अन्तिम संस्कार गर्न घाटमा पुर्‍याएर अस्पताल फर्काएको १० दिनपछि नर्मताको मृत्यु

डिसी नेपाल
१६ साउन २०७६ १६:४५

पाल्पा । मृत्यु भइसकेको ठानेर अन्तिम संस्कार गर्न भन्दै घाटमा पुर्‍याएर जिउँदै भेटिएपछि पुनः उपचारका लागि अस्पतालमा फर्काइएकी पाल्पाको रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ ।

उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते अस्पताल भर्ना भई उपचार भइरहेको ज्ञवालीको १० दिनपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।

यसअघि झाडापखालाबाट सिकिस्त भएपछि नर्मताको तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा १२ दिनसम्म उपचार भएको थियो ।

निको हुनुको साटो रोगले झन् च्याप्दै गएपछि आफन्तले माया मारेरै ६ गते सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडिघाट पुर्‍याएर कालीनदीमा अर्धजल चढाएका थिए । खुट्टाको औला नदीमा डुबाएपछि नर्मताको होस आएको भन्दै उनका आफन्तले उपचारका लागि पुन: अस्पताल पुर्‍याएका थिए ।




प्रतिक्रिया

One thought on “अन्तिम संस्कार गर्न घाटमा पुर्‍याएर अस्पताल फर्काएको १० दिनपछि नर्मताको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *