यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु

डिसी नेपाल
१७ साउन २०७६ ७:५६

बीबीसी। यमनमा विद्रोही हुथी समुदायबाट एउटा सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

विद्रोहीले चलाइरहेको टेलिभिजन च्यानलले जनाए अनुसार देशको दक्षिणी तटीय शहर एडनमा भइरहेको परेडलाई क्षेप्यास्त्र र एउटा सशस्त्र ड्रोनको निशाना बनाइएको थियो। एडन यमनको अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकारको केन्द्र हो।

यसअघि उक्त शहरको एउटा प्रहरी कार्यालयमा आत्मघाघी बम हमलामा १० जना मारिएका थिए। ती दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे स्पष्ट छैन।

विद्रोहीहरूले उक्त परेड शहरको उत्तरतर्फ हुथीको पकड रहेको क्षेत्रमा आक्रमण गर्न सरकार समर्थित फौजको तयारीको एउटा भाग भएको बताएको छ।

तर सरकारले नयाँ भर्ना भएका सैनिकहरूको तालिम सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रम भएको जनाएको छ।समाचार संस्था रोयटर्सलाई एकजना प्रत्यक्षदर्शीले बताए अनुसार आक्रमणपछि मैदानमा शवहरू छरिएका थिए र सैनिकहरू रोइरहेका थिए। एकजना वरिष्ठ सैनिक कमाण्डर मारिएको ठानिएको छ।

ती प्रत्यक्षदर्शीले भने, “एउटा सैनिक समूह एउटा शव नजिकै रोइरहेका थिए। जुन शव कमाण्डरको भएको ठानिएको छ।”अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था एमएसएफका अनुसार आक्रमणमा दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएका छन्।

हुथी विद्रोहीले देशको पश्चिम भागमा ठूलो क्षेत्र नियन्त्रणमा लिनुका साथै राष्ट्रपतिलाई देश छाड्न बाध्य बनाएपछि सन् २०१५ मा बढेको द्वन्द्वका कारण यमन थिलथिलो भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *