जापानमा एक नेपालीको निधन
नागोया । जापानमा एक नेपालीको ज्यान गएको छ । सिजुओका केनमा कार्यरत बाग्लुङ गल्कोटका झप बहादुर खत्रीको आइतबार राती निधन भएको हो ।
खत्री विगत २३ वर्षदेखि जापानमा कार्यरत थिए । उनले लामो समयदेखि सिजुओकास्थित इन्डियन रेष्टुरेन्टमा काम गर्दै आएका थिए ।
आइतबार राती सुतिरहेको अवस्थामा असहज भएपछि साथमा रहेका छोरी र साथीहरूले एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पुर्याएका थिए ।
तर, अस्पतालले बिहान साढे दुई बजे उनलाई मृत्यु घोषणा गरेको गल्कोट समाजका महासचिव कृष्ण केसीले जानकारी दिए।
अस्पताल श्रोतले खत्रीको मृत्युको कारण हृदयघात भएको पुष्टि गरेको छ ।
स्वर्गीय खत्रीको श्रीमती, २ छोरी र १ छोरा छन्। हाल उनी जापानमा एक छोरीसहित बस्थे । बाँकी परिवार भने नेपालमै थिए ।
मृतक खत्रीको अन्तिम दाहसंस्कार जुलाई ३१ तारिख बुधवारका दिन जापानमै गरिने भएको छ ।
Facebook Comment