विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

डिसी नेपाल
१६ फागुन २०८० १६:२९

काठमाडौं। सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ। प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको हो।

विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा रु ५१ अर्ब ९२ करोड ७१ लाख खर्च भएको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ।

प्राधिकरणले समीक्षा अवधिमा रु १५ अर्ब ३६ करोड ६ लाख नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ। गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु १० अर्ब ९१ करोड ६० लाख थियो। गत आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा रु चार अर्ब ४४ करोड ४६ लाखले बढी हो। गत आवको नाफा रु १२ अर्ब ३३ करोड थियो। आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको भन्दै खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए।

‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ। यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी गरिरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने।

विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा आगामी वर्षमा रु १२ खर्बभन्दा बढीको लगानी आवश्यक पर्ने भन्दै नगद प्रवाहका लागि संस्थाको नाफाले नपुग्ने प्राधिकरणको बुझाइ छ।

प्राधिकरणले चालु आवको छ महिनामा विद्युत् बिक्रीबाट रु ४५ अर्ब ४९ करोड ३८ लाख संकलन गरेको छ। यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकबाट र भारतबाट आयात गरी रु ३० अर्ब ४८ करोड ५८ लाखको विद्युत् खरिद गरिएको छ। प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीबाट रु २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट रु एक अर्ब ९८ करोड ६२ लाखको विद्युत् आयात गरिएको हो।

समीक्षा अवधिमा सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ रु नौ अर्ब तीन करोड ८४ लाख खर्च भएको छ। १३ अर्बको विद्युत् निर्यात, दुई अर्बको आयात गरिएको जनाइएको छ। विद्युत् प्राधिकरणको चालु आवको पहिलो छ महिनामा रु १३ अर्ब ३८ करोड ५६ लाखको विद्युत् भारततर्फ निर्यात गरेको छ। सोही अवधिमा रु एक अर्ब ९८ करोड ६२ लाखको विद्युत् आयात गरिएको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ। एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

समीक्षा अवधिमा रु एक अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको छ। सुख्खायाम सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ। समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट विद्युत् आयात गरिएको छ। वर्षायाम सुरुभएसँगै फेरि विद्युत् निर्यात सुरु हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *