माओवादीका ‘स्थायी मन्त्री’ नारायणकाजी, गुटको एक्लो सांसद भएपछि अवसरै अवसर

शरद रिजाल
२४ फागुन २०८० १३:३५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठ पटकैपिच्छे मन्त्री हुने अवसर प्राप्त गरिरहन्छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कहिल्यै मन्त्री पद गुमाउनु परेन ।

प्रधानमन्त्री आफैं अहिले तेस्रो गठबन्धनबाट पदमा छन् । यसअघि पनि पटक पटक विश्वासको मत लिएका प्रधानमन्त्रीले अब फेरि पनि विश्वासको मत लिनुपर्नेछ । यस अवधिमा कैयौं मन्त्री फेरिए । सरकारमा सहभागी हुने दल फेरिए । तर, श्रेष्ठ मन्त्री पदमा कायमै छन् ।

प्रचण्ड प्रधानमन्त्री भएको अहिले १४ महिना भएको छ । यस अवधिमा धेरै पटक मन्त्रीहरु फेरिए । धेरै मन्त्रीहरु बर्खास्त गरिए र धेरै नयाँ नियुक्त पनि गरिए । तर, यो अवधिमा मन्त्रिपरिषदमा प्रधानमन्त्रीसँगै बसिरहेका उनी एक्ला मन्त्री हुन् ।

अहिले संचारमन्त्रीमा दोहोरिएकी माओवादीकी रेखा शर्मा र उर्जामा दोहोरिएका शक्ति बस्नेत समेत २०७९ माघमा मात्र मन्त्री नियुक्त भएकी हुन् । तर, श्रेष्ठ प्रधानमन्त्रीसँगै पुरस १० मै मन्त्रीमा नियुक्त भएका थिए । श्रेष्ठ माओवादीसँग पार्टी एकता गरेर आउनेबित्तिकै मन्त्री भएपछि अहिलेसम्म माओवादी सरकारमा हुँदा प्रायः मन्त्रालयविहीन बस्नुपरेको छैन ।

प्रचण्डको कार्यकाल १४ महिना पुग्दै गर्दा श्रेष्ठ कहिल्यै बर्खास्त भएनन् । न त उनलाई राजीनामा दिन भनियो । अन्य दलसँग सहकार्य गर्दा भागबण्डा मिलाउन उनलाई अर्को मन्त्रालयमा सरुवा गरियो तर कहिल्यै हटाइएन । प्रचण्डको यो कार्यकालमा श्रेष्ठले अहिले तेस्रो पटक सरुवा भएर तेस्रो मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका छन् ।

माओवादीमा लामो समयदेखि अवसर नपाएका अनेकौं नेताहरु पनि छन् । जसले लाभका पदमा पुग्ने अवसर नपाउँदा श्रेष्ठ भने तारन्तार मन्त्री बनिरहेका छन्। उनी २०६५ मा माओवादीमा भित्रिएपछि निरन्तर लाभको पद उनको टिमले पाउँदै आएको छ भने पार्टीमा पनि दोस्रो वरियतामा पुगेका छन्।

उनी अहिले अध्यक्ष प्रचण्डपछिको दोस्रो वरियता को वरिष्ठ उपाध्यक्ष हुन्। माओवादीमा प्रचण्डइतर रहेका नेताहरुको बहिर्गमन भएपछि श्रेष्ठ दोस्रो वरियतामा पुग्न सफल भएका हुन्। श्रेष्ठ समूहले माओवादीमा निरन्तर अवसर पाउँदै आउनुमा उनको आफ्नै गुट सक्रिय रहेर पार्टीको आन्तरिक सन्तुलन मिलाउन अवसर दिइएको माओवादी स्रोत बताउँछ।

माओवादीले दशवर्षसम्म सञ्चालन गरेको जनयुद्धमा सहभागी नभएका उनी शान्ति प्रक्रियापछि पार्टीमा जोडिएका हुन्। उनको पूर्ववत् समूह अहिले पनि माओवादीमा कायमै रहेकाले भागण्डा गर्दा पाइने पद श्रेष्ठले नै उपयोग गर्दै आइरहेका छन् ।

यसअघि माओवादीमा श्रेष्ठ समूहको तर्फबाट गिरिराजमणि पोखरेलले सरकारमा सहभागिता जनाउने गर्दथे। तर उनी यस पटक महोत्तरी १ बाट पराजित भएपछि आफ्नो गुटको प्रतिनिधित्व स्वयम् श्रेष्ठले नै गर्दै आइरहेका छन्।

यस पटक सोही कारणले तीन पटक मन्त्रिमण्डल अदलबदल हुँदा पनि उनले सरकारबाट बाहिरिनु परेन। सुरुमा गतवर्ष पुस १० गते प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धनबाट प्रधानमन्त्री हुँदा उनले सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका थिए।

उक्त गठबन्धन बदलिएर कांग्रेससहितको नयाँ गठबन्धन फागुन १५ मा बने पछि सोही सरकारमा श्रेष्ठले मन्त्रालय स्थानान्तरण गर्दै गृहमन्त्री बन्ने अवसर पाए । त्यसपछि फेरि अहिले सोमबार नयाँ गठबन्धनपछि प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधान सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तो छ प्रचण्डसँग श्रेष्ठको विभाजन र सहकार्यको सम्बन्ध

नेपालका विभाजित विभिन्न कम्युनिष्ट घटकहरुमध्ये २०२८ सालमा मोहन विक्रम सिंह र निर्मल लामाले कम्युनिष्ट न्युक्लियस नामक समूह गठन गरेका थिए। सोही समूहले २०३१ सालमा चौथो महाधिवेशन गर्दै सिंहको नेतृत्वमा नेकपा (चौम) नाम नामबाट संगठित भएको थियो ।

लामा र सिंहसहित मोहन वैद्य र प्रचण्ड लगायत सबै यही संगठनमा एकै ठाउँमा थिए। त्यो समयमा नारायणकाजी श्रेष्ठ भने नेपाली कांग्रेससँग आबद्ध थिए । त्यसपछिका वर्षहरुमा नेकपा (चौम) मा विभाजन आयो र तत्कालीन शीर्ष नेताहरु तीनतिर भए । तीन टुक्रा भएको संगठनको निर्मल लामाले नेतृत्व गरेको समूहमा उनी पछि मात्र संगठित हुन पुगेका हुन् ।

२०३६–३७ सालतिरसम्म नेपाली कांग्रेसमै रहेका उनी त्यसपछि मात्र यो संगठनमा आएका थिए । २०४० सालमा निर्मला लामाले नेकपा (चौम) पुनगर्ठित गरेर अलग भएपछि श्रेष्ठ उनकै समूहमा बसे । वैद्य, प्रचण्ड र सिंह लगायतले नेकपा(मशाल) नामक दल गठन गरे ।

नेकपा (मशाल) मा पनि विभाजन भएपछि सिंह र वैद्य पनि अलग अलग दल गठन गर्दै नेकपा(मशाल) र नेकपा (मसाल)मा संगठित भए । वैद्यले नेतृत्व गरेको दललाई मोटो मशाल भनिन्थ्यो जसको नेतृत्व पछि प्रचण्डले गरेका थिए । सिंह नेतृत्वको दललाई पातलो मसाल भनिन्थ्यो।

तत्कालीन चौथो महाधिवेशन समूहको विभाजित घटकहरुमध्ये नेकपा (मशाल)मा वैद्य, प्रचण्डहरुको समूह थियो भने नेकपा (मसाल)मा सिंह थिए । यद्यपि सिंह नेतृत्वको नेकपा (मसाल) आज पनि अस्तित्वमै रहेको छ । २०३१ सालमा स्थापित चौथो महाधिवेशनका घटकहरु तीन टुक्रामा विभाजित हुँदा नारायणकाजी श्रेष्ठ लामा समूहमा थिए जसलाई तत्कालीन समयमा नेकपा (चौम) नै नाम दिइएको थियो ।

२०४२ सालमा लामा नेतृत्वको चौमको केन्द्रीय सदस्य हुँदै श्रेष्ठले राजनीतिक यात्रा अगाडि बढाएका हुन् । उनी त्यसयता पार्टीको जिम्मेवार भूमिकामा रहिरहेका छन्। श्रेष्ठ नेकपा (चौम) मा रहँदै गर्दा २०४८ सालमा प्रचण्ड नेतृत्वको दल नेकपा (मशाल)सँग उनी लगायत अन्य ससाना वाम घटकहरुको एकतापछि साथमै रहेका यी नेताहरुको सहयात्रा लामो समय भने जान सकेन।

श्रेष्ठ आबद्ध नेकपा (चौम), रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठन, हरिबोल गजुरेल नेतृत्वको (बाबुराम भट्टराई सहित) विद्रोही मसाल र प्रचण्ड नेतृत्वको नेकपा (मशाल) एकीकृत भएर नयाँ दल नेकपा एकता केन्द्र बनाएका थिए। तर यो पार्टी एकता दिगो हुन सकेन ।

पार्टीभित्र जनयुद्धको विषयलाई लिएर तीव्र मतभेद भएपछि प्रचण्ड नेतृत्वको समूहले नेकपा (माओवादी) गठन गरेर २०५२ साल फागुन १ मा जनयुद्धमा होमियो भने श्रेष्ठ लामासँगै रहेर नेकपा (एकता केन्द्र) पुनर्गठन गरेर त्यसको महासचिव बने ।

त्यसपछि प्रचण्ड नेतृत्वको दल माओवादीले दशवर्ष जनयुद्ध सुरु गर्दा श्रेष्ठ भने आफ्नै पुनर्गठित दल एकता केन्द्रको महासचिव थिए। उनले आफ्नो दललाई केही समय सम्म स्वतन्त्र अस्तित्वमै कायम राखेपनि २०५९मा सिंह नेतृत्वको नेकपा(मसाल)सँग एकतागर्दै नेकपा(एकताकेन्द्र मसाल) बनाएर त्यसको सहमहामन्त्री बनेका थिए।

उक्त दलमा पनि लामो समय टिक्न नसकेका श्रेष्ठ २०६२ सालमा अलग हुन पुगे । उनले नेकपा (एकताकेन्द्र मसाल)लाई नै निरन्तरता दिइरहे पनि सिंहको दल नेकपा(मसाल)का रुपमा आज पनि कायमै छ । त्यही विभाजित सानो नेकपा (एकताकेन्द्र मसाल)नामक समूह लिएर  माओवादी शान्ति प्रक्रियामा आएपछि उनले २०६५ सालमा प्रचण्डसँग पार्टी एकता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *