युवाहरूको मस्तिष्कका लागि रक्सी किन धेरै खतरनाक छ?
बीबीसी। विश्वविद्यालय जान घर छोडेको अघिल्लो दिन म १८ वर्ष पुगेको थिएँ। त्यो त्यही उमेर हो जुन उमेर पुगेपछि यूकेमा रक्सी किन्न पाइन्छ।
मेरो नयाँ घर नजिकै डाक्टरलाई देखाउँदा उनले मलाई एक सातामा कति रक्सी पिउँछौ भनेर सोधिन्। यूकेमा एउटा सानो ग्लास वाइन करिब १.५ युनिट बराबर हुन्छ।
“करिब सात युनिट,” विद्यालयका साथीहरूसँग खाएको केही भोड्कासमेत जोडेर मैले भने। मैले सोचेको थिएँ यति रक्सी भनेको थोरै हो तर मैले यति धेरै नियम कहिल्यै तोडेको रहेनछु।
“त्यो मात्रा अब बढ्नेछ,” फिक्का हाँसो हाँस्दै डाक्टरले भनिन्। उनी गलत थिइनन्।
त्यसको केही साताभित्रै लहरै सानो ग्लासमा लिइने सटभन्दा अगाडि नै म वाइन पाउँथे। धेरै मदिरा पिउँदा त्यसले मेरो आयुलाई असर गर्छ भन्ने मलाई थाहा थियो – तर ३०, ४० वा ५० वर्षको उमेरका मानिसहरूको दाँजोमा मेरो युवा उमेरमा त्यसले थप हानि गर्छ भन्ने मैले हेक्का राखेकै थिइनँ।
युवा मस्तिष्कलाई मदिराले फरक तरिकाले कसरी असर गर्छ भन्ने मलाई अहिले जे थाहा छ त्यो पहिला नै थाहा भएको भए म अझ सजग हुन्थेँ। १८ वर्षको हुँदा मेरो मस्तिष्क कायापलट हुँदै थियो र त्यसको कम्तीमा सात वर्षसम्म पनि मस्तिष्क परिपक्व भइसकेको थिएन।
यसले हामी कसरी मदिराप्रति प्रतिक्रिया जनाउँछौँ भन्नेमा फरक पार्छ। यो उमेरमा मदिरापानले हाम्रो ज्ञानको विकासमा दिगो असर पुर्याउँछ।
मदिराले युवाहरूलाई कस्तो असर पार्छ भन्नेबारे अनुसन्धानकर्ताहरूले पत्ता लगाएको विषयबारे कुरा गर्दा म छक्क परेँ।
विश्वभरिबाट आएका अनुसन्धानले उमेर र मदिराबारेको साझा धारणाहरू उल्ट्याउन थालेका छन्। जस्तैकी युरोपेलीहरूको यूके र अमेरिकाका मानिसको भन्दा पिउने संस्कृति स्वास्थ्यकर छ भन्ने।
तथा त्यहाँ युवाहरूलाई घरमा खाना खाँदा पिउन छुट छ र त्यसकारण उनीहरू जिम्मेवारीपूर्ण तरिकाले मदिरा सेवन गर्छन् भन्ने।
यो नयाँ विज्ञानले हाम्रो विद्यमान कानुन परिवर्तन हुनुपर्छ कि पर्दैन भन्ने विषय जटिल छ तर यो तथ्यले कम्तीमा भावी पुस्तालाई कसरी पार्टी गर्ने भनेर सचेत छनौट गर्न सघाउँछ।
अभिभावकलाई पनि मदिरापानको संस्कृति घरमा कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय गर्न सघाउँछ।
यो कुरामा स्पष्ट होऔँ: मदिरा भनेको विषाक्त पदार्थ नै हो। यसले निम्त्याउने खतराहरूमा घातक दुर्घटना, कलेजोमा खराबी र थुप्रै प्रकारका क्यान्सरहरू पर्छन्।
थोरै मात्रा भए पनि यसमा क्यान्सर गराउन सक्ने कार्सिनोजेनिक पदार्थ हुन्छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले घोषणा गरेको छ, “मदिरा सेवन गर्दा यति पिउँदा सुरक्षित हुन्छ र यसले स्वास्थ्यलाई असर गर्दैन भन्ने नै हुँदैन।”
मदिरा सेवनले दिने आनन्दभन्दा यसले निम्त्याउने खराबी धेरै हुन्छ। तर हाम्रा स्वास्थ्यसम्बन्धी नीतिहरू मध्यम सेवनले क्षति सीमित तुल्याउने सिद्धान्तबाट निर्देशित छ।
अमेरिकामा प्रति दिन पुरुषले दुई ग्लास र महिलाले एक ग्लासभन्दा बढी पिउन नहुने भनिएको छ र अन्य देशहरूले पनि त्यही निर्देशिका पछ्याएका छन्।
बियर र वाइनलाई आम रूपमा सुरक्षित पेय पदार्थको रूपमा लिइए पनि अमेरिकाको निर्देशिका अनुसार फरक पार्ने भनेको कति मात्रामा मदिरा सेवन गरियो भन्ने रहन्छ।
मदिरा सेवनले गर्ने हानि सीमित तुल्याउन सबैतिर उस्तै तर्कका आधारमा नियम तय गरिएको छ। कानुनले बालबालिकालाई किन्न दिँदैन भने उमेर पुगेका युवालाई चाहिँ उनीहरूकै इच्छा अनुसार गर्न दिन्छ।
धेरैजसो युरोपेली देशहरूमा मदिरा किन्न पाउने उमेर १८ रहेको छ भने अमेरिकामा त्यो उमेर २१ तय गरिएको छ। यद्यपि कानुनले मदिरा पिउने न्यूनतम उमेर तय गरे पनि मदिरापान भर्खरैका युवाका लागि किन बढी खतरनाक छ भन्ने थुप्रै कारणहरू छन्।
एउटा भनेको शरीरको आकार र प्रकार हो। २१ वर्ष नपुग्दासम्म उनीहरूले आफ्नो वयस्क उचाइ ग्रहण गरेका हुँदैनन्। , त्यसपछि पनि ३० वा ४० मा पुग्दाजस्तो शरीरको आकार ग्रहण नगरेका हुन सक्छन्।
“त्यसैले पनि रक्सीको एक गिलास पिउँदा उमेर पुगेका वयस्क भन्दा भर्खरैका युवाको रगतमा धेरै नशा दिन्छ,” पिउने न्यूनतम उमेर बढाउनुपर्ने विषयबारे लेखिएको बियोन्ड लेजिस्लेसनका लेखक तथा मास्ट्रिख्ट विश्वविद्यालयका पोष्ट डक्टोरल अनुसन्धानकर्ता रिट रुडबीनले भने।
जब तपाईँले मदिरा पिउनुहुन्छ यो तपाईँको रक्त प्रणालीमा प्रवेश गर्छ र शरीरभरि फैलिन्छ। पाँच मिनेटभित्र नै दिमागलाई हानि पुर्याउने पदार्थहरूबाट जोगाउने ब्लड-ब्रेन- ब्यारिअर (मस्तिष्क- रगत- अवरोधक) लाई पार गरेर मदिरा तपाईँको दिमागमा पुग्छ।
“तुलनात्मक रूपमा युवाको दिमागमा मदिराको धेरै हिस्सा पुग्छ र यो कारणले पनि युवाहरूलाई अल्कोहल पोइजन हुने सम्भावना धेरै रहन्छ,” रुडबीनले भने। खप्परभित्र देखा पर्ने परिवर्तनहरू उत्तिकै महत्त्वपूर्ण छन्।
विगतमा स्नायु विकास हाम्रो किशोरावस्थाको सुरुकै चरणमा रोकिने ठानिएको थियो तर हालैका बृहत् अनुसन्धानले भने किशोरावस्थामा पनि मस्तिष्क विकास जटिल अवस्थामा हुने र त्यो कम्तीमा २५ वर्षसम्म रहने देखाएका छन्।
सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमा एउटा कोषलाई अर्को कोषसँग सञ्चार गर्न सघाउने “ग्रे म्याटर” को विस्तारमा ह्रास अनि सँगसँगै एक्जन भनिने लामो दुरीको सम्पर्कसँग सम्बन्धित ‘ह्वाइट म्याटर’ को चाहिँ द्रुत विस्तार पर्छन्। “त्यो भनेको मस्तिष्कका ठूला राजमार्ग जस्तै हुन्,” मेडिकल युनिभर्सिटी अफ साउथ क्यारोलाइनाकी न्यूरोसाइकोलोजिष्ट लिन्डसे स्क्वीग्लियाले भनिन्। यसको परिणाम भनेको एकदमै प्रभावकारी स्नायु सञ्जाल हो जसले सूचनालाई छिट्टै प्रशोधन गर्न सक्छ।
व्यक्तिको भावनात्मक पक्ष सम्बोधन गर्ने लिम्बिक सिस्टम सबैभन्दा पहिला परिपक्व हुन्छ। “मस्तिष्कको यो क्षेत्र किशोरावस्थामा नै वयस्कजस्तै भइसक्छ,” स्क्वीग्लियाले व्याख्या गरिन्।
निधारभन्दा पछाडि रहेको प्रिफ्रन्टल कर्टेक्स विस्तारै परिपक्व हुन्छ। यो क्षेत्र उच्च तहको चिन्तनका लागि जिम्मेवार हुन्छ जसको सम्बन्ध भावनाको नियन्त्रण, निर्णय क्षमता र स्वनियन्त्रण जस्ता पक्षसँग रहन्छ।
यी दुई क्षेत्रको विकासको तुलनात्मक असन्तुलनले किन किशोरावस्थाका मानिसहरू र युवाहरू पाका मानिसहरूभन्दा धेरै खतरा मोल्न सक्ने हुन्छन् भन्ने व्याख्या गर्छ।
“धेरै मानिसले किशोर मस्तिष्कलाई ब्रेक विनाको गाडी भनी व्याख्या गर्छन्,” स्क्वीग्लियाले भनिन्। हाम्रा न्युरोनहरू रक्सीमा डुब्नु भनेको त्यस्तो अवस्थालाई थप उक्साउनु हो। खास गरी उत्ताउला किशोरावस्थाका मानिसहरूलाई रक्सीले खराब व्यवहार र अपराधको दुष्चक्रमा फसाउँछ।
“आवेगी किशोरावस्थाका मानिसहरूले जति मदिरा पिउँछन् त्यति नै उनीहरूमा थप आवेगपूर्ण व्यवहार देखिन्छ,” स्क्वीग्लियाले भनिन्। धेरै मात्रामा र नियमित जस्तो किशोरावस्थाका मानिसहरूले मदिरा पिउँदा त्यसले उनीहरूको दिमागको दीर्घकालीन विकासमा असर पार्छ।
“मदिरा पिउने किशोरावस्थाका मानिसमा ती ठूला राजमार्ग त्यति व्यवस्थित हुन पाउँदैनन,” उनले भनिन्। रक्सी खाएका कारण भएका परिणाम तुरुन्त स्पष्ट नहुन सक्ने देखिएको छ। एक युवा मस्तिष्कले समस्या समाधानका लागि जिम्मेबार उसको क्षेत्रमा रहेको कमी पूरा गर्न अलि बढी मेहनत गर्न सक्छ। तर त्यो सधैँ त्यस्तै भइराख्दैन।
“धेरै वर्ष रक्सी पिइसकेपछि हामीले मस्तिष्कमा कम सक्रियता र संज्ञानात्मक परीक्षण गर्दा खराब भएको देख्यौँ,” स्क्वीग्लियाले भनिन्। कम उमेरमै पिउन सुरु गर्दा त्यसले मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ र समय बढ्दै जाँदा रक्सीको दुरुपयोगको खतरा पनि बढाउँछ।
यो खासगरी रक्सीको दुर्व्यसनमा परेका पारिवारिक इतिहास भएका मानिसका लागि सत्य सावित हुन सक्छ। जति छिटो उनीहरूले पिउन सुरु गर्छन् त्यति छिटो उनीहरूले पिउने बानी समस्याका रूपमा विकास गर्न सक्छन्।
मस्तिष्कको विकासको महत्त्वपूर्ण अवधिका बेला रक्सीको दुरुपयोगको बानी बसाल्ने जीन प्रभावशाली देखिन्छन्। “रक्सी पिउने जति लामो समय पर्खन सक्यो त्यति यी जीनहरू प्रभावशाली बन्न नपाउने देखिन्छ,” स्क्वीग्लिया भन्छिन्।
यी अध्ययनका निष्कर्षले कुनै किशोरको रोजाइलाई कसरी प्रभावित पार्न सक्छ – वा तिनका बाबु आमाले कहिले र कसरी उनीहरूलाई घरमा रक्सी पिउन दिने भन्ने निर्णयलाई प्रभावित पार्न सक्छ?
“हाम्रो सन्देश हो जति सक्नुहुन्छ त्यति ढिलो गर्नुहोस्,” स्केग्लिए भन्छन् “किनभने तिम्रो मस्तिष्क अझ पनि विकास भइरहेको छ। रक्सी वा अरू खानेकुरा प्रयोग गर्न थाल्नु अघि तिम्रो मस्तिष्कलाई जति सक्छौ उति परिपक्व बन्न देउ।”
यो सुझावलाई कानुनमा नै व्यवस्था गर्ने कि नगर्ने भन्ने अर्को कुरा हो। स्क्वीग्लिया भन्छिन् रक्सी खाने बानीबारे उनले दिने सार्वजनिक भाषणहरूमा सहभागीहरूले धेरैजसो “पिउने युरोपेली नमुना” बारे औँल्याउँछन्। फ्रान्स जस्ता मुलुकहरूमा उमेर पुगी नसकेका किशोर किशोरीलाई एक ग्लास वाइन या बीयर परिवारसँगको खाना खाने समयमा खान अनुमति दिइन्छ।
युरोप बाहिर पनि विस्तारै र थोरै रक्सी खान सिकाउँदा युवाहरूलाई पछि गएर एकै पटक अति धेरै रक्सी खाने बानी नपर्ने ठानिन्छ। जबकि रोक्दा खेरि उल्टै “खान नदिने कुराप्रति झन् बढी आकर्षित” हुने हुन सक्छ।
यो गलत हो। “अनुसन्धानले देखाएको छ कि रक्सी खान सजिलै अनुमति दिने बाबुआमाका छोराछोरीको पछि गएर जीवनमा धेरै रक्सी खाने बानी हुन सक्छ,” स्क्वीग्लिया भन्छिन्। रोक्दा झन् लालायित हुने विश्वास बारे गरिएको अध्ययनले देखाएको छ कि “किशोर अवस्थामा रक्सी खाँदा कडा नियम लगाउने बाबु आमाका छोराछोरीका कम खाने र रक्सी सम्बन्धी खतराजन्य बानी कमै हुने देखाएको छ।”
धेरै प्रमाणहरूले देखाएका छन् कि रक्सी पिउने सम्बन्धी कडा नियम भएका ठाउँ – जहाँ किन्न पाउने उमेर पनि बढी हुन्छ – त्यसले बढ्ता जिम्मेवारपूर्ण रक्सी खाने बानी बसाउन प्रोत्साहन गर्छ।
अस्ट्रियाको जोहानेस केपलेर विश्वविद्यालय लिन्जका अलेक्जेन्डर अहमरले गरेको अध्ययन हेरौँ न जहाँ १६ वर्ष माथिका किशोर किशोरीले बीयर अथवा वाइन किन्न पाउने कानुन छ। यदि कडा कानुनले झन् बढी खान प्रोत्साहन गर्छ भनेर मान्ने हो भने अमेरिकामा भन्दा अस्ट्रियामा रक्सी पिउने सम्बन्धी समस्या कम हुनुपर्ने हो। अमेरिकामा रक्सी खान पाउने उमेर २१ हो। तर अध्ययन अनुसार त्यस्तो त भएको छैन।
दुवै देशमा रक्सी खान पाउने उमेर पार गरेपछि एक पटकमा अति धेरै रक्सी पिउने समस्या झन् बढेको पाइएको छ।
“तर अस्ट्रियामा १६ वर्षको उमेरमा रक्सी खान पाउने ठाउँमा २१ वर्षको उमेरमा अमेरिकामा रक्सी खान पाउँदा भएको समस्या तुलना गर्दा अस्ट्रियामा २५ प्रतिशतले बढी देखिन्छ,” अहमर भन्छन्।
फरक शब्दमा भन्नुपर्दा पर्खाइले ढिला उमेरमा रक्सी खाँदा बढ्ता जिम्मेवार तरिकाले रक्सी खान प्रोत्साहन गरेको पाइयो।
अहमरले आफ्ना सहभागीहरूलाई तिनका व्यवहारबारे गरेका प्रश्नबाट के पत्ता लाग्यो भने रक्सी पिउने बानीमा रहेका खतराबारेको धारणा १६ वर्ष उमेर पार गर्ने बित्तिकै नाटकीय रूपमा परिवर्तन भएको पाइयो।
“जब रक्सी वैध रूपमा खान पाउने उमेर पुग्छ त्यसपछि किशोर उमेरका व्यक्तिहरू रक्सी त्यसअघि भन्दा कम खतराजन्य भएको ठान्छन्,” अहमर भन्छन्। १६ वर्षको उमेरमा आउने झुटो सुरक्षा भावना खतरनाक हुन सक्छ जबकि २१ वर्षको उमेरमा उनीहरूको मस्तिष्क रक्सी पिउने बानी बारे निर्णय लिन बढ्ता परिपक्व भइसकेको हुन्छ।
र, स्वास्थ्यकर भनिएको युरोपेली पिउने बानी पनि जीवन जिउँदै जाँदा सत्य साबित हुँदैन। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाए अनुसार युरोपेली क्षेत्रमा मदिराका कारण हुने क्यान्सरहरू कम वा मध्यम खाले मदिरापानसँग सम्बन्धित पाइएको छ।
मदिरापान गर्ने वैधानिक उमेर बढाउनु ठीक?
वैज्ञानिक प्रमाणका आधारमा के सरकारहरूले रक्सी पिउने वैधानिक उमेर २५ वा त्यस भन्दा बढी बनाउनु ठीक होला त – जुनबेला मस्तिष्कको विकास हुन रोकिएको हुन्छ?
विज्ञहरू भन्छन् यसको जबाफ त्यति सजिलो छैन किनभने आम सर्वसाधारणको स्वास्थ्यमा हुने फाइदा र मानिसहरूको वैयक्तिक स्वतन्त्रता सम्बन्धी धारणा सन्तुलनमा राख्नुपर्ने हुन्छ।
“मेरो विचारमा रक्सी पिउन पाउने उमेर २५ बनाउनलाई धेरैको रुचि नहुन सक्छ” म्याकमास्टर विश्वविद्यालय ह्यामिल्टन ओन्टारियोमा दुर्व्यसनी व्यवहार अध्ययन गरिरहेका जेम्स म्याक्किलोप भन्छन्।
“सेनामा जाने वा मतदान गर्न सक्ने कानुनी उमेर १८ वा १९ राख्ने तर रक्सी पिउने कुराको न्यूनतम उमेर बढाउँदा त्यसलाई पाखण्डी धारणाका रूपमा हेर्न सक्छन्।”
अहमर सहमति जनाउँछन्, “कुनै समयमा हामीले मानिसहरूलाई आफैँ निर्णय गर्न छोडिदिनुपर्छ।”
म्याक्किलोपको सुझाव छ, “किशोर किशोरीहरूलाई रक्सीको खतराबारे राम्रो शिक्षा दिनु र त्यसले कसरी परिपक्व बन्दै गएको मस्तिष्कलाई असर पार्छ भन्ने बुझाउन महत्त्वपूर्ण हुन सक्छ।”
“मानिसहरू प्राकृतिक रूपमै जिम्मेवार बानी बेहोरा विकास गर्नेछन् भन्ने अनुमान गर्नु चाहिँ अलि बढी नै आशावादी धारणा हो।”
मेरो किशोरावस्थालाई फर्केर हेर्दा मेरो मस्तिष्कको निरन्तर परिवर्तनबारे जान्न र रक्सीले मेरो मस्तिष्कको विकासमा कस्तो असर पर्छ भन्नेबारे जान्न उत्सुक रहन्थेँ होला।
म रक्सी नै नपिउने व्यक्ति बन्थेँ हुँला त भन्दिनँ – किनभने मेरो दीर्घकालीन स्वास्थ्यमा पर्ने जोखिम थाहा पाउँदा पाउँदै म अहिले पनि पिउँछु – तर थप रक्सी किन्नेबारे दुई पटक पक्कै सोच्थेँ।
Facebook Comment