अवसरका लागि माओवादी मापदण्ड : आधार इलाकालाई पहिलो प्राथमिकता, नातेदारलाई अनिवार्य
काठमाडौं। नेकपा(माओवादी केन्द्र)मा अहिले पनि रोल्पा रुकुमको महत्व कायमै छ। तत्कालीन जनयुद्धकालमा आधार इलाकाका रुपमा रहेका यिनै भूगोलमा हालसम्मै माओवादीको जनमत पनि बलियो नै छ।
पटक पटक लाभको पदधारण गर्ने पनि अधिकांश रोल्पा रुकुमका नै देखिन्छन्। माओवादीको आन्तरिक राजनीतिमा अवसरका लागि रोल्पा रुकुमको हानाथाप नै हुने गर्दछ।
माओवादीमा रोल्पा र रुकुमका नेताहरुबीच दलीय भूमिका एवं राजकीय जिम्मेवारी हत्याउन प्रतिस्पर्धा नै हुने गर्दछ। प्रचण्डले फागुन २१ गते गठबन्धन परिवर्तन गरेसँगै रोल्पाका माओवादी नेता वर्षमान पुन अर्थमन्त्री भएका छन्।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रुकुमका जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेका थिए। रोल्पा र रुकुमको आलोपालो महत्वपूर्र्ण मन्त्रालय सम्हाल्ने होडबाजी र पार्टीभित्रै पनि जिम्मेवारी लिन तीव्र रस्साकस्सी नै चलिरहेको छ।
लाभको पदमा पुग्ने अवसर रुकुम भन्दा अझै रोल्पाले पाएको छ। रुकुमका सिनियर नेताहरु शर्माकै कारणले अलग भएपछि उनी मात्रै निर्विकल्प देखिएका छन्। र, एक्लै तारन्तार लाभ लिइरहेका छन्।
रुकुमका माओवादी सिनियर नेताहरु लोकेन्द्र बिष्ट र हेमन्तप्रकाश वली किनाराकृत भएपछि शर्माले एकल बर्चस्व कायम गर्न सफल भएका छन्। जिल्लामा आफ्नो प्रभाव कायम राखेका उनी मनग्ये लाभ लिने नेतामा पर्दछन्।
यता, रोल्पामा भने नेताहरु बग्रेल्ती भएकाले पुन नै सर्वेसर्वा देखिएपनि रुकुममा शर्माको जस्तो एकल प्रभाव भने कायम गर्न सकेका छैनन्।
पार्टीमा यी दुबै नेताहरु समान प्रतिस्पर्धी हुन्। आगामी नेतृत्वका लागि एक अर्काका प्रतिद्वन्द्वी देखिएका शर्मा र पुन राजकीय लाभ हत्याउन पनि आन्तरिक प्रतिस्पर्धामै उत्रिन्छन्।
अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने स्थिति नभएपनि यी नेताद्वय त्यस पछिको उत्तराधिकारीका लागि तीव्र आकांक्षी हुन्।
रोल्पाका माओवादी नेताहरु अधिकांश राजकीय भूमिका सम्हाल्न सफल भइसकेका छन् भने कतिपय ओझेलमा पनि परेका पनि छन्।
अर्थमन्त्री वर्षमान पुनको दम्पति मनग्ये लाभको पदधारण गर्नेमा पर्दछन्। पुनकी श्रीमती ओनसरी घर्ती सभामुख जस्तो गरिमामय पद सम्हालिसकेकी छिन् भने पुन स्वयम् दोस्रो कार्यकालका लागि अर्थमन्त्री भएका छन्।
घर्ती यस अघि खेलकुद मन्त्री समेत भएकी थिइन् भने पुन पनि अर्थसहित शान्ति तथा पुनर्निमाण, उर्जा मन्त्री लगायतको जिम्मेवारी सम्हालेका थिए।
रोल्पाका माओवादी नेताहरु मध्ये नन्दबहादुर पुन मुलककै दोस्रो उच्च पद उपराष्ट्रपतिको भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेका थिए। करिब दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी वहन गरेर उनी अहिले बाहिरिएका छन्।
यस पटक राष्ट्रियसभा निर्वाचित भएका रोल्पाकै झक्कु सुवेदी राष्ट्रिय सभा अध्यक्षको आकांक्षी थिए। तथापि उनलाई पन्छाएर माओवादीले अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाललाई अघि सारेपछि सुवेदी अध्यक्ष बन्न बञ्चित भएका हुन्।
उनी रोल्पाका माओवादी समकालीन नेताहरु मध्ये कृष्णबहादुर महरा पछिका सिनियर नेता हुन्। २०४९ सालमै रोल्पाको जिविस सभापति भएका सुवेदी तत्कालीन नेकपा(एकता केन्द्र)का रोल्पा सेक्रेटरी रहेका थिए।
सोही एकताकेन्द्रको विभाजित एक घटकले नयाँ दल नेकपा(माओवादी) गठन गरेर जनयुद्धमा होमिएको थियो। एकताकेन्द्रको चुनावी मोर्चाको रुपमा रहेको संयुक्त जनमोर्चाबाट जिविस सभापति भएका उनले दुई वर्ष पनि पदमा रहन पाएनन्। उनको दलले २०५२ सालबाट जनयुद्ध सुरु गरेपछि सुवेदी भूमिगत भएका थिए।
सुवेदी रोल्पाका सिनियर नेता भएपनि खासै लाभको पद धारण गर्ने अवसर पाएका छैनन्। २०६४ को निर्वाचनमा काठमाडौं २ बाट तत्कालीन एमाले महासचिव माधव कुमार नेपाललाई पराजित गरेर चर्चामा आएपनि त्यसयता कुनै निर्वाचनमा जित हात पार्न सकेनन्।
यस्तै रोल्पाकी माओवादी नेतृ रहेकी जयपुरी घर्ती भने पछिल्लो समय गुमनाम रहेकी छिन्। उनी २०६४ सालमा रोल्पा १ बाट प्रत्यक्ष निर्वाचित भए यता कुनै पनि निर्वाचनमा उम्मेदवार बनेकी छैनन्।
वर्षमान पत्नी ओनसरी सभामुख जस्तो गरिमामय पदमा पुगेपनि समकक्षी जयपुरी भने ओझेलमा परेकी छिन्। २०७४ मा समानुपातिक तर्फ सांसद रहेकी उनी झलनाथ खनाल प्रधनानमन्त्री हुँदा छोटो समयमै मन्त्रीबाट पदमुक्त भएकी थिइन्।
रोल्पाका अर्का माओवादी नेता कुलप्रसाद केसी पनि पुराना नेतामा पर्दछन्। तर उनी पनि खासै लाभको पदधारण गर्ने नेतामा पर्दैनन्। यसअघि लुम्बिनीको मुख्यमन्त्री भएका केसी यसपाली कतैपनि उम्मेदवार बन्न पाएनन्।
२०७४ को निर्वाचनमा रोल्पाको प्रदेशसभातर्फ क्षेत्र नं १ बाट निर्वाचित भएका उनी लुम्बिनीको आन्तरिक मामिला हुँदै तत्कालीन नेकपा विभाजित भएपछि मुख्यमन्त्री भएका थिए।
केसी पनि रोल्पाका सिनियर नेताहरु मध्येमा पर्दछन्। माओवादी विभाजित भएपछि मोहन वैद्यतिर लागेका उनी पछि रामबहादुर थापासँग फर्किएका हुन्।
हाल पार्टीमा अवसर प्राप्त गर्न रोल्पा, रुकुम, जाजरकोट लगायत तत्कालीन राप्ती र कर्णाली भूगोलका नेताहरु हुनैपर्ने मापदण्डबाहेक अध्यक्ष प्रचण्डका परिवारिक नातेदार हुनुपर्ने भाष्य पनि निर्माण भएको छ।
यस अगावै प्रचण्डले छोरी रेणुलाई दुई कार्यकाल भरतपुर महानगरको मेयर बनाउन सफल भए भने कान्छी छोरी गंगालाई सचिवालयमा राखेका छन्।
प्रचण्डले छोरी गंगाका पति ज्वाइँ जिवन आचार्यलाई कोशीको सांसद हुँदै अघिल्लो कार्यकालमा मन्त्री समेत बनाएका थिए। उनले भर्खरै भाइलाई राष्ट्रियसभाको अध्यक्ष बनाएर पुनः परिवार मोह दर्शाएका छन्।
प्रचण्डले यसअघि सुदूरपश्चिममा स्थायी समिति सदस्य खगराज भट्टराई भूमिकाविहीन बनाएर पार्टीको केन्द्रीय सदस्य रहेकी बुहारी बिना मगरलाई सहइन्चार्जको जिम्मेवारी प्रदान गरेका थिए।
माओवादीमा अध्यक्ष प्रचण्डलाई लाग्ने परिवार मोहको आरोप भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाइएपछि थप पुनर्पुष्टि गरेको छ।
Facebook Comment