पुस्तक अंश

बाईजी नाचको झट्का

राजेश खनाल
२६ फागुन २०८० ६:५६

‘धूर मरदे! ढेउवा निकालमे कैला असकत्ती करै छे?’

‘न हौ हमरा जडे।’

‘धूरजी! दूगो नोठ निकालमे तोहर जान निकलैत हौ। केनाक् देख भी बाइजी के उपरका डानस्! नोठ देबही तब न!’

रेश्मा बाईले नोट खाँेसिएको छाती हल्लाएर धन्यवाद दिएको हेर्न सबै लालायित थिए। नोट हुनेहरू नोट दिएर आफ्नो नाममा शुक्रियाको थर्काहट खाँदै थिए। नहुनेहरूको गलफत्ती भने माथि भनिएजस्तै ‘धूर मरदे’ थियो।

यो त्यही भीडको गन्थन हो। त्यो गन्थन यी कानले सुनेको पनि चार दशक नाघिसकेको छ।

खटियाहरू जोडेर बनाइएको मञ्चमा रेश्माबाईको धमाकेदार नृत्य चलिरहेको थियो। कम्मरको लचक अहिलेकी नोरा फतेहीभन्दा कम पक्कै थिएन। त्यो समयमा हाम्रा लागि सम्भवतः नोरा थिइन् रेश्माबाई!

अँधेरी रात अर्थात् कृष्णपक्ष। जूनको उज्यालो अलिकति पनि छैन। ताराले उज्यालो दिने कुरो पनि भएन। तथापि, रेश्मा नामको उज्यालोले हाम्रो बाटो सहजै कटेको थियो।

यस्तै निक्खर अँध्यारोमा मैन्टुल (पेट्रोम्याक्स) ले उज्यालो फ्याँकेको छ। चहकिलो छ एउटा निश्चित क्षेत्र।

स्टेजमा चम्किएका केही मैन्टुलले रेश्माबार्ईलाई हेर्न बाध्य बनाएको छ। भिडमा रहेकाहरूको नजर त्यतै छ। र, थर्किँदो छ रेश्माका पाउ, कम्मर र हिमालझैँ अग्ला छाती!
गीत आफ्नै गतिमा छ, ‘तुने हर रात मोहब्बत की कसम खाई है…।’

गीतको तरङ्गसँगै सबैको धड्कन बढ्दो छ। कोही सिटी बजाइरहेका छन्। कोही एक–दुई रुपैयाँ भए पनि आफ्नो नाम जोडिएर रेश्माबाईको ब्लाउजमा सिउरिने लालसामा अगाडि बढिरहेका छन्।

बाईजीको ब्लाउजमा पिनको आड लिएर एक, पाँच र दशका नोटहरू उनिएको छ। र, त्यही नोटको उछालले अरूलाई पनि नोट सिउरिन प्रेरित गरिरहेको छ।
माथिको संवादको निष्कर्ष निस्क्यो। बगलमै कुरा गर्दै गरेका दुईमध्ये एउटाले निकाल्यो एक-एकका दुइटा नोट। अनि, बढ्यो मञ्चतिर। केही बेरमै रेश्मा बाईको ब्लाउजमा ती दुवै नोट उनिए।

लगत्तै तिनले पनि नोट दिने बाबुलाई ‘शुक्रिया अदा’ गरिन् छाती थर्काएर- ‘फलाना बाबूको तहे दिल से सुक्रिया अदा करती हूँ।’

नाच्न छाडेर उनले भित्री हृदयदेखि धन्यवाद दिइन्। पैसा दिने ‘बाबू’को तेवर उचालियो। दुई रुपैयाँको नोटले उसलाई त्यो भिडमा हिरो जो बनाएको थियो।

रेश्माबाईको नृत्यका लागि एउटै गीत बजेको बज्यै थियो। र, तिनको शरीर थर्केको थर्कियै। त्यो मेलामा उनको त्यसै गीतले नोट लोढेको लोढ्यै थियो।

उनी सायद अर्कोतिर फर्केर पैसा निकाल्थिन्। किनभने, एउटै ब्लाउजमा धेरै पैसा ठोँस्ने ठाउँ थिएन। एक दुई थर्काइमा उनको ब्लाउज भरिन्थ्यो।

हामी केही कडकदास तन्नमहरि साथीहरू पनि सुगा पुगेका थियौँ, रेश्माबाईको नाच हेर्न। कडकी स्वाभाविक थियो। विद्यार्थी मान्छे, खल्ती भारी हुने कुरो थिएन। भए पनि चिया खर्चका लागि बढीमा आठ आना-चार आना मात्रै थियो।

रेश्माबाईले अरूको नाममा दिएको शुक्रिया र थर्किएको उनको शरीरको माथिल्लो भाग हेरेर हामीले खुसी हुनुपर्ने परिस्थिति थियो। आखिर मनोरञ्जनको आवश्यकता त मनमस्तिष्कले महसुस गर्थ्याे नै।

०००

जलेश्वर स्कुलमा केही समय होस्टेलमै बसेँ। होस्टेलको विधिमा बाँधिएर नियमानुसार पढ्ने, खेल्ने, खाने र सुत्ने गरिन्थ्यो । दिनभरिको तालिका निश्चित थियो।

बिहान फ्रेस भई सरस्वती मन्दिरअघिल्तिर उभिएर वन्दना गरिसकेपछि सुरु भएको तालिकामा राति १० बजेतिर ओछ्यान समाउँदा पूर्णविराम लाग्थ्यो।

सायद रात आफ्नै थियो, नारायण गोपालको ‘सारा दिन अरूलाई बाँडेँ…’ जस्तो। त्यसलाई नियमले छुन्थ्यो-छुन्थेन थाहा छैन। कुन्नि, छुन्थ्यो कि!

सायद छुन्नथ्यो! त्यसैले त्यो रात मेला हेर्न सुगा जाने आँट गरिएको थियो।

आठ-दशजनाको समूह थियो सुगा जानेमा। मास्टरहरू सुतिसकेपछि मात्रै हामी सुगा हिँडेका थियौँ।

करिब आधा घण्टा लाग्थ्यो हिँडेर सुगा पुग्न। यस्तै ११ बजेको थियो होला। र, त्यहाँको मेलामा करिब एक-सवा घण्टा बिताइयो, दुई-चार बाईजीका नाच हेरेर।

हाम्रा लागि मनोरञ्जनको साधन तिनै थिए। कहिले रामलीला, कहिले कब्बाली, कहिले पटना मुजफ्फरपुरबाट आएका बाईजी सम्मिलित थिएटर। पैसा तिरेर सिनेमा हेर्नु सपना नै हुन्थ्यो।

यदाकदा त्यो पनि न जुर्ने होइन। तर, बडो मुस्किलले। यसका लागि अनेक तिकडम गर्नुपर्थ्याे।

मेलासहित नाचगान भइरहेको त्यस ठाउँमा हामी पुग्दा रेश्माबाईको नाच जोडतोडका साथ चलिरहेको थियो। र, ‘गंगा की सौगन्ध’ फिल्मको त्यो गीतमाथिको नृत्यले त्यहाँ रहेका सबैलाई तानिरहेको थियो।

यसबाट हामी पनि अछुतो रहने कुरो भएन। किशोरावस्थाका हामी सबै। टीनएज! यो उमेरमा स्वाभाविक थियो नजर उतै हुनु, कान भिडको आवाजतिर भए पनि।

केहीबेर चारैतिरको नजारामा दृष्टि दिएपछि हामी पनि स्टेजतिर बढ्न थाल्यौँ। भिडमा चेपिँदै चेपिँदै स्टेजको अघिल्तिरै एकछिन उभियौँ। वास्तवमा हामी रेश्माबाईलाई नजिकबाट हेर्न चाहन्थ्यौँ। उनको शरीरको थर्काइलाई आँखैअघिल्तिर महसुस गर्न चाहन्थ्यौँ।

सम्भवतः आफूले पैसो नदिए पनि दिएको अनुभूत गर्न चाहन्थ्यौँ। त्यसैले केहीबेर स्टेजकै आडमा गएर अडियौँ।

सुगाको रमझममा रमाइए पनि हाम्रा केही बाध्यता थिए। समयमै पुग्नु थियो होस्टेल। त्यसैले रेश्माबाईको नाच आँखामा सजाउँदै हामी मित्र मण्डलीले जलेश्वरको बाटो समात्यौँ।

यद्यपि, मेलाको रौनक बढ्दो थियो। जति-जति रात गहिरिँदै थियो, भीड बढ्दै गइरहेको थियो। फर्किँदा बाटोमा एक-दुई समूह मेलातिर गइरहेको देखिएको थियो।
हामीलाई एकातिर होस्टेल छिर्न अप्ठेरो हुन्छ भन्ने चिन्ता थियो भने अर्कोतिर रेश्माबाईको मुजरा थर्काइले तान्दो थियो।

बाईजीले अर्को मुजरा गीतमा पनि नाचेकी थिइन्। तर, त्यो गीत मेरो सम्झनामा छैन। आज पनि त्यही एउटा मुजरा सम्झिरहेछु, ‘तुने हर रात मोहब्बत की कसम खाइ है…।’

बाईजीको नाच मस्तिष्कमा थर्काउँदै हामी जलेश्वर फर्कने मेलोमा लाग्यौँ। तर, मेलाको रौनकले छोड्न दिएन। चियाको निहुँमा केहीबेर फेरि त्यतै अल्झियौँ। यद्यपि, त्यही अल्झाइले रेश्माबाईलाई ओझेलमा पार्दै लगेको थियो।

चियाको चुस्की सकिएपछि हामी लम्कियौँ पश्चिम दिशामा। फर्किनु त थियो नै। फर्कियौँ सबै, ‘तुने हर रात…’ गलाफाड स्वरमा गाउँदै।
यतिबेला सोच्दै छु, उमेर उही १४-१५ को थियो। कानुनी हिसाबले नाबालिग। बालिग भइएकै थिइएन । यस्तो नौटङ्की हेर्न उमेरले दिन्थ्यो कि दिन्थेन कुन्नि!

०००

भलुवाही हुँदा नौटङ्की खुब हेरिन्थ्यो। बाबाले ‘सियाँमालाने ! पठाइदिन्छु जलेश्वर’ भनिरहँदा पनि नौटङ्की हेर्ने काम छुटेन। किनभने, गाउँमै थियो नौटङ्की टोली। गाउँकै विभिन्न टोलका केटाहरूले बेलाबखत ठाउँठाउँमा नौटंकी गर्दै आएका थिए।

दसैँ-तिहारमा भने एउटा नाटक र सांस्कृतिक कार्यक्रम गर्ने ठेक्का मामा र दाइ खलकहरूको भागमा हुन्थ्यो। त्यसमा आफू पनि जोडिन्थेँ।

खैर, टोला-पडोसाका कलाकारहरूले गर्ने नौटङ्की कहिले मुसहरीमा हुन्थ्यो। कहिले चमरटोलीमा। कहिले कसैको दरबज्जामा।

राति ९-१० बजे सुरु हुन्थ्यो नौटङ्की। र, सकिन्थ्यो १२÷१ बजेतिर । यहाँ रेश्माबाई थिएनन्। परन्तु, रेश्माबाईकै स्वरूपमा हुन्थे, धौनखी, जुठेलगायत अरू एक–दुई लौण्डाहरू। तिनले लामा-लामा केस त्यसैले पालेका हुन्थे, नौटंकीमा नारीको भूमिका निर्वाह गर्न।

गाउँको त्यही नौटङ्कीले नाटकप्रतिको रुचिलाई मलजल गरेकोले होला, त्यसैले मौका मिल्नासाथ नौटङ्की हेर्न नरहैया, थलहा, पदमपुर, बेलहासम्म पुगिन्थ्यो।
त्यसकै परिणति थियो, जलेश्वर हुँदा पनि नौटङ्की हेर्न कोसभर परको गाउँगाउँ पुग्ने रौस । कसैले ‘रजेशवा ! जेभिई की नाच देख?’ भन्नासाथ पाइला उठिहाल्थ्यो।

०००

त्यस दिन सुगा गएर फर्कँदा त्यसको खासै चर्चा चलेन। त्यस विषयमा न त कसैले केही कुरा उठाए। न त कसैले सोधे नै।

यो बदमासी नै त होला ! यसलाई साफ–सुथरा काम भन्न कसरी सकिएला र ? यसबारेमा कसैले थाहा पाएको मैले महसुस गरिनँ। सरहरूको कानमा भनक मात्रै परेको भए पनि तिनले टोलीका कोही न कोहीसँग सोध्ने नै थिए। कोही सरले जरो ल्याउने गरी कनैठी मार्ने थिए। होस्टेलका प्रिफेक्टले पनि यसबारेमा केही भनेनन्।

अर्थात्, त्यस्तो केही भएन, जसको डर थियो। हरेक रात मोहब्बतको कसम दुई–चार दिनपछि आफैँ हराएर गयो। र, दैनिकी उही तालिकाबद्ध रूपमा अघि बढ्न थाल्यो, बिहानै उठेदेखि राति नसुतुन्जेलसम्म। अनि, बीचमा मेसतिरको दौडादौड।

यही मेसको खान्कीखुराकीले होस्टेल बस्न सकिनँ। एक वर्षपछि घरमै बस्न थालेँ । यत्तिकैमा पनि केही खुला महसुस भएको थियो। होस्टेलमा बस्दा थोरै थिचिएको अनुभव हुन्थ्यो भने घरमा बस्दा त्यो गहु्रँगोपना थिएन। यो समयमा अवसर पाउँदा जनकपुर र सुरसन्ड गएर सिनेमा भने हेरिन्थ्यो।

रेश्माबाईको नाचकै चमत्कारले होला, जनकपुर हो या सुरसन्डमा हो, स्कुल हापेर ‘गंगा की सौगन्ध’ हेर्न गएको थिएँ, साथीहरूसित। जलेश्वरमा सिनेमा हल थिएन। सिनेमा हेर्नुपरे कि त जनकपुर पुग्नुपथ्र्यो या त सीमापारिको सुरसन्ड। सीतामढी र जयनगर गएर सिनेमा हेर्नु त ‘दिल्ली दूर’ झैँ हुन्थ्यो हाम्रा लागि।
वास्तवमा, मनोरञ्जनको साधन नहुँदाको अवस्थामा गाउँगाउँ आउने रामलीला, कृष्णलीला, सत्यवादी राजा हरिश्चन्द्र, इन्द्रपूजा, अल्लाह रुदललगायत नाट्य प्रस्तुतिको महत्त्व ऊबेला अपार हुन्थ्यो।

स्थानीय समूहले गर्ने नौटङ्कीहरूको कुरै भएन। त्यसका पनि प्रशंसक थिए। त्यसैले त मध्यरातसम्म नाटक मञ्चन हुँदा पनि भिड हुन्थ्यो।

जलेश्वरमा रामलीला र कृष्णलीलाको मञ्चन भएको त्यति देखिनँ। बरु, मीनाबाई र आशाबाईले एक समय तहल्का मच्चाएका थिए। बेलाबेलामा सीमावर्ती नगरहरूबाट आउने कब्बालीले पनि आफूतिर तान्थ्यो।

जलेश्वरको महेन्द्रचोकमा पनि एकपटक कब्बाली कार्यक्रम भएको मेरो सम्झनामा छ। एकदिन त कब्बाली हुँदै गर्दा दर्शकको भीडमा एउटा साँढे छिरेर उत्पातै गरेको थियो। मान्छे चप्पल–जुत्ता छोडेरै भागेका थिए।

कब्बाली अथवा रामलीला प्रस्तुति हेर्न गाउँका महिलाहरू पनि उपस्थित हुन्थे। त्यतिबेला सिँगै जलेश्वर उर्लिँदा महेन्द्रचोकको अवस्था आकलन गर्न सकिन्छ।

महेन्द्रचोकबाहेक स्कुल पश्चिमको चौरमा, महादेव मन्दिरअगाडिको खुला ठाउँमा, राजदेवी मन्दिरछेउको खुला स्थानमा यस्ता मनोरञ्जनात्मक कार्यक्रम हुन्थे।

त्यही समयमा आशा थिएटरको जगजगी सुरु भयो। जलेश्वर बसपार्कको पूर्वतिरको खाली खेतमा चारैतिर टेन्ट गाडेर हलझैँ बनाइएको थियो। त्यहाँ कोही छिर्न पाउँथेनन् । सायद ५० पैसा-एक रुपैयाँ टिकटको भाऊ थियो।

त्यो थिएटरमा आशाबाई र मीनाबाईले माहोल जमाएका थिए। यी बाईजीका नाच हेर्नेहरूको भीड त्यो थिएटर त्यहाँ रहुन्जेलसम्मै रह्यो। तर, हामी छौँडाहरूको भागमा थिएटर हेर्नेहरूको भीड मात्रै थियो, भित्र छिर्ने पैसा नभएका कारण।

कम्तीमा आठ आना चाहिन्थ्यो, भित्र घुस्न। नभए लाठी लिएर बसेका उतिखेरका बाउन्सरहरूले दोदरा उखाड्थे। ती टेन्टका चारैतिर घुम्दै चौकीदारी पनि गर्थे। र पनि कसैकसैले पत्तीको कमाल देखाउँथे र सानो प्वाल पारेर एउटा आँखाले आशा र मीनाबाईको नृत्य चमत्कार हेर्थे र सन्तुष्ट हुन्थे।

पत्तीवाला बाइस्कोप एकचोटि मेरो भागमा पनि परेको थियो। तर, अगाडि बसेर हेर्नुपर्ने बाईजीको नाच, तिनका अनेक हाउभाउ कटाक्ष टाढाबाट, त्यो पनि टाँकघरजस्तो दुलोबाट हेर्नुको के नै अर्थ रहन्थ्यो र!

तथापि, रमाउँथ्यौँ हामी। किनभने, रमाउने वातावरण तयार गर्थे आशा थिएटरका उद्घोषकले। बच्चन काया र आवाजका उनी रिक्सामा बसेर सिँगै जलेश्वर आशा थिएटरको प्रचार गरेर हिँड्थे।

‘हाजरात् हाजरिन् मेहफिल। आवाज की दुनियाँ के दोस्तों। आज की साम, आशा थिएटर के नाम।’

यस्तैयस्तै बोल्दै चोक-चौरस्ता चहार्ने तिनले उतिबेला ‘शोले’ को अडियो डायलगलाई समेत परास्त गरेका थिए। आशा थिएटरको प्रचार गर्ने रिक्साका अघिल्तिर मानिसको भीड झुम्मिन्थ्यो, मानौँ आशा र मीना त्यहीँ मृदु मुस्कानकासाथ खडा छन्।

कोही जिस्काउँथे पनि, ‘रजेशवा! टिकस् किनली कि भूँडमे से देखली?’

भूँडबाट हेरिएको राज खुल्यो। अब भाग्नुको विकल्प हुन्थेन। सबै चिनेजानेका हुन्थे। तिनीहरूसँग दोहोरो संवाद गर्ने ह्याउ नै हुन्थेन।

टाँकघरजस्तो भूँडबाट एकचोटि या दुईचोटि हेरेँ हूँला, आशा थिएटरका बाईजीहरूको नाच। एकचोटि भने भित्रै बसेर हेरेँ, चार आना तिरेर।

त्यसपछि बाईजीको नाच, तिनका मुजरानुमा थरथराहट, तिनका ‘शुक्रिया अदा करती हूँ’को स्खलित पार्ने तोड केही पनि हेरिएन। जलेश्वर छोडेपछि ती सब मनोरञ्जनका साधन त्यहीँ छोडेर हिँडेजस्तो भयो।

यतिबेला लाग्छ, त्यो कुनै व्यूह रचना थियो कि हरेक उमेरका मानिसलाई आकर्षित गर्ने? नभए हामीजस्ता टिनेजर भनाउँदा अल्लारेदेखि कानजुँगा पोकेका मानिसको भीड किन लाग्थ्यो होला, ती बाईजीका नाममा!

वास्तवमा, बाईजीको नाच र कब्बालीमा ठूलो अन्तर थियो। बाईजीको नाच हेर्न पुरुषहरूको मात्रै मेला लाग्थ्यो। तर, कब्बाली हेर्न भने घरघरबाट महिला आइपुग्थे। कब्बालीको सुफियाना रङमा सबै रमाउँँथ्।

केहीअघि जलेश्वरतिरका एक भाइसाथीसँग कुरा हुँदा रामलीला, कृष्णलीला, कब्बाली र नाचको कुरो उठ्यो। अचेल गाउँमा रामलीला पनि नआउने बताउँदै उनले मोबाइल संस्कृति हाबी भएको सुनाए।

आज चार दशकअघिका ती मनोरञ्जनका साधन स्मृतिमा मात्रै तरङ्गित छन्। धन्न विस्मृतिको गर्तमा जाकिएको छैन!

यतिखेर जलेश्वरमै आएकी एउटी बाईजी नाचको सम्झना भइरहेछ। बाईजीको नाचले गति पक्डदो थियो। दर्शकको मानसिकताको उफानले सीमा नाघेको थियो। सर्वत्र सिटीको गुञ्जन घन्कियो।

कोही ओठ थिचेर सिटी मार्दै थिए भने कोही दुवै हातका चारऔँला मुखभित्र छिराएर सिटी लाउँदै थिए। कोही बूढीऔँला र चोरऔँलालाई शून्याकार दिँदै सुसेल्दै थिए।
अचानक बाईजी टक्क रोकिइन्। चारैतिर नजर दिइन्, अनि भनिन्, ‘कथिला सिटी मारै छ ? एनाक् उठा देव त…’
केही क्षण सर्वत्र मुर्दाशान्ति छायो। तर, फेरि सुरु भयो बाईजीको उफानदार नाच।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *