टिप्सको पैसाले जग्गा किनेर व्यापार थालेका भट्ट, मजदुरबाट मालिक हुँदै होटल व्यवसायीको नेता
चितवन। कुनै समय होटलमा मजदुरका रुपमा काम गर्न छिरेका एक युवा होटलको मालिक हुँदै अहिले होटल व्यवसायीको नेता बनेका छन्।
विसं २०५२ मा नारायणगढको एक रेष्टुरेण्टमा मजदुरका रुपमा प्रवेश गरेका उनी अहिले दुई रेष्टुरेण्ट र एउटा होटलका मालिक बनेका हुन्। यति मात्रै होइन उनी होटल व्यवसायी संघ चितवनको अध्यक्ष पनि बनेका छन्।
गोरखाको घ्याम्पेसालमा विसं २०३७ मा जन्मिएका लोकनाथ भट्ट सफल व्यवसायी बनेका हुन्। विसं २०४२ मा नवलपरासीको प्रगतिनगरमा बसाइ सरेर उनको परिवार आएको हो। भविष्यमा डाक्टर बन्ने संकल्पका साथ अध्ययनमा राम्रो सफलता हासिल गर्दै गरेका उनलाई अध्ययनमा अघि बढ्ने बाटो भने सहज भएन।
मध्यम परिवारका उनकी आमा बिरामी भएर ठूलो धनराशि खर्च भएपछि परिवारमा आर्थिक समस्या थपिँदै गयो। उनी अध्ययनलाई अघि बढाउन सक्ने अवस्था नदेखेपछि माध्यमिक तहको पढाइ छाडेर रोजगारीका लागि नारायणगढ बजार छिरे। नारायणगढमा रहेको भेटघाट रेष्टुरेण्टमा उनका मामा सीताराम पन्थ काम गर्थे। मामाको सहयोगले सोही रेष्टुरेण्टमा उनी रोजगारीमा प्रवेश गरे।
सुरुका दिनमा प्रतिमहिना रु पाँच सय तलबमा जागिर सुरु गरेका कृष्णले १० वर्षसम्म सोही रेष्टुरेण्टमा काम गरे। रेष्टुरेण्टमा टेबुलबाट भाँडा उठाउनेबाट सुरु भएको उनको काम रेष्टुरेण्टका सबै खालको काम गर्ने अवसरमा परिणत भयो।
उनले भने, “जब मैले रेष्टुरेण्ट छाड्दै गर्दा सबै काम गर्नसक्ने भएको थिएँ ।” उनका अनुसार रेष्टुरेण्ट छाड्ने बेलामा उनको तलब रु आठ हजार पुगेको थियो। त्यसो त सो अवधिमा तलबभन्दा बढी पुरस्कार (टिप्स) स्वरुप पैसा उनले पाउँथे। उनले भने, “१० वटासम्म टेबल मैले एक्लै भ्याउँथे, कम्तीमा सात टेबलकाले टिप्स दिन्थे ।”
टिप्सको पैसा जम्मा गरेर भरतपुरको कृष्णपुरमा उनले घडेरी किने। विवाहपछि होटल छोड्दै गर्दा टिप्सले किनेको जग्गा बेचेको पैसाले उनले विसं २०६२ मा आफ्नै रेष्टुरेण्ट खोले। उनलाई रेष्टुरेण्ट खोल्न त्यति पैसाले पुगेन। नपुग पैसा चर्को ब्याजमा लिएर उनले दैनिक तिरे। उनले भने, “मासु, मदिरा उधारो किनेर बेच्दै तिर्दै गरेँ, अलिअलि बेचेको पैसाले ऋण तिर्दै गएँ।”
रु तीन लाख २५ हजारमा कृष्णले होटल किनेका थिए। दुई जना कर्मचारी राखेर श्रीमान् श्रीमती मिलेर खटे। दुर्भाग्य उनले होटल सञ्चालन गरेको १७ दिनमा १९ दिने आन्दोलनले छोयो। उनले मासिक भाडा रु १३ हजार तिर्नुपथ्र्यो।
अन्ततः बन्द खुलेसँगै फेरी राम्रो व्यापार हुन थाल्यो। नारायणगढमा रहेको उनको जमघट रेष्टुरेण्ट दिनानुदिन राम्रै बन्दै गयो। सुरुका दिनमा होटल बाहिर बसेर ग्राहक बोलाउने कृष्णको अहिले भरतपुरमा अर्को रेष्टुरेण्ट र होटल सञ्चालनमा छन्।
भरतपुरमा दुई कठ्ठा तीन धुर जग्गा किनेर उनले आफ्नै होटल र रेष्टुरेण्ट सुरु गरेका हुन्। अहिलेसम्म आइपुग्दै गर्दा नारायणगढको रेष्टुरेण्टमा मासिक रु एक लाख हाराहारी भाडा तिर्ने कृष्णको भरतपुरमा होटल र रेष्टुरेण्टको बैंकको मासिक रु सात लाख तिर्नुपर्छ। दुवैतिर गरेर २८ जनाले रोजगारी पाएका छन्। त्यसो त आठ जनालाई उनले पाँच प्रतिशतका दरले लगानीविना सेयर दिएका छन्।
हालै मात्र होटल व्यवसायी संघ चितवनको उनी अध्यक्ष भए । एक हजार दुई सय ३१ सदस्य रहेको संस्थाको नेतृत्व गर्दै गर्दा आफ्नो विगतको संघर्षलाई उनी सम्झन्छन्। काम गर्दै गरेको रेष्टुरेण्ट छाडेर बेलायत जाने तयारीमा रहेका कृष्ण नेपालमै रोकिएर आफ्नो व्यवसाय गरेकामा निकै खुसी छन्।
सँगै पढेका साथी उपसचिव, डाक्टर लगायतका पेशामा छन्। उनले भने, “मलाई विदेश नगएकामा पछुतो लागेको छैन, आफू खुसी हुन आफूभन्दा तल भएकालाई हेर्नुपर्दो रहेछ, काम गर्न आफूभन्दा माथि गएकालाई हेर्नु पर्दो रहेछ ।” नेपालमै लगनशील भएर काम गर्ने हो भने विदेश जानु नपर्ने उनको अनुभव छ।
एक छोरा र एक छोरी अहिले भरतपुरका राम्रा विद्यालयमा पढाउँदै गर्नुभएका कृष्णले छोरालाई होटल म्यानेजमेन्ट पढाउने सोच बनाएका छन्। त्यसका लागि एक ठूलो होटलमा उनको लगानी छ। कक्षा १२ पढ्दै गरेकी छोरीलाई डाक्टर बनाएर काम गर्न एक निजी अस्पतालमा उनले सेयर लगानी गरेका छन्।
Facebook Comment