सन्दर्भमा आपत्तिजनक पनि लाग्न सक्छन् । तर समग्रमा कालक्रमिक अध्ययनका दृष्टिले यो उपन्यास प्रगतिवादी धारको एउटा बलियो ईँटा बनेको देखिन्छ।
एक दलीय पञ्चायती व्यवस्था रहेको समयमा यसरी प्रगतिबादी र यथार्थवादी साहित्य लेखन, प्रकाशन र पठन सहज थिएन। २०५१ मा निजामती सेवामा प्रवेश गरेर जागिरे जीवनको उत्तरार्धमा पुगेका लेखक फटिक कटुवाल (केसी) बाट नेपाली साहित्यले धेरै पाउन सक्ने रहेछ।
यसका लेखकले आफ्नो मुर्झाएको साहित्यिक चेतनालाई बिउँझाउने र आफ्नो परिपक्वता र फूर्सदको उपयोग गर्दै त्यतिबेला नै तयार भई अप्रकाशित रहेका कम्तीमा चार कृतिहरू समाजलाई दिन सक्नुपर्छ भन्ने समेत मलाई लागेको छ।
Facebook Comment