कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १४ औं महाधिवेशन ‘अन्योल’ मा

डिसी नेपाल
१७ साउन २०७६ ७:१८

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देखिएको पछिल्लो विवाद टुंग्याउने जिम्मा पदाधिकारीलाई दिइएको छ। पार्टीका अन्तरिम संरचना गठन गरेर आगामी महाधिवेशनको कार्यतालिका निर्माणको जिम्मा पदाधिकारीलाई दिने सहमति जुटाएको छ।

‘अन्तरिम संरचना निर्माणका लागि पदाधिकारीले शुक्रबार संक्रमणकालीन व्यवस्थाअनुसार प्याकेज लिएर आउने गरी बैठक सकिएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘पछिल्लो विवाद मिलाउने जिम्मा पदाधिकारीलाई नै जिम्मा लगाइएको छ ।’ कांग्रेसले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

शुक्रबार बस्ने बैठकमा पदाधिकारीहरूले अन्तरिम संरचना गठनका लागि आवश्यक पर्ने विधानका धारा निलम्बन, गठन पद्धति, गठन गरिसक्नुपर्ने तिथि र १४ औं महाधिवेशनको तालिकाका बारेमा निकास निकाल्ने गरी प्याकेज बनाएर पेस गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।
कांग्रेसमा साउन ९ गतेबाट लगातार पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठनपश्चात् १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल हुँदै आएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, शंकर भण्डारीले आ–आफ्नो विचार व्यक्त गरेका थिए।

विधानको संक्रमणकालीन व्यवस्थाअनुसार कांग्रेसमा तल्लो तहका संरचना गठन नगरी महाधिवेशन प्रक्रिया अघि बढाउन नसकिने बाध्यकारी व्यवस्था छ ।

बैठकमा संस्थापन पक्षले छलफल चलिरहेको एजेण्डासँगै थप अन्य तीनवटा एजेण्डा पनि छलफलका लागि पेस गर्न खोजेको थियो। तर, वरिष्ठ नेता पौडेलले छलफल भइरहेको एजेण्डा टुंगो नलगाई अर्को एजेण्डामा प्रवेश गर्न नहुने भन्दै आपत्ति जनाएका थिए।

संस्थापन पक्षले बुधबार छलफल भइरहेको एजेण्डासँगै विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, पहिलो चरणको राष्ट्रिय जागरण अभियानको प्रतिवेदन प्रस्तुत र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य प्रगति विवरण प्रस्तुत गर्ने एजेण्डा पेस गर्न खोजेको थियो।

जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षले पार्टीका अन्तरिम संरचना गठन गरेर मात्रै महाधिवेशन प्रक्रियामा जान सकिने बताइरहेको छ भने पौडेल समूह बैठकबाटै १४औं महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्माण गरिनुपर्ने माग गरिरहेको छ ।

यस्तै, तेस्रो धारका रूपमा चिनिएको नेता कृष्णप्रसाद सिटौला समूहले विधानमा गरिएको प्रावधानअनुरूप संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम संरचना गठन गरेर महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिँदै आएको छ ।

विधानको संक्रमणकालीन व्यवस्थाअनुसार कांग्रेसमा तल्लो तहका संरचना गठन नगरी महाधिवेशन प्रक्रिया अघि बढाउन नसकिने बाध्यकारी व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *