कथा : बात

खेमराज पोखरेल
२६ फागुन २०८० ७:२३

पोहोर बुढी बिती। म भावनात्मक रूपले एक पाखे भएँ। यसपाली लकुवाले हान्यो। शारीरिक रूपले एक पाखे भएँ। बुहारी विदेशिई। छोरो उतै पछि लाग्यो। म बिनापाखेँ भएँ। बैसाखी टेकेर बरन्डामा निस्किएँ। संसार मेरो पहिलेको तुजुगभन्दा कता हो कता बैँसालु भएको थियो।

हिजो आज म थाकेर परपर हेर्छु। बाहिर कोही मलाई नै भनिरहको थियोः

“यो पापी अपराधी बूढोको घर हो ।”

भोक लागेको छ। प्यास लागेको छ। सम्पत्ति छ। काम गर्ने मान्छे हो पेशले। आज ढिलो गरेको छ। म काकाकुल भएको छु। अर्काको मान्छे हो। आखिर अर्काको मान्छे भनेको अर्काकै हो। पैसाको लागि काम गर्ने। पेशलेमा के सम्वेदना होला! के अपनत्व होला!!

म किन सडिरहेकोछु? झुन्डिएर मर्न मन लागेको छ। तर पासो समाउने हातहरूमा एउटा बेकामे छ। अर्को हात पनि थरथर काम्छ। हुति पनि छैन। म सुस्तरी भित्र पस्छु। म कोसँग प्रायश्चित्त गरूँ?, कोसँग क्षमा मागूँ? यो मृत्यु पनि किन निर्दयी भयो मसँग? यो काल पनि किन आउँदैन मलाई? र मेरा अगाडि फेरि अपाङ्ग छोरी दाँत देखाएर हाँसिरहेकी छे।

०००००

मैले ऊसँग उभिएर “म पापी हुँ, म अधम हुँ, ज्यानमारा हुँ” भन्न पनि पाइनँ। म बाँचिबाँचि मरिरहेको छु। मरिमरि बाँचिरहेको छु। म हरपल मरिरहेको छु। भत्भती पोलेको छ। ग्लानी भएको छ।

एउटा हातले झ्यालको पर्दा खोलेँ। बाहिर सडकमा ऊ हिँडिरहेकी थिई। कहिलेकाहिँ आक्कल झुक्कल यही बाटो हिँडछे। म उसलाई गौर गरेर हेर्छु। ऊ मभन्दा दुई वर्ष कान्छी हो। ऊ पनि बुढी भैसकेकी हुनु पर्ने। तर ऊ ठमठम हिँड्छे। ऊ लौरो समाउन्न। उसलाई बोलाउन मन लाग्छ। लुकेर हेरिरहन्छु। देखिएर हेर्ने आँट छैन मेरो। तर उफ! के साइनाले बोलाउने हो र उसलाई?

०००००

पञ्चेतीमा चाउरे सार्कीले हाकाहाकी भनेको थियो-

“हो हजुर, मैले त नाइ भनेकै हो, जेठी मालिक्नीले केही हुन्न चाउरे आइज भन्नु भयो। म जेठी मालिक्नीसँग सुतेकै हो।”

ऊ “होइन, होइन, यो साँचो होइन, हे भगवान’ भन्दै थिई। उसमाथि कोर्रा बर्सिसकेको थियो। उसकी छोरी उसलाई अँगाँलो हालेर रुँदै थिई।

म, मेरा बुवा, मेरी आमा, भाइ, बुहारी, बहिनी हामी सबै गलल हाँसेका थियौं। रमाएका थियौं। युद्ध जितेजस्तो भएको थियो। उसकै नामबाट छोडपत्रको निवेदन अदालतमा हालेकाले सजिलो भयो। बिचरा उसलाई त छोडपत्र भनेको पनि के थाहा र! आँशु र कुटाइ बिच उसले सही गरेकी थिई। ल्याप्चे लगाएकी थिई।

वकिल सफल भएका थिए। हामी सफल भएका थियौं। वकिल सापलाई कबुलिएकोभन्दा बढी बक्सिस दिएका थियौं। पञ्च भलाद्मीलाई बोलाएर भोज पनि गरेका थियौं। हामी मक्ख थियौं। वकिल मक्ख थिए। पञ्च मक्ख थिए। समाज मक्ख थियो। परिवेश मक्ख थियो। केवल ऊ रोइरहेकी थिई।

छोरीलाई खोसेर उसलाई धपाएका थियौं। छोरीलाई काठमाडौं लगेको थिएँ।

चाउरे सार्कीसँग उसलाई बात लगाउँदा ऊ त्यस्तै ४२ वर्षकी थिई होली। बात लगाएपछि ऊ रुँदै रुँदै चाउरे सार्कीकै पछि पछि हिँडेकी थिई। चाउरे सार्की १० दिनपछि गाउँमा देखियो। उसले मलाई आएर भनेको थियोः “जेठा मालिक, मैले जेठी मालिक्नी सा‘पलाई हजुरले भनेझैँ मार्न त सकिनँ।

माया लाग्यो। जीवन दिन नसक्नेले हर्नु पनि हुन्न भन्ने सुनेको थिएँ। तर पनि काठमाडौँ पुर्याएर छोडिदिएँ। र मेरो गरिखाने थातथलो यसै गाउँमा छ फर्कि आएँ। हजुरले दिएको पैसाले बूढीलाई सारी पनि किनी ल्याएँ। अब अलिकति भिठा बारी पनि किन्नु पर्ला।”

०००००

ऊ ९ वर्षकी थिई। म ११ वर्षको थिएँ। ऊ साक्षर पनि थिइन। नाउँ गाउँ मुस्किलले लेख्थी। म ६ कक्षामा पढ्थेँ। हाम्रो वालविवाह भएको थियो। ऊ गरिव परिवारकी थिई। हामी गाउँका अलि हुने खाने खालका थियौं। बिहेपछि ऊ ३ वर्ष जति माइतीमै बसी। १२ वर्षको उमेरमा ऊ मेरो घर आई। अर्को वर्ष म एस.एल.सी. पास गरेर काठमाडौँ गएँ उच्च शिक्षा पढ्नँ।

कहिलेकाहिँ सहरबाट गाउँको घर जान्थेँ म। ऊ नराम्री लाग्थ्यो मलाई। अनुहार डढेको हुन्थ्यो। चाउरी परेजस्तो देखिन्थी। हात खुट्टा पट्पटी फुटेका हुन्थे। उसको शरीरबाट पसिना गन्हाउँथ्यो।

नुहाउन त ऊ सधैँ नुहाउँथी बिहान। तर दिनभरिमा ऊ पुरै फोहोरी भइसक्थी। न बोल्ने ढङ्ग थियो। न लुगा मिलाएर लाउन जान्दथी। न मिलाएर खाने नै सिप थियो। एमानको पटुका बाँध्थी। म घर गएको बेलामा पनि म ऊसँग सुत्दिन थिएँ।

ऊ घाँस काट्थी। दाउरा चिर्थी। दाउरा बोक्थी। गोबर सोहोर्थी। भकारो फाल्थी। मल बोक्थी। पानी बोक्थी। गाई हेर्थी। बाख्रा हेर्थी। चराउँथी। ऊ हाम्रो घरको पुरै कामदार थिई। खान बस्न दिए पुग्थ्यो उसलाई। बिनापारिश्रमिककी नोकर्नी थिई ऊ। उसलाई घरका सबैले हेप्थे। कराउँथे। गाली गर्थे। तर ऊ चुपचाप सहन्थी।

उसले कहिल्यै गुनासो गरिनँ। सायद उसले ठानेकी थिई होली। उसलाई विश्वास थियो होला। उसको धर्मले भन्थ्यो होला। उसको खसमले उसलाई हेर्ने छ। दिन फर्कने छन्। उसको माइती पनि दह्रो थिएन। खासमा उसको कोही थिएन। अरु त अरु सायद भगवान पनि थिएनन् उसका लागि।

मैले मास्टरर्स गरेँ। शाखा अधिकृत पास गरेँ। म मलाई सुहाउने बिहे गर्न चाहन्थेँ। घरमा बाबुआमासँग मेरो इच्छा सुनाएँ। बाबा आमा खुसी हुनुभयो र भन्नु भयोः ‘खुट्टा भए जुत्ता कति कति, खोज्न एउटी सहरमा”।

उफ, आमा पनि किन खुसी हुनु भएको हो कुन्नि। आइमाईको बैरी आइमाई नै किन पल्टिएका होलान्। एउटी महिलालाई सौता हाल्ने कुरामा अर्की महिला यति बिघ्न खुसी किन भएका होलान्? किन महिलाका पीडामा महिलालेनै नुनचुक हाल्ने होला?

मैले एउटी नर्ससँग अर्को बिहे गरेँ। सायद थाहा पाएर ऊ रोई होली। तर उसले विद्रोह गरिनँ। चुपचाप कहर सही। भाग्यलाई खोसी होली। उस जन्मको पाप ठानी होली। ऊबाट कुनै सन्तान थिएनन्।

खासमा सन्तान हुने कुरै थिएन। मैले ऊसँग सहवास गरेकै थिइनँ। उसको बैँस त्यसै मरिच चाउरिएझैँ चाउरिएको थियो। सन्तान नभएको बहानामा मलाई बिहे गर्न पनि सजिलो भएको थियो।

मेरी कान्छी स्वास्नी गर्भवती भएकी थिई। म काम विशेषले गाउँ गएको थिएँ। बल्ल मैले ऊसँग सहवास गरेको थिएँ। ऊ पनि गर्भवती भएकी थिई। उसले गाउँमा बसेर सबै बुहार्तन खपेर जिन्दगी चलाई।

न उसलाई कसैले मिठो दियो। न डाक्टर, न वैद्य। न लोग्नेको माया नै। तरपनि ऊ बसी। गाउँमै बसी। मेरा दुइटै श्रीमतीले छोरी पाए। कान्छी श्रीमतीले महिना नपुगी जन्माउन पर्यो। छोरी पाई। अलि कमजोर पाई। अलि शारीरिक अपांग जस्तो पाई।

तर उसले महिना पुर्याएरै पाई। राम्री छोरी पाई। सगल्तो पाई। सर्लक्क परेकी पाई। त्यही छोरीमै बात लगाएर निकाल्न पनि सकिन्थ्यो। तर त्यो छोरीको अनुहार काट्टी कुट्टी मेरो जस्तै थियो। मेरी छोरी होइन भन्ने कुनै आधार थिएन।

०००००

बाबुआमाले छुट्टयाइ दिनु भएको थियो। छुट्टीभिन्न भएका थियौं। ऊ मेरो भागमा बसेकी थिई। घरकै पाली बेरेर बसेकी थिई। छोरीसँग थिई। म घर जाँदा पनि ऊसँग बस्दिनथें। छोरीलाई पनि काखमा लिन्न थिएँ। छोरीलाई एकपल्ट कुटिदिएको थिएँ। कहिल्यै मेरो नजिकमा परिन।

तर उसलाई अब सजिलो भएको थियो। पुरै परिवारको काम गर्नु पर्दैनथ्यो। आफ्नो मात्र गरे पुग्थ्यो। आफ्ना गाई, भैँसी, बाख्रा हेरे पुग्थ्यो। अब खानको लागि बज्यैसँग माग्नु पर्दैनथ्यो। बज्यैको खटनपटन सकिएको थियो। आफ्नो मात्र खेत रोपे पुग्थ्यो। परिवारका सदस्यको हेपाइसमा कमी आएको थियो। आङ फुटाएर मेहनत गरेकी थिई। धान, मकै, कोदो तुल्याएकी थिई।

म घरबाट सहर फर्किँदा कुराउनी पकाएर हालिदिन्थी। मेरा सहरका परिवार उसलाई घृणा गर्थे। मै उसको बैरी पल्टिएको थिएँ भने मेरा सहरीया परिवारको त झन कुरै भएन। तर कुराउनीको पोको उनीहरुको प्रिय थियो। तर मेरी कान्छी भन्थिन्ः

“गाउँको खोल्र्याप्प पारेकी छे, अनि किन नपठाओस् त जाबो कुराउनी”

जेठी कान्छीको भेट भएकै थिएन। तैपनि मेरी कान्छी स्वास्नी जेठीकाप्रति विष वमन गर्थिन्। म निको मानेर अझ साथ दिन्थें।

सायद उसले नयाँ गुन्यु लाउन थालेकी थिई। सायद मेलाबाट किनेर ल्याएको तेल लाउन थालेकी थिई। छुट्टिभिन्न भएकाले सायद त्यसबेला ऊ मेरी आमालाई नचाहिने कुरामा टेर्दिन थिई। मेरा बाउको खप्कीसँग डराउँदिन थिई। सायद मेरो भाइलाई गुदान्दिन थिई।

सायद बुहारीलाई ऊ मन परेकी थिइन। सायद उसले गर्दै गरेको प्रगति उनीहरुलाई सह्य भएन। उनीहरूमा आहारिसको मात्रा बढ्यो। दम्भ बढ्यो। हर्कत बढ्यो। र दुर्नियत पनि बढ्यो होला। म गाउँको घरमा बोलाइएको थिएँ। म गएको थिएँ। ऊबाहेक अरू मेरा बा, आमा, भाइ, बुहारी र एउटी बुढीकन्ने बहिनी भेला भएर मलाई भन्न थालका थिएः

“ती तिम्री जेठीको चालामाला ठिक छैन। चाउरे सार्कीसँग सल्केकी छे। गाउँ हिँड्नै नहुने भयो। हाम्रो इज्जत गुहुमै डुबाई। दङ्दङी गन्हाएकी छे। त्यही चाउरे सार्कीसँग धपाइ दिनुपर्छ”

मैले चाउरे सार्कीलाई सोधें। उसले भन्योः “धरोधर्म जेठा मालिक, मैले छोएको छैनँ। मैले हलो जोतेको हुँ। काम गरेको हुँ। सघाएको हुँ। पाप लाग्छ। त्यसो नभन्नू जेठा मालिक। आखिर दैव पनि त कहीँ छ नि। अहिले पाप बोलेर कुनै दिन त तिर्नु पर्छ जेठा मालिक।”

मलाई पनि उसलाई धपाउनै मन लागेको थियो। पहाडको जग्गा जिमिन बेचर काठमाडौँमै लान पाए हुन्थ्यो। उसकी छोरीलाई काठमाडौँ लान पाए घरको काम गर्थी। धन्दापात गर्थी। बढारकुँढार गर्थी। काठमाडौंका त पिलन्धरे छन्। सरकारी स्कुलमा त खर्च पनि छैन। यो राम्रो अबसर लागेको थियो मलाई। उसलाई धपाइ दिने र उसकी छोरीलाई काठमाडौं लगेर घरको काम गराउने।

मैले बालाई भनेँः “बाबा, चाउरे सार्की त होइन भन्छ।”

बाबा कुर्लिनु भएको थियोः “त्यसले होइन भनेर धर पाउँछ? त्यो हाम्रै जुठोपुरोमा हुर्किएको हो। त्यसलाई अलिकति पैसा दिएर ‘हो’ भन्न लगाउनु पर्छ। वकिल बोलाएर कागजमा त्यो मुखाले बेस्सेलाई सही गराउनु पर्छ। अचेल त टेर्दै टेर्दिन ए। गाउँभरि हल्ला गर्नु गराउनु पर्छ। पञ्चभलाद्मीलाई भोज खुवाउनु पर्छ। र त्यसलाई लघार्नु पर्छ।”
म सहमत भएको थिएँ।

०००००

ऊ कता गई कसैलाई थाहा थिएन। उसकी छोरी पनि एस.एल.सी. पढ्दा पढ्दै एउटा केटो टिपेर भागी। सायद उसकी छोरीले पनि सौतेनी आमा झेल्न सकिन होली। आफ्नै भए पनि सौतेनी पल्टिएको बाउको ताडना खेप्न सकिन होली। कहिल्यै खुसी पार्न सकिन होली। सौतेनी भाइ बहिनीको त झन् कुरै भएन।

जुठो पुरोमा कति बाँचोस्। अघाउँदी खान मन लाग्यो होला। वा आधा पेटै भए पनि मायाले खान मन लाग्यो होला। ऊ भागी। ऊ भागेकोमा केही समस्या थिएन। घरको काम गर्ने मान्छे भागेकोमा खुबै पीडा भएको थियो।

०००००

डिल्लीबजारको उकालोमा हिँड्दै थिएँ। ऊ ठ्याक्कै मेरै सामुन्नेमा परेकी थिई। म तर्सिएको थिएँ। उसले लुगा मिलाएर लगाएकी थिई । ऊ राम्री देखिएकी थिई। गोरी देखिएकी थिई। उसले पटुका पनि बाँधेकी थिइन। चार आँखा भए।

उसका आँखाले मलाई ट्वाल्ल हेरे। घुरेर हेरी। मैले नै आँखा तल झारेँ। बाटो छुट्टियो। म त एकनास छक्क परेर उभिइरहेँछु। म अनायास उभिएको देखेर मसँगै हिँडेका दिलिपजीले सोधेः

“किन उभिनुभएको हाकिम साप ?”
मैले भनेथेँः “त्याे  आइमाई देखेर”

“चिन्नुहुन्छ ?”

मेले अनायासै भनेको थिएँः “चिन्दिनँ।”

“म चिन्छु। माइती नेपालमा काम गर्छे। पाँचथर जोर पोखरीकी हो रे। बाल्यकालमा बिहे भएको रे। लोग्नेले छोड्यो रे। अर्की बिहे गर्यो रे। एउटी छोरी पनि छे रे। छोरी पनि खोसेर राखेको छ रे त्यो लोग्नेले। लोग्ने यतै काठमाडौँमा कतै ठुलै मान्छे छ रे। सार्कीसँग बात लगाएर धपाएका रे। मार्नै पठाएका रे सार्कीलाई पैसा दिएर। तर सार्कीलाई माया लागेछ। मारेन छ। काठमाडौँ ल्याएर छोडिदिएछ रे। भोकै प्यासै देखेर कसैले उसलाई माइती नेपालमा पुर्याएछ रे। माइती नेपालले पाँचथरमै बुझेछ रे। फिदिम अदालतमा त उसैलाई पो पारपाचुकेको निवेदन दिन लगाएको रे त्यो लोग्नेले। पैसा खुवाएर मिलाएको रे। कस्ता असत्ती हुन्छन् कोही लोग्ने मान्छे? कस्ता पापी हुन्छन् मान्छे? हगी हाकिम साप। अनि नि उसले त्यही माइती नेपालमा बसेरै काम गरेरै एस.एल.सी. पास गरेकी छे। जागिर खान्छे”
मैले हड्बडाएर सोधेको थिएँः “तपाईँले कसरी थाहा पाउनु भएको दिलिपजी?’

“कानुनको आडमा महिला हिंसा’ नामको प्रोजेक्ट गर्दा त्यही घटनालाई केस स्टडी लिएको थिएँ, हाकिम साप”
“भो छोड्नुस् दिलिपजी, अर्काको कुरा” मैले भनेको थिएँ।

०००००

अचेल ऊ मेरै घरको अगाडिको चोकमा आएर बस्छे। र मेरै घरलाई देखाएर भन्छेः “त्यो पापी, अधर्मी, अधम र नरपिचासको घर हो।”

अचेल फेरि झन थलिएझैँ लाग्न थालेको छ। मुटु चस्स चस्स गर्न थालेको छ। चल्ने पट्टिका हात गोडाहरू पनि लुला हुन थालेका छन्। मान्छेले मलाई त अचेल हाकाहाकी भन्छन्ः “पापी बूढो”। म केही गर्न सक्तिनँ। केही भन्न सक्तिनँ। मेरो कुरा सुन्ने त्यो संसार पनि छैन। मेरा इशारामा चल्ने परिवेश पनि छैन। म नितान्त एक्लो भएको छु । र मेरो हृदयले पनि मलाई नै खोतल्छ र भन्छः “तँ पापी होस्। अधर्मी होस्। अधम होस्। कुम्भीपाकको भागी होस्। बाँच्दै तेरो यो हविगत भयो भने मरेपछि तँ भोग्लास् जुनी जुनीको नर्क”

म त अनायासै बरन्डामा निस्केर कराएँछुः “हे भगवान, मलाई मृत्यु देऊ, मृत्यु देऊ, म पापी हुँ”

मेरा घरको अगाडि बराम मान्छे उभिएका छन्। र ती भन्दैछन् मलाईः “यो पापी बूढो बहुलायो’। मलाई लाग्दैछ यी मान्छेहरू मेरो काँधिकाठ तयार पार्दैछन्। मेरो चिहान खन्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *