मलेसियामा अवैध रुपमा रहेका नेपाली स्वदेश फिर्ने अवसर भोलिदेखि
मलेसिया। मलेसिया सरकारले अवैधरूपमा मलेसियामा रहेका विदेशी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि त्यहाँ रहेका अवैध नेपाली कामदारले पनि मौकाको फाइदा लिन सक्ने भएका छन् । यो अवसर भोलि (अगष्ट १) देखि डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ।
सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने जनाइएको छ ।
जसमा दण्ड जरिवाना ७ सय , स्पेसल पास १ सय र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ। साथै हवाइ टिकट कामदार स्वयम् आफैले व्यवस्थापन गर्नुपर्नेछ।
अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निशुल्क फारम भर्ने ब्यवस्था गरेको छ ।
त्यस्तै दुतावासबाट मलेसिया अध्यागमन विभाग र अध्यागमन विभागबाट केएलसम्मको निशुल्क यातायातको प्रबन्ध पनि दूतावासले नै गरेको छ ।
दुतावासको जनशक्तिले नपुगे परराष्ट्र मन्त्रालयबाट थप जनशक्ति माग गर्ने र मलेसियामा क्रियासिल नेपाली संघसंस्थाबाट पनि सहयोग लिने तयारी रहेको राजदूत उदयराज पाण्डेले डिसी नेपाललाई जानकारी दिए ।
‘यो पटक स्वदेश फर्कने नेपालीहरूलाई बिचौलियाहरूको चङ्गुलमा पर्न नदिन दुतावासले विशेष खालको तयारी गरेको छ । सक्कली ट्राभल डकुमेन्ट दुतावासले नै राखी अध्यागमन विभागमा मात्र उपलब्ध गराउनेछ । ’ राजदूत पाण्डेले भने ।
अभिलेख विहीन तथा गैर कानुनी भै मलेसियामा बसिरहेका व्यक्तिहरूलाई यस अवसरको लाभ उठाई नेपाल फर्कन र नेपालमा रहेका ति सम्बन्धित व्यक्तिका परिवारजनलाई समेत आफ्ना मान्छेलाई नेपाल फर्कनका लागि उत्प्रेरित गर्न दूतावासले अनुरोध गरेको छ ।
भिसा भएकाहरूको लागि यो अवसर लागू नहुने बताउँदै कोही पनि भ्रममा नपर्न राजदूत पाण्डेले सचेतसमेत गराए।
मलेसिया सरकारले लागू गरेको यो अवसरबाट १५ हजार अवैधानिक नेपालीलाई फाइदा पुग्ने बताइएको छ ।
Facebook Comment