मेडिकल कलेजमा डाक्टरी पढ्ने सबै विद्यार्थीको शुल्क तिर्न १ अर्ब डलरको छात्रवृत्ति

डिसी नेपाल
१७ फागुन २०८० १४:४०

काठमाडौं । अमेरिकामा एक अर्बपति महिलाले एक मेडिकल कलेजमा डाक्टरी पढ्ने सबै विद्यार्थीको शुल्क तिर्नको लागि १ अर्ब डलर (१ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ) दान दिएकी छिन् । अमेरिकाको न्यूयोर्कमा रहेको ब्रोंक्स मेडिकल स्कुल, अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिनलाई यो दान दिइएको हो ।

अर्बपति महिला रुथ गोटेसम्यानले यो रकम कलेजमा अध्ययनरत सबै विद्यार्थीहरुको ट्युसन शुल्क तिर्नको लागि प्रयोग गर्ने शर्तमा यो रकम दान गरेकी हुन् । यी महिला अर्बपति लगानीकर्ता डेभिड गोटेसम्यानकी विधवा हुन् । डेभिड विशाल कम्पनी बर्कशायर हाथवेका प्रमुख लगानीकर्तामध्ये एक थिए । अहिले यो कम्पनीका सीइओ अर्बपति व्यापारी वारेन बफेट हुन् ।

यति ठूलो रकम दान गर्ने महिला रुथ पहिले यही मेडिकल कलेजमा प्राध्यापकको रुपमा कार्यरत थिइन् । २०२२ मा डेभिडको निधन भएपछि उनको सम्पत्ति रुथले पाएकी थिइन् । डेभिडले आफ्नो मृत्युअघि यो सम्पत्ति दिँदा ‘यसलाई जे गर्दा तिमीलाई ठिक लाग्छ त्यही गर’ भनेर दिएको रुथले न्यूयोर्क टाइम्सलाई बताइन् ।

फोर्ब्सका अनुसार सेप्टेम्बर २०२२ मा डेभिडको निधन हुँदा उनको कूल सम्पत्ति करिब ३ अर्ब डलर बराबर थियो । रुथले त्यसको १ तिहाइ विद्यार्थीहरुका लागि दान गरेकी हुन् । न्यूयोर्क टाइम्सले यो दान अमेरिकामा शिक्षण संस्थालाई दिइएका दानमध्ये सबैभन्दा ठूलामध्येको एक र मेडिकल कलेजलाई दिइएको दानमध्ये सम्भवतः सबैभन्दा धेरै भनेको छ ।

आइन्सटाइन कलेजका अनुसार अहिले चौथो वर्षमा अध्ययनरत र यो सेमेस्टरका लागि शुल्क तिरिसकेका सबै विद्यार्थीहरुले त्यो पैसा फिर्ता पाउनेछन् । र, अब अगस्टदेखि नयाँ पढाइ सुरु गर्ने कुनै पनि विद्यार्थीले यो शुल्क तिर्नुपर्ने छैन ।

फोर्ब्सका अनुसार यो कलेजले वार्षिक शुल्क मात्रै ५९ हजार डलरभन्दा बढी लिने गरेको थियो । अब यो दानले प्रत्येक विद्यार्थीले यहाँ ४ वर्षको डाक्टरी पढाइ पूरा गर्दासम्म लाग्ने करिब २ लाख डलर बचन गर्नेछ । यसले विद्यार्थीहरुले शैक्षिक ऋणको भारी बोक्नु नपर्ने रुथको अपेक्षा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *