लुम्बिनीमा मुख्यमन्त्री चौधरीले तत्काल मन्त्री नहटाउने, माओवादीका मन्त्रीले राजीनामा नदिने

डिसी नेपाल
२२ फागुन २०८० २०:२४

दाङ। लुम्बिनी प्रदेशमा पुरानै गठबन्धनको आधारमा प्रदेश मन्त्रिपरिषद्को बैठक मंगलबार बसेको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तत्काल मन्त्री हटाउनेवारे निर्णय नगर्ने बताइएको छ भने सरकारमा सामेल माओवादीका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन्।

नयाँ राजनीतिक समिकरणको आधारमा स्पष्ट केन्द्रीय निर्णय नआउदा सम्म पुरानै गठबन्धन सरकारले निरन्तरता पाउने र केन्द्रबाट आउने निर्णयका आधारमा प्रदेशमा निर्णय हुने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले जानकारी दिए।

वर्तमान सरकारमा माओवादीका दुई मन्त्री छन्। अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकास मन्त्री कृष्णा केसी मन्त्री छन्। माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको गृहकार्य अघि बढ्ने आधार बन्ने भएपनि अहिले सम्म समर्थन फिर्ता लिइएको छैन्।

नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीलाई ५४ संसादहरुको समर्थन रहेको थियो। उनलाई प्रदेशका रहेका १० दल मध्ये एमालेले र राप्रपा बाहेक सबै दलहरूले समर्थन दिएका थिए।

एमालेले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले माओवादी, एमालेसँग राप्रपा, लोसपा र अन्य साना दलहरूलाई राखेर सरकार निर्माण गर्ने बताएका छन्।
२०७९ पुस २७ गते एमाले, माओवादी लगायत दलको समर्थनमा लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका थिए।

बैशाख १४ गते कांग्रेसबाट डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बने। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्तिका चार-चार, जनमत, जसपा र लोसपाका तीन-तीन, जनमोर्चा र एकीकृत समाजवादीका एक-एक तथा एक जना स्वतन्त्र सांसद छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *