नयाँ गठबन्धनमा प्रचण्डलाई केही गरेर देखाउने अवसर
प्रचण्डको अस्थिर र ब्यक्तिगत स्वार्थको कारण नेपालको राजनीति सधैं अस्थिर भइरहेको छ। उनीले आफैंले आफू बाचुँञ्जेल उथलपुथल भइरहने भनेर नेपालको राजनीति अस्थिर भइरहन्छ भन्ने सन्देश दिएका छन्।
त्यसको अर्थ प्रचण्डको बहुलठ्ठीपन मात्र होइन आफू अकालमा मर्न सकिन्छ या जेलमा पर्न सकिन्छ भन्ने डर कायम रहेको देखिन्छ। उनले जनता र देशको बिरुद्ध धेरै घात गरिसकेका छन्। माओबादी तेश्रो ठूलो दल भएर पनि कुनै दलको बहुमत नभएकोले सत्ताको साँचो माओबादीसँग छ।
त्यही भएर प्रचण्डले १५ महिनामा दिनमा तीन पटकसम्म सत्ता परिबर्तन गरिसकेका छन्। तैपनि सत्ताका हकदार ठूला नेताहरु निर्वाचनको नियम कानुनमा संशोधन गरि कुनैपनि दलको बहुमत आउने बाटो बनाउने किन प्रयास गरिरहेका छैनन्?
यसका लागि कमसेकम समानुपातिकको ब्यबस्था हटाउनुपर्छ। या समानुपातिकबाट आउने सांसद सदस्यलाई राष्ट्रियसभामा लगेर थन्क्याउनु पर्छ। यति नगरेसम्म गठजोडको सरकार सधैंभरि यथावत् हुने संभावना छ।
पछिल्लो अबस्थामा माओवादीले नेपाली कांग्रेसलाई लात मारेर फेरि एमालेसहितका दलहरुलाई साथ लिएर अर्को गठबन्धनको सरकार बनाएको छ। यसमा नयाँ दल भनिएको रवि लामिछानेको स्वतन्त्र दल सामेल भएको छ। जुन दल भर्खर स्थापना भएपनि धेरै युवाको आशाको केन्द्र भएको छ।
प्रचण्डले तेश्रो पटक विश्वासको मत पाइसकेका छन्। यसपालि कमसेकम अहिले संबिधानमा भएको समानुपातिकको ब्यबस्था हटाउन या समानुपातिकका सांसदहरुलाई राष्ट्रिय सभामा लैजाने ब्यबस्था गर्न सकेमात्र पनि छबिलालको छवि सुध्रिन सक्छ।
तर रवि लामिछानेलाई शक्ति र सत्ताको लोभले गृह मन्त्रालय नै चाहियो। जसको सही सदुपयोग गर्न सके मात्र स्वतन्त्र दललाई लाभ पुग्नेछ। अन्यथा रवि लामिछानेले यसको दुरुपयोग गरे या लाचार बनेर केही गर्न नसके उनको सत्ताको भ¥याङ झर्न सक्छ।
खासगरी अपराधी र भ्रष्टचारमा दाग लागेका माथिल्लो तहका नेतालाई पक्राउ गर्न र लघुवित्त पीडक, मिटरब्याजीलगायत सहकारीका ठगलाई कारवाही गर्न सकेमात्र रवि लामिछानेको दलको छवि राम्रो होला। अन्यथा रविको छवि खस्कने छ।
जसरी नारायणकाजीलाई प्रचण्डको पूरा सहयोग थियो र उनले राम्रो काम गरेर देखाउन सके। माथिल्लो तहका आरजू देउवाहरुलाई पक्राउ गर्न शेरबहादुरको कारणले नसकेको प्रष्ट नै छ।
किनकि अनुसन्धानमा रहेका प्रहरी अधिकृतलाई शेरबहादुरको दवावमा अन्यत्र सरुवा गरेर अनुसन्धानमा बाधा पुर्याइएको थियो। के अब रवि लामिछानेले ती माथिल्लो ओहोदामा रहेका भ्रष्टहरु पूर्ब प्रधानमन्त्रीको ताँतीलाई पक्राउ गरेर कारवाही गर्न सक्छन्?
शायद उनले प्रयास पनि नगर्लान् कि? नेपाली जनताले हेर्न चाहन्छन् रविको फुर्ती बोल्ने मात्र हो कि गरेर देखाउने हुन्। तर उनले कारवाही सुरु गर्ना साथ उनीलाई हटाइने छ या राजीनामा मागिने छ।
यति मात्र भएपनि रविको इज्जत जोगिन सक्छ। उनी आफैं सहकारीको काण्डमा होमिइ सकेका छन्। यसबाट पनि उनी बाहिर आउन सहकारीका ठगलाई पक्राउ गर्न अनिबार्य भएको छ रविलाई।
यदि साँच्चै स्वतन्त्र दलले चाहेको भए शिक्षासँगै, कृषि, सिचाइँ र पर्यटन मन्त्रालयको जिम्मा लिनु पथ्र्यो। जहाँ सबै मन्त्रालय जनतासँग प्रतक्ष्य सरोकारका बिषय हन्। अहिले शिक्षा मन्त्रालय स्वतन्त्र दलको छ। त्यहाँ काम गरेर देखाउने अत्यन्त महत्वपूर्ण कार्य भनेको विश्वविद्यालयबाट राजनीति पुरातवरमा हटाउने।
शिक्षक र कर्मचारीको ट्रेड युनियन बन्द गराउने। यो महत्वपूर्ण कार्य गराउन सके देशको हितमा हुनेछ। अर्को अहिले सम्बद्र्धन दिएका मेडिकल कलेज दुर्गा प्रसाईंको झापाको बिएण्डसी मेडिकल कलेज र मनमोहन मेडिकल कलेजलाई बिद्यार्थी भर्ना गर्ने स्वीकृति तुरुन्त दिइहाल्नु पर्छ।
नर्सिङ पढाउने कलेजलाई रोकिनु हुँदैन जसको कारण हाम्रा होनाहार बिद्यार्थी बिहारको असुरक्षा खेपेर पनि पढ्न जान बाध्य भएका छन्। जसको कारण अरबौंको रुपैयाँ बिदेशिएको छ।
यदि मेडिकल कलेज र नर्सिङ कलेज पढाउने क्राइट एरिया केही सहुलियत तथा सुबिधापूर्ण बनाइ दिएर पनि हाम्रा विद्यार्थीले स्वदेशमा डक्टर नर्स पढ्न पाउन। यो अहिलेका शिक्षा मन्त्रीलाई काम देखाउने चुनौती र अवसर पनि हो।
अहिलेको देशको जटिल अबस्था कृषिमा छ। कृषकका खेतवारी बाँझा छन्। युवाहरु सबै बिदेशिएका छन्। तर त्यस्तो महत्वपूर्ण मन्त्रालय जान कुनैपनि दलहरु अनिच्छुक देखिए। किनकि त्यहाँ किसानबाट कमिसन पाइँदैन। यो अवसरलाई स्वतन्त्र दलले पनि गुमायो।
अहिले कृषकका समस्यालाई समाधान गरी व्यवसायिक कृषि खेतिमा जोड दिँदै कृषिमा स्वावलम्बन हुने अत्यन्त जरुरी छ। त्यसको लागि सबै कृषकका खेतवारीमा सिचाइँको प्रबन्ध र बिउ मलको मात्र ब्यबस्था गर्न सके हाम्रा युवाहरु स्वदेशमा बस्न सक्ने थिए।
सकिन्छ भने गाँजा खेतीलाई वैध बनाइ कृषकको आम्दानी बढाइयोस्। कृषकका तरकारी, दुध बजारमा पुगेर उचित मूल्य पाउन सके कृषकलाई ठूलो राहत हुने थियो। सरकारले गाउँका प्रत्येक वडामा कमसेकम एउटा कोल्ड स्टोरेज बनाइनु पर्छ। जसबाट किसानका तरकारी सडकमा फाल्नु पर्दैन।
त्यस्तै गरेर भारतीय तरकारी फलफूलको आयत बन्द गराइनु पर्छ। यति गर्न सक्ने हिम्मतिलो र इमान्दार मन्त्री कृषिमा आउन सके मन्त्री र दलको समेत छवि राम्रो बन्ने थियो। परिणामस्वरुप देश खाद्यान्नमा स्वावलम्बनतर्फ अग्रसर हुने थियो।
त्यस्तै संस्कृति तथा पर्यटन मन्त्रालयबाट पनि ठोस कामहरु देखाउन सकिन्छ। त्यस्तै गरेर उर्जा तथा सिचाइँमा पनि देश र जनताको हितमा ठोस कार्य देखाउन सकिन्छ। तर दलका नेता सिर्फ पैसा र शक्तिमात्र हेर्ने गरेका छन्। जनहितमा गर्न सक्ने राम्रा काम बुझ्न सकेनन् या त्यसतर्फ ध्यान दिएको देखिएन।
मन्त्रीहरु सिर्फ कमिसन आउने र ब्यक्ति तथा दललाई आम्दानी हुने सोच मात्र राखेर मन्त्रालय जाने अबसरमा रमाउँछन्। यस्ता मन्त्रीबाट देशले के अपेक्षा गर्न सकिन्छ? त्यसैले पहिले र अहिलेका मन्त्रीको सोचमा कुनै भिन्नता देखिएन। स्वतन्त्र दलका मन्त्रीहरुमा पनि भिन्नता पाइएन।
जबसम्म कुनैपनि दल र नेताहरु दलाल, तस्कर र भूमाफियासँग साँठगाँठ गरिरहन्छन् त्यस्ता दल र नेताबाट जनताले केही पाउने आशा रहँदैन। तैपनि हालका स्वतन्त्र दलका धेरै नेता राम्रो छवि भएका हुनाले अहिलेका सरकारका मन्त्रीबाट केही परिणामको आश गर्न सकिन्छ।
अहिलेसम्म राप्रपा कुनैपनि दाग नलागेको दल देखिन्छ। राप्रपा प्रष्ट एजेण्डासहित आन्दोलनमा छ। अझैपनि जनताले यस दललाई अवसर दिएर सत्तामा पुर्याए भने केही हुने आश गर्न सकिन्छ। स्वतन्त्र दलबाट पनि जनताले आशा मारिसकेका छैनन्।
यसपालिको सरकारमा गएका मन्त्रीबाट राम्रो काम गरेर देखाउन सके भविष्य राम्रो हुन सक्ला। तर सरकारमा छविलालको नेतृत्व भइन्जेल जनहितमा ठोस काम हुन कठिन नै छ। तैपनि यसपालि एमाले र स्वतन्त्र दलको साथ हुनाले प्रचण्डलाई नराम्रो काम गर्नबाट रोक्न सक्छन् र केही राम्रा काम गरेर छाप छोड्न पनि सक्छन्।
प्रचण्डले तेश्रो पटक विश्वासको मत पाइसकेका छन्। यसपालि कमसेकम अहिले संबिधानमा भएको समानुपातिकको ब्यबस्था हटाउन या समानुपातिकका सांसदहरुलाई राष्ट्रिय सभामा लैजाने ब्यबस्था गर्न सकेमात्र पनि छबिलालको छवि सुध्रिन सक्छ।
त्यसको साथै प्रदेश सरकार हटाएर, धर्मनिरपेक्षको सट्टामा हिन्दु अधिराज्य कायम गरियोस्। साथै संबैधानिक राजतन्त्र कायम गरी सबैलाई समेटेर देश अघि बढाउन सके देशको भलो हुने थियो। यसतर्फ ढिलो चाँडो सबै दल अघि बढ्ने बाध्यत आउन सक्छ।
अन्यथा नेपालमा सधैं अस्थिरता र बिदेशी हस्तक्षेप कायम रहने छ। सत्ताबाट अचानक हात धुनु परेको काँग्रेसले च्याँखे थापेर बसेको छ। त्यसैले सत्तासीनहरुले आफ्ना कमजोरी लुकाएर भएपनि केही काम गरेर देखाउने बाध्यता छ।
Facebook Comment