जुल्फिकर अली भुट्टोलाई मृत्युदण्डको सजायको दशकपछि सर्वोच्च अदालतले व्यक्त गर्‍यो खेद

डिसी नेपाल
२४ फागुन २०८० १२:०४

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतको नौ न्यायाधीशको इजलासले पूर्व प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई निष्पक्ष सुनुवाइ नभएको र उनीविरुद्धको मुद्दा कानुन र संविधानअनुसार नभएको बताएको छ ।

सन् २०११ मा पूर्व राष्ट्रपति आसिफ अली जरदारीले पुन: सुनुवाईको माग गरेको मुद्दामा अदालतले यस्तो टिप्पणी गरेको हो । पछिल्लो १३ वर्षमा यो मुद्दा १२ पटक मात्र सुनुवाइ भएको छ ।

डन न्युजका अनुसार पाकिस्तानको संविधान अनुसार राष्ट्रपतिलाई सर्वोच्च अदालतलाई सार्वजनिक हितसँग सम्बन्धित कुनै पनि विषयमा सुनुवाइ गर्न र राय दिन आग्रह गर्ने अधिकार छ।

पाकिस्तान पिपुल्स पार्टीका नेता तथा जुल्फिकर अली भुट्टोका नाति बिलावलले यस विषयमा टिप्पणी गरेका छन् । बिलावल भुट्टोले सर्वोच्च अदालतको रायसँगै पाकिस्तानको लोकतान्त्रिक र न्यायिक प्रणालीमा सुधार हुने बताएका छन् ।

जुल्फिकर अली भुट्टो पहिलो पटक ३ सेप्टेम्बर १९७७ मा पक्राउ परेका थिए । यो गिरफ्तारी नवाब मोहम्मद कसुरीको हत्या प्रकरणमा भएको हो । तर, भुट्टोले १० दिनपछि जमानत पाए ।

१७ सेप्टेम्बर १९७७ मा मार्शल ल लागू भएपछि भुट्टो फेरि गिरफ्तार भए । सन् १९७८ मा भुट्टोलाई मृत्युदण्ड दिइएको थियो । भुट्टोलाई सन् १९७९ अप्रिलमा रावलपिंडी जेलमा फाँसी दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *